शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको गाँउबाट हराउदै पानीघट्ट

बुधवार , चैत्र २९, २०७९

सिन्धुली, २९ चैत - सिन्धुली जिल्लाको विभिन्न ग्रामीण क्षेत्रमा परम्परागत रुपमा सञ्चालन हुदै आएका पानीघट्ट पछिल्लो समयमा हराएका छन् । एक दशक अघिसम्म प्रर्याप्त मात्रामा प्रयोग भएका देखिने पानीघट्ट अहिले लोप हुदै गएका हुन् । ग्रामीण क्षेत्रमा विद्युत र डिजेलबाट सञ्चालन हुने मिलको प्रवेशसँगै अहिले पानीघट्ट बन्द हुदै गएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार पहाडी क्षेत्रमा स्थानीय खोलाको पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहँु, कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्ने गर्दथे । अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुन थालेको फिक्कल गाँउपालिका–४ पोखरी निवासी निर्मल मगरले बताउनुभयो । पछिल्लो समयमा परम्परागत रुपमा सञ्चालन हुदै आएका पानीघट्टलाई सुधार गरी आधुनिक बनाइए पनि प्रयोगमा नआई लोप हुदै गएको उहाँको भनाइ छ ।

आधुनिकताले गर्दा ग्रामीण क्षेत्रका मौलिक संस्कार, संस्कृति र प्रविधि लोपोन्मुख अवस्थामा पुगेका छन् । एक दशक अगाडीसम्म सिन्धुलीको ग्रामीण क्षेत्रमा पानी घट्टको प्रयोग अत्याधिक थियो । अहिले पानीघट्ट भेट्याउनै गाह्रो भइसकेको छ । पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा बिजुली मार्फत सञ्चालन हुने मिल पुगेपछि पानीघट्टको प्रयोग घट्दै गएपछि लोप हुदै गएको छ ।

मिलमा कुटानी पिसानी गर्दा चाडै पनि हुने र ज्याला पनि कम लाग्ने भएकाले उपभोक्ता पनि त्यतै आकर्षित बनेका तीनपाटन गाँउपालिका–११ निवासी डिल्लीप्रसाद अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कुनै बेला म पनि पानीघट्ट सञ्चालन गर्दथे । अहिले पुराना घट्टमा पिसानी गर्ने कोही आउन छाडेपछि बन्द नै गर्नुप¥यो ।” घट्टमा पिसानी गर्दा लामो समय कुर्नुपर्ने बाध्यता र ज्याला पनि बढी लाग्ने भएकाले अन्नपात पिसानी गर्ने मिलतिर आकर्षित भएको उहाँको बुझाई छ ।

स्थानीयका अनुसार गाउँलेहरुले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्दो माध्यमका रुपमा प्रयोग गर्दै आइरहेकोमा पछिल्लो समय मिलनै यसको उचित विकल्प बनेको छ । खासगरी पानी घट्ट खोला तथा नदि किनारमा बनाइने गरिन्थ्यो । अहिले कतै कतै मुस्किलले देख्न पाईने पानीघट्टहरु जीर्ण अवस्थामा देखिन्छन् । अहिलेसम्म पनि मिलको पहुँच नपुगेको ठाउँमा यसको प्रयोग हुने गरेको छ । प्रयोगविहीन बनेको पानीघट्ट जीर्ण बनेको छन् भने त्यसका पाठपुर्जा पनि कामै नलाग्ने गरि बिग्रिएका छन् ।

“पहिले त पानीघट्ट बाहेक अरु केही थिएन । कि घरमै जाँतोमा अन्न पिठो पिस्नु पथ्र्यो, अहिलेको जस्तो गाउँमै मिलको सुविधा थिएन,” तीनपाटन गाँउपालिका–११ निवासी गृहणी बिना मगरले भन्नुभयो “पहिले चलेका घट्टहरु अहिले पुरानो भएर भत्किन थालि सके । घट्टको प्रयोग घटपछि घट्ट सञ्चालकहरु पनि मर्कामा परेका छन् । घट्टमा मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरुबाट १/२ माना उठाएर गुजरा चलाउथे ।”

उहाँले गाउँमा मिल सञ्चालनमा नआउँदा घट्टमा अन्न पिस्न आउनेहरुको घुइँचो लाग्ने गरेको भन्दै पछिल्लो समय घट्ट ठप्पै भएको बताउनुहुन्छ ।

प्रतिक्रिया