सिन्धुली– २०७२ मा भारतले लगाएको नाकाबन्दी र पेट्रोलियम पदार्थको अभावले नेपालमा ‘लिफ्ट कल्चर’ लोकप्रिय बन्यो । ‘कार्पोल’ नामक फेसबुक ग्रुपमा एक्लै सवार गर्ने चालकले आफू जाने गन्तव्य उल्लेख गर्दै सँगै जाने कोहि भए सम्पर्क गर्नकालागि फोन नम्बर हालेर स्टाटस लेख्ने गर्दथे । त्यो ट्रेन्डको उद्देश्य केवल सामाजिक सेवा थियो । यही लिफ्ट कल्चरलाई व्यावसायिक रूप दिन ‘राईड सेयरिङ’ कम्पनिहरु स्थापना भए । अहिले ‘पठाओ’, ‘इन ड्राइभर’ लगायत ‘राईड सेयरिङ’ एप चलाएरै मासिक एक लाख समेत कमाउने गरेको पठाओ चालकले बताउने गरेका छन् ।
राईड सेयरिङ एप काठमाडौँ र चितवन जिल्लामा मात्र छ । सिन्धुलीमा भने एक पत्रकारले व्यवसायीकसँगै ‘लिफ्ट कल्चर’ लाई ‘ट्रेन्ड’ मा ल्याउन झण्डै एक महिनादेखि पठाओ जस्तै यात्रुलाई लिफ्ट दिदैँ आएका छन् । कमलामाई नगरपालिका ६ का राजेश विक्रम बस्नेतले सातजनाको समूहनै बनाएर ‘लिफ्ट कल्चर’ लाई सिन्धुलीमा भित्राएका छन् । बस्नेत भन्नुहुन्छ, ‘सिन्धुलीमा राईड सेयरिङ एपका बारेमा ग्राहक सचेत छैनन् । दिनमा एउटा/दुईवटामात्र यात्रु बोक्ने काम आउँछ ।’ उहाँले परिक्षणकालागि पठाओ जस्तै यात्रुलाई लिफ्ट दिने गरेको बताउनुभयो ।
सिन्धुलीमा झण्डै पाच सय बढि संख्यामा रहेको टेम्पोले मनलाग्दी भाडा लिने गरेको भन्दै यात्रुले विरोध गर्ने गरेका छन् । कमलामाई नगरपालिकाले मनलाग्दी भाडा नउठाउनकालागि कमलामाई नगरपालिका ६ स्थित बसपार्कहुदैँ अन्य ठाउँकालागि भाडा तोकेको छ । तर पनि यात्रुहरु ठगिन बाध्य छन् । यता, टेम्पोको विकल्पका रुपमा ‘राईड सेयरिङ’ एपलाई हेरिएको छ । भाडा दर वैज्ञानिक हुनेहुँदा यात्रु नठगिने बस्नते बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘किलोमिटर अनुसार भाडा दर हुन्छ । बसपार्कबाट सुनकोशी मरिण डाईभर्सन १६ किलोमिटर छ । मैले डेढ सय रुपैँया लिए ।’ उहाँले होटल तथा रेष्टुरेन्टमा समेत आफूलगायत आफ्नो समूहको सातजनाको नम्बर छोडेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘होटलले सम्पर्क गरेको छैन । कतैबाट फोन आउदैँन ।’ सिन्धुलीका ग्राहक पठाओ लगायत ‘राईड सेयरिङ एप’ का बारेमा जानकार नहुँदा आफूहरुले काम नपाएको बस्नेतले बताउनुभयो । बस्नेतले संचालनमा ल्याएको पठाउको सूचना सिन्धुलीमाढीको बसपार्क लगायत अन्य क्षेत्रको बत्तिका पोलमा देख्न सकिन्छ । सूचनामा ‘सिन्धुलीमा पठाउ आयो जतिखेर खोजेपनि, थोरै दाम धेरै काम बन्ने । सम्पर्क नम्बरः ९८११५८०४२९’ लेखिएको छ ।