सिन्धुली– हरिहरपुरगढी गाउँपालिकाले भुमीहिन दलित तथा भुमिहिन सुकुम्बासीहरुलाई सोमबार एक समारोह बीच जग्गाधनी धनी प्रमाणपुर्जा वितरण गरेको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ का १७ भूमिहिन दलित, भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा बितरण गरिएको हो ।
नेपाल सरकारले राष्ट्रिय भुमी आयोग गठन गरि भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यस्थित बसोवासीहरुको लगत संकलन कार्यविधी–२०७८ निर्माण गरि देशभरिको तथ्यांक सकलनको कार्य गरिरहेको भएपनि भुमिहिनहरुले लालपुर्जा पाउन सकेको अवस्था छैन ।
जग्गाधनी प्रमाण पूर्जा नभएर सुकुम्बासी अवस्थामा रहेका भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई गाउँपालिकाको अथक प्रयासबाट जग्गाधनी प्रमाण पूर्जा बितरण गरिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले बताउनुभयो ।
राष्ट्रिय भुमी आयोग जिल्ला समिति सिन्धुली र हरिहरपुरगढि गाउँपालिका कार्यालयले सयुक्त रुपमा संकलन गरेको तथ्यांक अनुसार २ सय ३२ घरधुरी भूमिहिन दलित तथा भुमिहिन सुकुम्बासीहरुको बसोबास रहेको छ । उक्त २ सय ३२ परिवार मध्ये १७ परिवारलाई पहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको अध्यक्ष वाईबाले जानकारी दिनुभयो ।