सिन्धुली – कमलामाई नगरपालिकाका किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर १३ र १४ का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिभिन्न कृषि सामाग्री वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट ) बिकास कार्यक्रम अन्तर्गत वडा नं. १३ र १४ स्थित महिला साना किसान कृषि सहकारी संस्था मार्फत कृषि सामाग्रीहरु वितरण गरिएको थियो ।
नेपाल सरकारको शसर्त अनुदान अन्तर्गत कमलामाई नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार कमलामाई नगरपालिका वडा नं. १३ र १४ का का कृषकहरुलाई चैते धानमा आबद्ध गराई चैते धानमा विस्तार गर्न कृषकहरुको १२ /१२ लाख अनुदानमा कृषि सामाग्रीहरु वितरण गर्न लागिएको कमलामाई नगरपालिकाका कृषि प्राविधिक देवि सापकोटाले जानकारी दिनुभयो । चैतै धान बर्षे धानको तुलनामा ३ देखि ५ प्रतिशत उत्पादन बढी हुने समेत उहाँको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले नागरिकको आय आर्जनमा बृद्धि गराउने उदेश्यले कृषि सामाग्रीहरु वितरण गरिएको बताउनुभयो । उहाँले वडा नं. १३ र १४ मा धान उत्पादनको लागि उर्वर भूमी भएकाले अनुदानमा उपलब्ध सामाग्री प्रयोग गरि उत्पादन बढाउन आग्रह गर्नुभयो । साथै कृषिमा आधुनिकरण गर्नको लागि बिभिन्न कृषि सामाग्री वितरण गरिएकाले गरिएको उहाँको भनाइ छ । साथै उहाँले कृषि शाखाबाट संचालित कार्यक्रम पारदर्शी र जवाफदेहि हुन समेत कृषि शाखालाई निर्देशन दिनुभएको छ ।
त्यस्तै कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले प्रविधिको प्रयोग गरि उर्वर जमिनमा उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । कृषकहरुले गर्दै आएको परम्परागत खेतिलाई आधुनिकरण तर्फ लैजादै उत्पादनमा जोड दिन स्थानीय सरकार लागिपर्ने उहाँको भनाई छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरेको बताउदै कृषि पशुमा केहि समस्या परेमा वडाका प्राविधिकहरुलाई सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
संघिय सरकारको शसर्त अनुदानमा संचालित पकेट बिकास कार्यक्रमका लागि २ बर्ष यसै शिर्षकमा बजेट आउने र खेतिको क्षेत्र बिस्तार गर्दै गए निरन्तर रुपमा अनुदान प्राप्त गर्न सकिने कमलामाई नगरपालिकाका कृषि शाखा प्रमुख सरोज फूयालले जानकारी दिनुभयो । साथै सहकारी मार्फत प्राप्त भएको कृषि प्रविधिको सामाग्रीको स्थानीयहरुले निगरानी गर्न समेत उहाँले आग्रह गर्नुभएको छ । वडा नं. १३ र १४ का कृषकहरुलाई मिटि टेलर, पावर टेलर, रोडाभेटर, बिषादी, स्पेयर, पानी तान्ने मोटर र पाइप वितरण गरिएको हो ।