सिन्धुली, – सिन्धुली जिल्लामा पछिल्लो समयमा अन्नभण्डार रित्तिदै गएको छ । जिल्लाको सदरमुकाम लगायत गाँउपालिकाको केन्द्र भएको ठाँउमा खेती योग्य जमिनलाई टुक्रापारी घडेरीको रुपमा बिक्री गर्ने क्रम बढ्दै गएपछि अन्नभणर रित्तिदै गएको स्थानीयले बताएका छन् । खेती योग्य जमिनलाई बढ्दो रुपमा घडेरीको रुपमा बिक्री गर्न थालिएपछि परनिर्भरता बढेको पाईन्छ ।
स्थानीयका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित फाँटको खेतमा डेढ दशक अघिसम्म धान, गहुँ, मकै र समय अनुसारको अन्नवाली लहलह झुलेको हुन्थ्यो । अन्नवालीले यहाँका फाँटहरु निकै हरिया हुन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । तर, जब सडक बनेर गाडीहरु कुद्न थाले यहाँको अवस्था फेरियो । अन्न फल्ने हरिया फाँटहरु अब कंक्रिटका घरले भरिन थालेका छन् ।
जिल्लाको अन्न भण्डार र प्राङगारिक खेतीको गाउँका रूपमा परिचित फाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङक्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् । धमाधम खेतियोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आएको छ । कमलामाई नगरपालिका–६ किसान नारायण थापाले भन्नुभयो, “बाली झुल्नु पर्ने खेतका फाँटमा घर ठडिएपछि अन्नवालीको उत्पादनमा कमी आएको छ । आयतित खाद्यन्नमा निर्भर रहनुपरेको छ ।”
“सदरमुकाम सिन्धुलीमाढीको प्रकृतिक सुन्दरताको रुपमा रहेको फाँटको खेत मासिदै जाँदा सदरमुकामको उक्त सौन्दर्य नै गुमेको छ,” उहाँले भन्नुभयो, “दिनदिनै फाँटको खेत घडेरीका रुपमा प्लानिङ गरी बिक्री गर्ने क्रम बढेको छ । यसले तत्काल जग्गाधनीलाई त राम्रै पैसा प्राप्त भई खुशी भएका होलान, तर प्राकृतिक प्रेमी मानिसहरु भने सदरमुकामको सौन्दर्य गुमेकोमा चिन्तित छन् ।”
सडक, बिजुली, खानेपानी लगायतको पुर्वाधार पुगेको गाँउपालिकाको केन्द्र रहेको र आसपासका ठाँउ पनि पछिल्लो समय घडेरीको रुपमा बिक्री भई धमाधम घर बनि रहेको गोलन्जोर गाँउपालिकाका अध्यक्ष शंकर बराल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हाम्रो पालिकामा पनि नयाँ सहर योजना लागू भएको खुर्कोटमा चाहि उक्त समस्या देखिएको छ, अरु ठाँउमा त्यती धेरै छैन ।”
गाँउपालिकाको केन्द्र रहेको ठाँउ पछिल्लो समय सहरमा परिणत हुन लागेको समेत उहाँको भनाई छ । स्थानीयका अनुसार जिल्ला सदरमुकामस्थित फाँटको खेतमा अहिले तीब्र सहरीकरण भई रहेको छ । अघिल्लो पुस्ताले खेती गरेको जमिनमा अहिले पछिल्लो पुस्ताले प्लानिङ गरी घडेरीको रुपमा बिक्री गरी सुविधा खोज्दै सहर पलायन हुने क्रम बढेको छ । पछिल्लो समयमा खेत धनीहरु अन्य पेसामा लागेका र कृषि कार्य खर्चिलो बन्दै गएपछि पनि खेत घडेरीका रुपमा मासिने क्रम बढेको बताईएको छ ।
“एक दशक अघिसम्म धुराबजार कटेपछि घर भेट्न कित ढकालगाँउ नै पुग्नु पर्दथ्यो, कि त ढुंग्रेवास नै,’ सिन्धुलीमाढी बजार निवासी लवराज कायस्थ भन्नुहुन्छ, “अहिले बसपार्क बाट ग्वाङखोला कट्ने बित्तिकै अनगिन्ती घर भेट्न पाईन्छ । घर पनि धमाधम बन्दै छन् ।”
पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत मानिसले पाउने आधारभुत सुविधा धमाधम बढ्दै गएपछि ठूला सहर ताक्ने मानिसको रोजाईमा गाँउघर नै पर्न थालेको उहाँको बुझाई छ । फाँटमा घर बनाएर बसोबास गर्ने क्रम बढेपछि कमलामाई नगरपालिकालाई पनि सडक, खानेपानी, बिजुली, विद्यालय, ढल निकास लगायतको व्यवस्थापन गर्न समस्या भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका बाताबरण शाखाका प्रमुख सागरकुमार ढकाल पनि फाँटमा तीब्र रुपमा बनेको कङक्रिट घरहरुले नगरको सौन्दर्य नै गुमेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उर्बर जमिनलाई कङक्रिटमा परिणत गरेको, अव्यवस्थित तरिकाले घरहरु बनि रहेको र सरसफाईको व्यवस्थापन गर्न एक दमै गाह्रो भएको छ ।”