शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिणका एकल पुरुषलाई भत्ता वितरण

शुक्रवार , चैत्र १०, २०७९

सिन्धुली, – सिन्धुलीको मरिण गाउँपालिकाले बिहीवार एकल पुरुषहरुलाई निर्वाह भत्ता वितरण गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा आयोजित कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले गाउँपालिकाका ८८ जना एकल पुरुषलाई मासिक २ हजारका दरले तिन महिनाको ६ हजार रुपैयाँ वितरण गर्नुभएको हो ।

गाउँसभाबाट स्वीकृत आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम अनुसार अहिले सम्म अविवाहित रहेका, श्रीमतीको मृत्यु भएका वा अन्यत्रै विवाह गरी एकल भएका पुरुषहरुलाई सामाजिक सुरक्षाको रुपमा निर्वाह भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।

संघिय सरकार र प्रदेश सरकारले समेट्न नसेकका एकल पुरुषहरुको सहज जीवनयापनका लागि कार्यविधि नै बनाएर भत्ता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।

कार्यविधि अनुसार दलितको हकमा ५० बर्ष पुरा गरेको तर ६० नपुगेका, अविवाहितको हकमा ४५ बर्ष पुरा गरेका तर ६८ बर्ष नपुगेका र अन्य समुदायको हकमा ५० बर्ष पुरा गरेका तर ६८ बर्ष नपुगेका एकल पुरुषहरुलाई निर्वाह भत्ता वितरण गरिएको अधिकृत दर्जीले बताउनुभयो ।

अध्यक्ष मोक्तानका अनुसार यो बर्षको माघ, फाल्गुन र चैत गरी तिन महिनाको निर्वाह भत्ता वितरण गरिएको छ । अब बैशाख पछि तिन तिन महिनामा बैंक खाता मार्फत भुक्तानी गरिने अध्यक्ष मोक्तानले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले आमा बुवा नभएका बालबालिकाहरुलाई पनि भत्ता वितरण गरेको छ । आमा बुवा नभएका ४६ बालबालिकाहरुलाई जनही १३ हजार ४३ रुपैयाँका दरले भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।

प्रतिक्रिया