शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

शिक्षाकालागि विदेशिने बढेसँगै सिन्धुलीमा धमाधम कन्सल्टेन्सीको स्थापना

बुधवार , चैत्र ८, २०७९

सिन्धुली– पछिल्लो समय सिन्धुलीबाट उच्च शिक्षा अध्ययनकालागि विदेशिने विद्यार्थीको संख्या बढ्दो छ । स्नातक र स्नातकोत्तर अध्ययनकालागि सिन्धुलीबाट वर्षेनि सयौँ विद्यार्थी जापान, अष्ट्रेलिया, कोरिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत लगायतका देशमा अध्ययनकालागि पुगेका छन् । उच्च शिक्षा अध्ययनकालागि विद्यार्थी विदेशिने क्रम बढेपछि सिन्धुलीमै शैक्षिक परामर्श संस्था (कन्सल्टेन्सी) धमाधम खुल्न थालेको छ । पछिल्लो एक वर्ष यता जिल्लामा झण्डै एक दर्जनको संख्यामा कन्सल्टेन्सी संचालनमा आएको छ ।

जिल्लाको कमलामाई नगरपालिका ५ स्थित मधुटारमा रहेको यात्री कन्सल्टेन्सी संचालनमा आएको झण्डै तीन महिना भयो । उच्च शिक्षा अध्ययनकालागि अष्टेलिया पुगेका दुई दाजुभाईले संचालन गरेको कन्सल्टेन्सीमा झण्डै २० बढि विद्यार्थी छन् । महोत्तरीको बर्दिबास नगरपालिका घर भएका रन्जन र रन्जित बस्नेतले संचालन गरेको उक्त कन्सल्टेन्सीमा परामर्श र अध्ययनकालागि विद्यार्थीको चाप बढ्दो रहेको संचालकद्वय बताउँछन् । संचालक रन्जित बस्नेतले भन्नुभयो, “उच्च शिक्षा अध्ययनकालागि विद्यार्थीको आकर्षण बढ्दो छ । सिन्धुलीका विद्यार्थीलाई अब विदेश पढ्न जानकालागि काठमाडौँनै जानुपर्ने बाध्यात्मक परिस्थीति अहिले छैन ।”

जिल्लाको कमलामाई नगरपालिका ६ स्थित १ नम्बर बजारमा संचालनमा रहेको फ्रेम कन्सल्टेन्सीले जापानकालागि विद्यार्थी पठाउने योजना बनाएको छ । कन्सल्टेन्सीमा भर्ना हुनकालागि विद्यार्थीले तारन्तार सम्पर्क गरिरहेको संचालक हृदेयस बरालले बताउनुभयो । दुधौली नगरपालिका १ का स्थायी बासिन्दा बरालले कार्यालय स्थापना भइसकेको र केहिदिनमै पढाई शुरु हुने जानकारी दिनुभयो । “उच्च शिक्षा र रोजगारीकालागि भन्दै जापान जानकालागि युवाहरु अन्य जिल्ला धाउनुपरिरहेको छ । केहि युवा ठगिएका पनि छन् ”, उहाँले भन्नुभयो, “जिल्लामै परामर्श र अध्ययनको व्यवस्था गरेर जिल्लाका युवालाई जापान जान सहज होस् र नठगिउन् भन्ने हेतुले कन्सल्टेन्सी स्थापना गरिएको हो ।”

अष्टेलियामा स्नातकोत्तर अध्ययनकालगि भाषा सिकिरहनुभएका गोलन्जोर गाउँपालिका ४ का समिप खड्काले सन्तोषजनक कमाईसँगै पढाईपनि राम्रै हुने भएकाले विदेश जाने मनसाय बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशमा राजनीतिक अस्थिरता, पढाइमा अनियमितता, रोजगारीमा नातावाद, कृपावाद र क्षमता, सिपको अपमानका कारण शिक्षाका लागि विदेशिने क्रम बढेको छ ।” पढाईमा अब्बल विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने तर नफर्किने सिलसिला बढ्दै गएकामा जिल्लाका शिक्षाविद्हरुले भने चिन्ता व्यक्त गरेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक शिक्षा (एब्रोड स्टडी) का नाममा मात्र झण्डै ४५ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको छ । सिन्धुलीमा केआइईसि, लोटस, बिएसस, लन्डन भाषा इन्स्टिच्युट लगायत दर्जन बढि वैदेशिक शिक्षा परामर्श तथा भाषा अध्ययन संस्था संचालनमा छन् ।

 

प्रतिक्रिया