शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा भाडा र आरक्षणमा दिएको सुविधा कागजमै सिमित

शुक्रवार , चैत्र १०, २०७९

सिन्धुली, – सिन्धुली जिल्लामा विद्यार्थी, अपांगता भएका र जेष्ठ नागरिकले सार्बजनिक यातायातमा नेपाल सरकारले दिएको सुविधा पाउन सकिरहेका छैनन् ।

सरकारले सार्बजनिक यातायातका साधनमा भाडादरमा ६० बर्ष उमेर नाघेका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत र विद्यार्थीलाई ४५ प्रतिशत छुट सुविधा दिएपनि उक्त सुविधा पाउन नसकेको उनीहरुको गुनासो छ । भाडाका सार्बजनिक यातायातका साधनमा जेष्ठ नागरिक, अपांगता भएका र महिलाले सिट आरक्षणको सुविधा समेत पाउन सकिरहेका छैनन् ।

विद्यार्थी, अपांगता भएका र जेष्ठ नागरिकले पाएको उक्त सुविधा सिन्धुली जिल्लामा भने पाउन नसकिरहेको नेपाल विद्यार्थी संघका कार्यबाहक जिल्ला अध्यक्ष मुकेश घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘एक रुपैया पनि छुट दिएका छैनन् ।निहुँ मात्रै खोज्छन् ।” यातायात व्यवसायिसँग तीन पटकसम्म छलफल गरी सम्झौता गरेको भएपनि अहिलेसम्म कागजमै सिमित रहेको उहाँको भनाई छ ।

अप्ठेरो बाटो, टुट्फुट बढी आउछ भन्दै यातायात व्यवसायीले भाडामा २५ प्रतिशतसम्म छुट विद्यार्थीलाई दिने मौखिक सहमति जनाएको भएपनि व्यवहारमा कार्यान्वयन नगरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त सुविधालाई कार्यान्वयन गर्न प्रशासन र ट्राफिक प्रहरी कसैलाई मतलब छैन ।”

जिल्लामा सार्बजनिक यातायातका साधनले सर्बसाधारणलाई राज्यले दिएको सुविधा समते नदिएको सरोकारवाला बताउछन् । भाडादरमा छुटको व्यवस्था भएपनि सिन्धुली जिल्लाबाट काठमाडौँ, जनकपुर, बर्दिबास, बिरगंज, नारायणगढ,पोखरा, काँकडभित्ता लगायतका ठाँउमा चल्ले कुनै पनि यातायातका साधनले छुट नदिएको पीडितको गुनासो छ ।

जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष देबीप्रसाद देवकोटा राज्यले दिएको उक्त सुविधा सहितको कार्ड जेष्ठ नागरिकसँग भएपनि सुविधा भने उपभोग गर्न नपाएको बताउनुहुन्छ । उहाँका अनुसार सिन्धुली जिल्लामा मात्रै जेष्ठ नागरिकको संख्या २५ हजारभन्दा बढी छ ।

राजधानी काठमाँडौ जाँदा सार्बजनिक यातायातका साधनमा जेष्ठ नागरिक, अपांगता भएका र महिलालाई सिटको आरक्षण देखेको भए पनि सिन्धुलीबाट चल्ने त्यस्ता गाडीमा त्यो सुविधा समेत नभएको उहाँले बताउनुभयो ।

“सार्वजनिक यातायातका साधनमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिले आरक्षण भएको सिट पाउन त परै जावस, झुण्डीएर यात्रा गर्नु पर्ने अवस्था छ,” अध्यक्ष देवकोटाले भन्नुभयो, “राज्यले नियम कानुन त बनायो, ।’”स्थानीय प्रशासनले ध्यान दिएर यसलाई कार्यान्वयन गर्नु पर्ने उहाँको तर्क छ ।

यता यातायात व्यवसायीले भने उक्त सुविधा आंशिक कार्यान्वयन भएको बताउछन् । सुनौलो बीपी यातायात प्रालिका अध्यक्ष कान्छामान् बल ठूला गाडीमा अपांगता र जेष्ठ नागरिकका लागि दुई वटा सिटको आरक्षणको व्यवस्था मिलाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कतिपय ठाँउमा ठुला गाडीले विद्यार्थिलाई सित्तैमा बोक्दै आएको छ । राजमार्ग चल्ने गाडीले विद्यार्थीलाई भाडामा छुटको सुविधा दिएपनि गाँउतिर चल्ने गाडीले दिएको छैन ।”जिल्लाबाट सञ्चालन हुने भाडाका बोलेर, सुमो जस्ता साना गाडीमा भने आरक्षणको सुविधा दिन नसकिने व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया