सिन्धुली – नेपाली सेनाले सुरु गरेको सिन्धुलीको हरिहरपुरगढी किल्ला देखि सिन्धुलीगढी सम्मको ६ दिनको एकीकरण पदयात्रा समापन भएको छ । गत फागुन २६ गतेबाट सुरु भएको हरिहरपुरगढी किल्ला देखि सिन्धुलीगढी किल्ला सम्मको पदयात्रा शुक्रबार सिन्धुलीगढीमा समापन गरिएको हो ।
बर्दबहादुर गणले हरिहपुरगढी गाउँपालिका १ मा पर्ने हरिहरपुरगढी किल्लादेखि कमलामाई नगरपालिका ३ मा पर्ने ऐतिहासिक सिन्धुलीगढी सम्मको ७२ किलोमिटर लामो दुरीको एकीकरण पदयात्रा सुरु गरेको थियो । नेपाली सेनाको राष्ट्रिय निति तथा कार्यक्रममा समावेश भएको एकिकरण पदयात्रा कार्यक्रम अन्तर्गत विगतको केही बर्ष यता देखि पदयात्रा गर्दै आएको छ ।

समापन कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले आगामी दिनमा पनि नेपाली सेनाले ऐतिहासिक संम्पदाको संरक्षण तथा प्रचारप्रसारमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली सेनाले गरेका कामको प्रशंसा गर्नुभयो । साथै एकिकरण पदयात्रामा सहभागि सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
यस्तै, नेपाल एकिकरण हुदाँ र नेपाल–अंग्रेज युद्धका बेला अंग्रेजसँग लडाइ लड्दा नेपाली फौँजले प्रयोग गरेको बाटोको पहिचान गरी त्यसको संरक्षण र विकासका लागि एकिकरण पदयात्रा कार्यक्रम संचालन हुदै आएको बर्दबहादुर गण सिन्धुलीका मेजर धर्मराज पाण्डेले बताउनुभयो ।
पदयात्रामा निस्केको सेनाको टोलीले हरिहरपुरगढी किल्लाबाट सेपाहा, भदौरे, मधुवन, कोल्टार, टुनिभन्ज्यांङ, छरछरे गाउँ, बन्दीपुर, नागी हुदै सिन्धुलीगढी सम्मको ७२ किलोमिटर लामो दुरीको यात्रा सुक्रबार पुरा गरेका छन् ।