शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा रासायनिक मल उद्योग खोल्ने प्रक्रिया कहाँ पुग्यो ?

बुधवार , चैत्र २९, २०७९

सिन्धुली – बागमती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा निर्माण गर्न लागेको रासायनिक मल उद्योग स्थापनासम्बन्धि कागजात प्रधानमन्त्री कार्यालय पुगेको छ । बागमती प्रदेशको पुर्वमुख्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेको सक्रियतामा हरिहरपुरगढी गाउँपालिका ३, गुर्जि बस्तिमा रासायनिक मल उद्योगको स्थापनाकालागि कागजी प्रक्रिया अघि बढेको हो ।

झण्डै ४० देखि ६० अर्बको लगानी अनुमान गरिएको मल कारखाना निर्माणकालागि थाईल्याण्डको महाचाड इन्रनेश्नल कम्पनिले प्रस्ताव पेश गरेको हो । उक्त कम्पनिले चितवनको शक्तिखोर, हेटौँडाको औद्योगिक क्षेत्र, धादिङ लगायत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको स्थलगत अनुगमन गरेको थियो । पानी र विद्युतको अभाव नहुने भएकाले हरिहरपुरगढीको मैदानि भेग नै मल कारखानाकोलागि उपयुक्त भएको भन्दै निर्माण कम्पनिले जग्गा छनौट गरेको छ । उद्योग स्थापनाका लागि बागमती र मरिण खोलाको किनारको ३८६ विघा जग्ग छनोट भइसकेको छ । साथै, औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन समेत भइसकेको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी जग्गा छनोट गरिसकिएको छ । अब संघीय सरकारले स्थानिय सरकारलाई उक्त जग्गाको भोगाधिकार दिने निर्णय गर्नुपर्छ ।” स्थानिय तहले भोगाधिकार पाएपछि निर्माण कम्पनिले हरिहरपुरगढी गाउँपालिकाबाट उक्त जग्गा भाडामा लिने छ ।

मल कारखाना निर्माणकालागि हरिहरपुरगढी गाउँपालिका र निर्माण कम्पनिबिच गत माघ ३ गते सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । मल उद्योग निर्माणकालागि जग्गा नापजाँच लगायत आवश्यक कागजी प्रक्रियाहरु सम्पन्न गर्न तदारुकताका साथ आफूलागि परेको अध्यक्ष वाईबाले बताउनुभयो । मल कारखाना निर्माण सम्बन्धि फाईल प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुगिसकेको र उहाँ सकारात्मक रहेको अध्यक्ष वाइबाले जानकारी दिनुभयो ।

स्थानिय र प्रदेश सरकारले कारखाना निर्माणाकालागि आवश्यक प्रक्रिया शुरु गरिसकेको छ । यता, निर्माण कम्पनिले प्राविधिक टिमलाई बोलाएर मुख्यमन्त्रीको कार्यालयमा कागजात पेश गर्नकालागि अन्तिम तयारी गरिरहेको छ । आागामी प्रक्रियाको बारेमा जानकारी दिदैँ हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले भन्नुभयो, “अब उद्योग स्थापना हुने स्थानको भूमि व्यवस्थापन गर्ने कार्य केन्द्रको मन्त्रिपरिषदले गर्नुपर्ने छ ।” प्रधानमन्त्री कार्यालयले जग्गाको व्यवस्था र लगानी बोर्डले लगानी गर्ने निर्णय गरेपछि भौतिक रुपमै उद्योग निर्माणको प्रक्रिया शुरु हुने प्याकुरेलले बताउनुभयो । निर्माण कम्पनिका अनुसार मल कारखानाको निर्माण प्रक्रिया शुरु भएको साढे दुईवर्षमा निर्माण कार्य सम्पन्न हुनेछ । खाली जग्गा भएकाले जनताको अवरोध नहुने र पानीपनि पर्याप्त भएकाले काम गर्न असहज नहुने निर्माण कम्पनिले बताएको छ ।

ग्याँस र विद्युतबाट उत्पादन गर्नसकिने रासायनिक मल सिन्धुलीमा भने विद्युतको माध्यमबाट उत्पादन हुनेछ । नविनतम प्रविधिबाट निर्माण हुने उक्त कारखानाले वार्षिक दुई लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्नेछ । पानीमा रहेको हाइड्रोजन र अकिसजनलाई विद्युतिय माध्यमबाट अलग गरेर रासायनिक मलको उत्पादन गरिने कम्पनिले जनाएको छ । सोहि प्रविधिबाट चिन, बांगलादेश, ब्राजिल लगायत १८ वटा देशमा महाचाड कम्पनिले रासायनिक मलको उत्पादन गरिसकेको छ ।

विद्युतको माध्यमबाट मल उत्पादन गर्दा संरचना निर्माणमा खर्च बढि लागेपनि मल उत्पादनमा महंगो खर्च नलाग्ने कम्पनिले बताएको छ । साथै, कम्पनिले हरिहरपुरगढीमा निर्माण हुने उद्योगबाट बजार मूल्य भन्दा कम मूल्यमा उपभोक्ताले मल पाउन सक्ने जनाएको छ ।

प्रतिक्रिया