बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको उत्पादन बजारमा

बुधवार , बैशाख २०, २०८०

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नै लगानीमा उत्पादन गरेको कृषि वस्तु बजारमा पुगेको छ । कृषिमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रयोगविहिन बागमती नदिको बगरमा संचालनमा ल्याएकोे कृषि उत्पादन कार्यक्रम प्रभावकारी देखिएको स्थानिय किसानले बताएका छन् । हरिहरपुरगढी गाउँपालिका २ स्थित झनझनेमा करिब २० विगाहा खाली जमिनमा गाउँपालिकाले कृषि वस्तु उत्पादन गरिरहेको आर्थिक विकास शाखा दिपक कार्कीले बताउनुभयो । गाउँपालिकाले करिब तीन हजार आँप, खरबुजा, पाँच सय बोट कागती, बयर, अम्बा र टमाटर, लौका, काक्रो, करेला, घिरौला, भिन्डी जस्ता लहरे तरकार बालि खेति गरिरहेको कार्की बताउनुहुन्छ । गाउँपालिकाको कृषि शाखामै कार्यरत कृषि प्राविधिकको सहायतामा छ वटा कृषक समूहले उक्त जग्गामा कृषि उत्पादन गरिरहेको गाउँपालिकाको कृषि अधिकृत प्रवेश देवकोटाले बताउनुभयो । गाउँपालिकाले जग्गादेखि बीउ, प्राविधिक सेवा, मल (गोबर मह बाहेक), विषादी, टनेल लगायत आवश्यक सामाग्री उपलब्ध गराइरहेको देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कृषकको जमिन र श्रममात्र हो ।’ बगरे खेतिबाटै आम्दानि गर्न सक्ने वातावरण मिलाइदिएकोमा स्थानिय सरकारलाई किसानले धन्यवाद दिएका छन् । उक्ता जग्गाबाट स्थानियले मौसम अनुसारको तरकारी खरिद गरिरहेका छन् भने फलफूलमा खरबुजा उपभोक्ताको घरसम्म पुगिसकेको छ । गाउँपालिकाले लगाएको बिरुवाहरु राम्रोसँग हुर्किरहेको प्राविधिक देवकोटाले बताउनुभयो । गाउँपालिकाले झण्डै १० हजार बढि विभिन्न जातका फलफूलको बोट रोपेको छ ।

हरिहरपुरगढी गाउँपालिकाको अध्यक्ष बज्रध्वज वाईबा ।

गाउँपालिकाको अध्यक्ष बज्रध्यवज वाईबाका अनुसार कृषिप्रति युवावर्गलाई आकर्षित गर्न नविनतम कृषि कार्यक्रमलाई निरन्तरता दिइएको हो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाकै कृषि प्राविधिक र किसानले बोटविरुवाको हेरचाह गरिरहनुभएको छ । कार्यक्रमको मुख्य उद्धेश्य गाउँपालिकाले संचालन गरेको फर्मलाई देखेर यहाँका युवा कृषिमा आकर्षित हुन् भन्नेनै हो ।’ २० विगाहा जग्गामा नर्सरीदेखि किसान डेमो प्लट रहेको अध्यक्ष वाईबाले बताउनुभयो । ‘हावाहुरि लगायत पानीबाट बेर्ना जोगाउन जग्गा छुट्याएर नर्सरी बनाइएको छ ।’ उहाँले भन्नुभयो, ‘स्थानिय तह आफैँ आत्मनिर्भर हुनुपर्छ, प्रदेश र केन्द्र ताकेरमात्र हुदैँन । वैज्ञानिक कृषि प्रणालिबाट युवालाई कृषितर्फ आकर्षित गरि विदेश पलायन रोक्नुपर्नेछ ।’ गाउँपालिकाको लगानीमा संचालित कृषि खेतिमा कृषक समूहले तरकारी उत्पादन गर्दै स्थानिय बजारमा बिक्रि गरिरहेका छन् । स्थानिय बजारको मागनै पूरा गर्न नसकिरहेको अवस्थामा कृषक समूहमार्फत कृषि वस्तुको उत्पादन गर्दै क्षेत्रफल र उत्पादन बढाउने गाउँपालिकाले लक्ष्य लिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाले कृषक समूह लगायत सरोकारवाला निकायसँग समन्वय गरेर कृषि क्षेत्रको विकासमा नविनतम कार्यक्रम ल्याउनेछ ।’ उहाँले बोटविरुवा रोप्नु भन्दापनि जोगाउनु मुख्य कुरा भएको बताउदैँ गाउँपालिकालको रोपेको बोटबिरुवा राम्रोसँग हुर्किरहेको बताउनुभएको छ ।  

सम्बन्धित विषय:

प्रतिक्रिया