सिन्धुली – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आवासीय विद्यालय संचालन गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको निति तथा कार्यक्रम अनुसार वडा नं. ४ मा रहेको माध्यमिक विद्यालय महेन्द्रझ्याडी र वडा नं. ८ मा रहेको माध्यमिक विद्यालय क्यानेश्वरमा आवासीय विद्यालय संचालन गरेको हो ।
मंगलवार एक कार्यक्रमकाका बिच गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले माध्यमिक विद्यालय महेन्द्रझ्याडीमा आवासीय विद्यालयको उदघाटन गर्नुभएको छ । विद्यालयबाट घर टाडा रहेका विद्यार्थीहरुलाई आवासीय सुविधा सहित पढाउन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो ।
गाउँपालिकाले माबि महेन्द्रझ्याडी र माबि क्यानेश्वरमा आवासीय विद्यालय संचालनका लागि चालु आर्थिक बर्षमा करिव ७५ लाखको दरले बजेट छुट्याएको थियो । सोही बजेटले आवासीय सुविधाका लागि आवश्यक पर्ने सबै तयारी पुरा गरेर आवासीय विद्यालय संचालन गरिएको अध्यक्ष वाइबाले बताउनुभयो ।
बुधबार माबि क्यानेश्वरमा पनि आवासीय विद्यालयको उद्घाटन गरी संचालन सुरु गरिने अध्यक्ष वाइबाको भनाई छ । आधा घण्टा भन्दा बढी समय हिडेर पढ्न विद्यालय धाउनुपर्ने बाध्यतामा रहेका कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई आवासीय सुविधा सहित पठनपाठन गराउने पालिकाको उदेश्य रहेको अध्यक्ष वाईबाले बताउनुभयो ।
पालिकाको शैक्षिक गुणस्तर सुधारमा आवासीय विद्यालयले टेवा पुर्याउने गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले बताउनुभयो । शैक्षिक सुधारका लागि सडक सुविधा राम्रो भएका विद्यालयमा स्कुल बसको व्यवस्थापन गर्ने तयारी पनि भईरहेको उपाध्यक्ष थिङले बताउनुभयो ।