सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिका पशुपालन र कृषि उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । यहाँका सबै वडामा बंगुरपाल्ने र व्यवसायिक खेति गर्नेको संख्या बढ्दै गएको छ ।
गाउँपालिका क्षेत्रका किसान पशुपालनलाई व्यवसायका रूपमा विस्तार गर्दै आत्मनिर्भर बन्दै गएका छन् । पालिकाभित्र पशुपालनका साथै कृषि उत्पादन गरी जीविकोपार्जन गर्नेको संख्यामा कमी छैन ।
गाउँपालिकाले किसानका लागि अनुदान उपलब्ध गराउनाका साथै कृषि उत्पादन बढाउन किसानको समूह बनाइ अनुदान दिने गरेको वडा नम्बर ६ का किसान सन्तोष तामाङले बताउनुभयो । उहाँका अनुसार कृषि उत्पादन वृद्धिका लागि पालिकाले प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
हाल गाउँपालिकामा २ करोड भन्दाबढीको उन्नत जातको भैँसी तथा वंगुरपालन कार्यक्रम संचालन भइरहेको छ । उन्नत जातको भैंसी तथा वंगुरपालन कार्यक्रम कार्यान्वयनका लागि बागमती प्रदेश र मरिण गाउँपालिका विच द्विपक्षीय सम्झौता भएको थियो । नवप्रर्वद्धन कार्यक्रम मार्फत गाउँपालिकाको किसानलाई निशुल्क बंगुर वितरण गरिएको छ । गोठ सुधारका लागि पनि गाउँपालिकाले सहयोग गरिरहेको छ । हेफर परियोजनासँग सहकार्य गरेर गाउँपालिकाले कृषिको विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । सिचाई अभाव भएको क्षेत्रमा लिफ्ट मार्फत पानी ल्याउनेलाई विद्युत महसुल तिर्ने गरेको गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले बताउनुभयो ।
गाउँपालिकाका किसानलाई विउँ बोका र विउँ पाठि वितरण समेत गरिएको छ । सम्पूर्ण वडाका किसानलाई उन्नत जातको विउँबोका र पाठि वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले कृषिमा सहयोग गर्न थालेपछि यहाँका किसान व्यवसायिक खेति तर्फ आकर्षित भएका छन् । पशुपालन गर्ने किसानको समेत संख्या बढ्नै गएको छ । एक नम्बर वडाका वडा अध्यक्ष हिरा बहादुर गर्माछान मगरका अनुसार वडामा पहिलेको तुलनामा हाल कृषि गर्नेको संख्या बढ्दै गएको हो । वडा नम्बर एकमा एक घर एक भैसिं कार्यक्रम संचालन हुने समेत उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले दिएको उन्नतजातको बोका पाएपछि वडा नम्बर ५ की सुनिता माझिलाई बाख्रा पाल्न मन लाग्यो । “पहिले लोकल बोका हुन्थ्यो, खाना जति दिएपनि कहिले राम्रो हुदैन थियो । उन्नतजातको बोका गाउँभरि कतै थिएन । मैले त बाख्रा नपाल्ने निर्णय समेत गरिसकेको थिए । अहिले गाउँपालिकाले ठुलो सहयोग गरेको छ । आफ्नै घरमा उन्नतजातको बोका छ । दुई वटा उन्नतजातको बोका उत्पादनपनि भइसक्यो, अब भने राम्रै आम्दानी हुने आश छ ।” उहाँले भन्नुभयो ।