शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको चुरेक्षेत्रमा मेसिन प्रयोग गरि ढुंग,बालुवा उत्खनन्

शुक्रवार , चैत्र १०, २०७९

सिन्धुली – सिन्धुलीको कुल वन क्षेत्र मध्ये आधा भन्दा धेरै चुरे क्षेत्रमा पर्दछ । अत्यन्त कमजोर भू–बनोटका कारण चुरे क्षेत्रबाट हुने भू–क्षयबाट बर्सेनि यस क्षेत्रमा सयौं विगाहा खेती योग्य जमिन बगरमा परिणत हुदै आएको छ ।

चुरे क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाइ चलाउना साथ सबै बग्ने गरेको कमलामाई नगरपालिका–१३ रानीबास निवासी शिक्षक पुजन बख्रेल बताउनुहुन्छ । वन पैदावार र ढुंगा, बालुवा र गिट्टीका लागि चुरेक्षेत्र उपयोग गर्दा कमलाखुँज र मरिणका फाँटहरु बगर बन्दै गएको उहाँको ठम्याई छ ।

शिक्षक बख्रेलले भन्नुभयो, “ढलापडा सुख्खड खडाका नाममा चुरे क्षेत्रको वन मास्दै लाने क्रम अझै रोकिएको छैन् । त्यसमाथि चुरे दोहन गरि ढुंगा, बालुवा र गिट्टी निकासी भन्दै क्रसर उद्योगहरु ठडिन थालेका छन् ।” उहाँका अनुसार कमलाखुँज क्षेत्रको चुरे खहरेबाट दशक अघि अबैध ढुंगा संकलन गरी भारत निकासी गरेको मार त्यस क्षेत्रका स्थानीयहरुले अहिलेसम्म बेहोर्दैछन् ।

स्थानीयका अनुसार चुरे जंगलबाट निस्किएका खहरेबाट ढुंगा उत्खनन् गरि कमलामााइ नगरपालिकाको भिमानमा संकलन गरेर दशक अघि भारत निकासी भएको थियो । स्थानीयको ठुलो विरोधपछि त्यो क्रम रोकिएको थियो । चुरे जंगलबाट निस्किएर बगेका खहरेका कारण कमलाको बगर उक्सिएर फा“ट खेतहरु बगर बन्ने गरेको छ ।

“राज्यलाइ प्राकृतिक श्रोत विक्री गरेर आम्दानी लिन मन भए बाताबरणीय प्रभाव मुल्यांकन गरी खानी खोजेर बैधानिक रुपमा विक्री बितरण गरे हुन्छ नी,” तीनै शिक्षक बख्रेलले भन्नुभयो, “चुरे क्षेत्र चलाएर भावी पुस्ताले समेत धिक्कार्ने काम गर्नु हुदैन् ।”

सिन्धुलीका प्रदेश सांसद छेत्रबहादुर बम्जन तराईको जिल्लासँग सिमाना जोडिएको चुरे जंगल संरक्षण गर्न नसक्ने हो भने मधेश प्रदेशको भविष्य समेत अन्धकार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुरे क्षेत्र कलिलो पहाड हो । मानबले नै प्रकृतिलाई दोहन गर्ने काम गरि रहेका छन् । सडक निर्माणका नाममा डोजर र स्काभेटर चुरे क्षेत्रमा चलाउदा कलिलो पहाड क्षेत बिक्षेत भई रहेको छ ।”

उहाँका अनुसार चुरे क्षेत्र पानीको रिचार्ज क्षेत्र हो । अबैद्य प्राकृतिक दोहनले चुरे क्षेत्रमा पानी रिचार्ज हुन छाड्दा तराईका जिल्लामा जमिन मुनी पानी आउन समेत छाडेको छ । चुरे क्षेत्रको संरक्षण गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको काँधमा जिम्मेवारी आएको छ ।

दुधौली नगरपालिकाका मेयर दिनेस अधिकारी दनुवार पनि अबैद्य चुरे दोहनले दुधौली नगरपालिकामा चुरेको काख हुदै बग्ने कमला नदीले वडा नं. १, २, ३, ४, ५, ६, ९, १० र ११ मा हजारौ बिघा उर्बर जमिनलाई बगरमा परिणत गराई सकेको बताउनुहुन्छ । “कमला नदी कटान क्षेतीको न्युनिकरण गर्न दुधौली नगरपालिकालाई चुनौती छ,” मेयर दनुवारले भन्नुभयो, “किसानको हातमा लालपुर्जा छ, जमिन छैन । आफुले खेती गर्दै आएको जमिनमा अहिले कमला नदी बगि रहेको छ ।”

चुरे विनास गर्नेलाई राजनीतिक संरक्षण भई रहेकाले समस्या जस्ताको तस्तै रहेको स्थानीय बासिन्दा बताउछन् । डिभिजन वन कार्यालयको तथ्यांकमा कुल क्षेत्रफलको ६५ प्रतिशत वन क्षेत्र भएको र त्यसमध्ये आधाभन्दा बढी चुरे क्षेत्रमै रहेको छ । त्यसको ९० प्रतिशत साल जातका रुख भएकाले पनि तस्करहरुको आँखा त्यसतर्फ लागेको छ । जिल्लाको दुई लाख ४७ हजार ८३४ हेक्टर वन क्षेत्र मध्ये एक लाख ६४ हजार २५८ हेक्टर चुरे क्षेत्रमा पर्दछ । त्यसमध्ये एक लाख चार हजार ९९७ हेक्टर वन क्षेत्रमा पर्दछ भने ४४ हजार १०९ हेक्टर जमिनमा खेती हु“दै आएको छ । चार हजार दुई सय ८६ हेक्टर बुट्यान छ ।

बनडिजिन कार्यालय सिन्धुलीका सूचना अधिकारी सहायक वन अधिकृत हेमबहादुर थापा चुरे विनासलाई लिएर भावि पुस्ताका लागि समेत भनेर सबैले सोच्ने बेला आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुरे संरक्षण गर्न जथभावी उत्खनन्, सडक निर्माण गर्नु भएन । बाताबरणिय प्रभाव मूल्यांकन प्रतिबेदन अनुसारको उपाय अप्नाउनु प¥यो । जथभावि रुख काट्नु नी भएन ।”

चुरे संरक्षणकै लागि भनेर राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको र उक्त कार्यक्रम अन्तर्गत देशैभरी असार महिनामा बृक्षारोपण कार्यक्रम रहेको उहाँले बताउनुभयो । जनतामा पनि जनचेतना हुनु पर्ने उहाँको बुझाई छ । चुरे क्षेत्रको माटोमा पानी अडिनै नसक्ने खालको हुने भएकाले त्यसलाइ चलायो की बगिहाल्ने खालको हुने सहायक वन अधिकृत थापाले बताउनुभयो ।

“चुरेलाइ चलाउनै हुदैन्,” उहाँले भन्नुभयो, “त्यसबाट विपत्ति निम्तिन शुरु भइहाल्छ । ठुल्ठुला खहरे बन्छ, खेतीयोग्य जमिन बगर नै बनाउ“छ ।”

प्रतिक्रिया