शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा कंक्रिटले परम्परागत घर ओझेलिदै

शुक्रवार , बैशाख १, २०८०

सिन्धुली, – केही वर्ष अगाडिसम्म सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा ढुं्गा, माटोले बनेका र खरले छाइएका रातोमाटो र सेतो कमेरोलो पोतिएका घरहरू प्रशस्त देख्न पाईन्थ्यो । सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ती घरहरूले मनै लोभ्याउने गर्थे । पछिल्लो समय सडक पुगेसँगै त्यस्ता लोप हुदै गएका छन् ।

स्थानीयका अनुसार दिनानुदिन गाउँमा सडक निर्माण भइरहेका छन् । सडकको प्रभाव ती पुराना परम्परागत घरहरूमा परेको छ । परम्परागत घर र ढुंगे घरहरू गाउँबाट विस्तारै ओझेलमा पर्दै गएका छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र कङक्रिटका घरहरू ठडिदै गएका छन् ।

गोलन्जोर गाँउपालिका–७ रातेटारका कृष्णबहादुर राई सडक पुगेको ठाँउमा सक्नेले सक्नेले पक्की पिल्लरवाला घर बनाई रहेका र नसक्नेले कंक्रिट गाह्रो लगाएर जस्तापाताको छानो हालेर घर बनाएको सुनाउनु हुन्छ । उहाँले भन्नुभयो, “०७२ सालको बिनासकारी भुकम्पले रातेटारका ५६ घर ध्वस्त भएको थियो । भुकम्प अघि ती सबै ढुङगा माटोको जडानमा खरले छाएको परम्परागत शैलितका घर थिए । अहिले सबै आधुनिक शैलिकका सिमेन्ट र ईट्टाको जडानका कङक्रिट घर निर्माण भएका छन् ।”

यसले पुराना मौलिक घरहरू विस्तारै विस्थापित हुने अवस्थामा पुर्‍याएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार परम्परागत शैलिमा बनेका ती घरहरूले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उतिबेला गाउँमा अहिलेको जस्तो मोटरगाडी गुड्दैनथे । मान्छेहरू पैदल नै हिड्ने गर्थे । तर, अहिले सडक नपुगेका गाउँहरू छैनन् ।

स्थानीयका अनुसार मानिसहरूको सोच परिवर्तन हुदै गएको छ । उनीहरू प्रबिधिसँग जोडिन थाले र नयाँ–नयाँ प्रविधिको प्रयोग गर्न थाले । त्यसले गर्दा पनि ढुंगे घरहरू कम बन्न थालेका हुन् । पहिले ग्रामीण क्षेत्रमा सडकको सुविधा थिएन, अहिले धेरै ठाउँमा सडकको पहुँच पुगेको छ । त्यसले गर्दा पनि गाउँहरूमा परम्परागत घरहरू कम बन्ने र आधुनिक घरहरू बढी बन्न थालेका हुन् ।

त्यस्तै कमलामाई नगरपालिका–३ चपौलीमा पनि पाँच बर्षअघिसम्म कमेरो र रातोमाटोले पोतिएका घरहरू बाक्लै थिए । गाँउमा सडक आएसँगै भुकम्पपछि निर्माण भएका कङक्रिट घरले गाँउको मुहार नै फेरिएको स्थानीय बताउछन् । सिन्धुली जिल्ला हुदै निर्माण भएका बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदन भण्डारी राजमार्गको प्रभाव ग्रामीण बस्तिमा पर्दै गएको छ ।

मध्यपहाडी लोकमार्गले छोएको गोलन्जोर गाँउपालिका–३ ग्वाल्टारबाट ढुङगामाटोले जडान गरेका अधिकांस घर बिस्थापित भएको वडा अध्यक्ष पुष्करराज बराल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यी तीन ठूला राजमार्ग निर्माणसँगै कच्चि सडक गाँउ गाँउमा पुगेको छ । सडक निर्माणसँगै निर्माण सामग्री ढुवानी सहज बनेपछि ढुङगा माटोको जडानले निर्माण भई खरले छाएका अधिकांस घर बिस्थापित भएको पाईन्छ ।”

परम्परागत घरहरू पनि सबै जोखिम नहुने भन्दै त्यस्ता घर तथा भवनहरू बनाउँदा मापदण्ड चाही अपनाउनु पर्ने कमलामाई नगरपालिका भवन शाखाका ईन्जिनियर कुलप्रसाद श्रेष्ठ बताउनुहुन्छ । भुकम्पपछि तीन÷चार वटा परम्परागत घरको डिजाईन आएको जानकारी दिदै उहाँले भन्नुभयो, “त्यस्ता घरको निःशुल्क डिजाईन हुन्छ ।”

प्रतिक्रिया