सिन्धुली – राष्ट्रिय प्रजातन्त्रपार्टी जिल्ला कार्यालय सिन्धुलीले रसायनिक मलमा भएको अनुदान कटौंति र मलमा आएको मुल्य बृद्धि बिरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाइएको हो ।
किसानले रासायनिक मलमा पाउदै आएको अनुदान घटाउने र मुल्य बृद्धि गर्ने सरकारले निर्णय गरेको थियो । अमानविय र अनुचित कृषिजन्य बस्तुको उत्पादन लागत बढेको अबस्थामा यसले किसानलाइ उत्पादन लागत छिमेकि देशको उत्पादनसंग प्रतिस्पधा गर्न नसक्ने हुँदा थप जोखिम बढाएको र माग बमोजिम खेति गर्ने समय अगाबै मल आपुर्ति गर्न नसकेको र गरिएको अनुदानको कटौंतिको निर्णयको राष्ट्रिय प्रजातन्त्रपार्टीले घोर भत्र्संना गरेको ज्ञापन पत्रमा भनिएको छ ।
अनुदान कटौंति तथा मुल्य बृद्धि सम्बन्धि तत्काल फिर्ता लिन सर्भसुलभ ढंगले मल आपुर्तिको व्यबस्था मिलाउन मल आपुर्तिको दिर्घकालिन समस्या समाधानका लागि देश भित्र रसायनिक मल कारखाना स्थापनाको प्रक्रिया तत्काल प्रारम्भ गर्न र किसानबाट उत्पादित बस्तुको उचित मुल्य र बजारको व्यबस्था गर्न ध्यानाकर्षण गराएको छ ।
यता सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरि यथावत् राख्ने निर्णय गरेको हो । बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आउँदो दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यसअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । यो निर्णयको सर्वत्र विरोध भइरहेको थियो । मन्त्रिपरिषद् बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत् रहने भएको छ ।