सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकाका स्थानीयले तत्काल पुल निर्माणको काम सुरु गर्ने सहमतिपछि आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । गाउँपालिकामा सोमबार स्थानीय, ठेकेदार, आयोजना र पालिका प्रतिनिधिबीच वार्ता भएर सहमति भएको हो ।
स्थानीयले मध्य पहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ खाङसाङ र वडा नम्बर ६ सोखुखोलामा अलपत्र पक्की पुल छिटो बनाउन माग राख्दै सडक अवरुद्ध गरेका थिए । पुल निर्माण ठेक्का सुरुमा पप्पु कन्स्ट्रक्सन पाएको थियो । पप्पुले अलपत्र पारेर छाडेपछि ठेक्का तोडेर वाईपी विकास एन्ड बंदर्श र आत्रेय जेभीलाई दिइएको थियो । उक्त कम्पनीले तीन वर्षअघि अलपत्र पुल सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । गत वर्ष नै सम्पन्न हुनुपर्ने पुल निर्माणको काम विभिन्न बहाना गर्दै निर्माण व्यवसायीले लम्ब्याएपछि स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
यहि चैत ११ गते भित्र पुलको बिचमा माटो भर्ने, चैत महिनाभित्र सटिङको काम सक्ने, बैशाखको पहिलो हप्ता ढलान गरि जेठ १५ देखि पुलबाट आवतजावत गर्ने व्यवस्था मिलाउने, कामको सूचारु गरि सम्पन्न नहुन्जेल सम्म ठेकेदार कम्पनिको रेख देख तथा रविद्र कुवरसँग कामको जिम्मेवारी पुष्पलाल राजमार्ग योजना कार्यालय रामेछाप सित्खाको रहने, पुल निर्माणका लागि ठेकेदार, मध्येपहाडि राजमार्ग तथा स्थानिय व्यक्तिको सम्वन्यमा साथै रेखदेख स्थानिय सरकारले गर्ने सहमति भएको छ ।