शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

आधुनिकताले लोप हुँदै सिन्धुलीमा परम्परागत सुनका गहना

मंगलवार , चैत्र ७, २०७९

सिन्धुली – नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिप लगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले सिन्धुली लगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन् ।पुराना सुनका गरगहना बनाउन कामदार समेत पाईन छोडिएको छ भने नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेका छन ।

बुढापाकाले लगाउने सुनका बुलाकी, नअथी, मडारी, फुली, टीका, ढुङ्ग्री, क्लिप लगायतका सुनका गहना पहिला विवाहमा बेहुलीका लागि अनिवार्य लगाउनुपर्ने चलन थियो ।

सुनका गहना पहिलाको तुलनामा महँगो बन्नुले पनि महिलाहरु त्यस्ता सुनका गहना प्रयोगमा कमी हुन थालेको सुनचाँदी व्यवसायीको भनाइ छ । नाकमा बुलाकी लगाउने कहिलेकाहीँ मात्र देख्न सकिने अवस्था छ । सुनचाँदी पसलमा समेत अहिले पुराना मोडलका गहना बन्न छाडेको र पुराना मोडलका गहना बनाउने जान्ने कामदारको समस्या पर्न थालेको सियोन ज्वेल्र्सका प्रोपाइटर भिम दियालीले बताउनुभयो ।

मानिस अहिले आधुनिक प्रकारका गहना प्रयोग गर्न चाहन्छन् । पुराना मोडलका गहना पुराना गाउँघरमा बस्ने सुनचाँदी व्यवसायीले मात्र काम गर्न जानेको उहाँको भनाई छ । सिन्धुली जिल्लाको सिन्धुलीमाढीबजार, भिमान, चकमके, दुधौली, कपिलाकोट, झागाँझोली रातमाटा लगायतका बजारहरुमा सुनको कारोबार बढी हुने गरेको पाइन्छ ।

यी पसल आधुनिक मोडलका सुनका औँठी, सिक्री, जन्तर, टप लगायतका सामान क्याटलग प्रयोग गरी गहना बनाउन आउने व्यवसायीहरुको भनाई छ ।

प्रतिक्रिया