शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुली प्रहरीद्वारा हवाई फायर गरि चारजनालाई पक्राउ

बिहिवार , फाल्गुण ११, २०७९

सिन्धुली– सिन्धुली प्रहरीले एक सय १५ किलो लागुऔषध गाँजा सहित तीन मोटसाइकल र चार जनालाई पक्राउ गरेको छ । बिहिबार सर्लाहीको लालबन्दी नगरपालिकाबाट सिन्धुलीको मरिण गाउँपालिकाको छाप बजार आउँदै गरेका तीनवटा मोटरसाईकल चेकजाँच गर्दा एक सय १५ किलो गाँजा प्रहरीले फेला पारेको हो ।

मोटरसाईकलमा लागू औषध गाँजा ओसारपसार भईरहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले गाँजा सहित चार जनालाई पक्राउ गर्न सफल भएको सिन्धुली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार मरिण गाउँपालिका वडा नं. ४ चुरे जंगल स्थित मरिण छाप बजारतर्फ आउँदै गरेका तीनवटा मोटरसाईकलहरुको हर्कत शंकास्पद रुपमा देखिएकाले चेकजाँचका लागि रोक्ने क्रममा उक्त मोटरसाईकलमा सवार व्यक्तिहरुले प्रहरीलाई हातपात, ढुंगामुडा तथा घरेलु हतियार खुकुरी समेत प्रहार गर्न थालेका थिए । प्रहरीले बल प्रयोग गर्ने क्रममा सानो चाईनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरि ४ जना मानिसहरुलाई पक्राउ गरको उहाँले बताउनुभयो ।

पक्राउ पर्नेमा प्रदेश २ – ०३ – ०११५ ८३७१ नं. को मोटरसाईकल चालक लालबन्दी नगरपालिका वडा नं. १४ का ३२ वर्षिय मानध्वज वाईबा र पछाडि सवार हरिहरपुरगढी गाउँपालिका वडा नं.७ का ५५ वर्षिय चन्द्र बहादुर वाईबालाई सो मोटसाइकल र एक थान खुकुरी सहित पक्राउ गरिएको छ । ना.३७. प ४२२९ नम्बरको मोटरसाईकल चालक हरिहरपुरगढी गाउँपालिका वडा नं.७ का २७ वर्षिय सूर्य बहादुर वाईबा र बा.७४ प २२८० नम्बरको मोटसाइकल चालक हरिहरपुरगढी गाँउपालिका वडा नं. ७ का २२ वर्षिय बिर्ख बहादुर वाईबालाई पक्राउ गरिएको प्रनाउ दाहालले जानकारी दिनुभयो । उनीहरुको साथबाट एक सय पन्ध्र किलो लागू औषध गाँजा समेत बरामद गरिएको थियो । ३ वटा मोटरसाईकल सहित चार जनालाई थप अनुसन्धानको लागि विहिबार अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया