सिन्धुली– पहिले–पहिले गाउँमा सन्चो बिसन्चोको खबर पाउने माध्यम चिठीपत्र थियो । हुलाकीले कहिले चिठी ल्याइदिने हुन् भन्ने बाहिर गएका घरपरिवारमा आफ्न्तहरु कुरेर बस्थे ।
सञ्चार प्रविधिमा आएको परिवर्तनका कारण अहिले मिनेटमै सन्चो बिसन्चोको खबर थाहा पाउन सकिने भएको छ । मोबाइल सेवाले पहिले जस्तो खबर थाहा पाउन महिनौ कुुर्नुपर्ने बाध्यता हटाइदिएको छ । आफ्न्तको सम्झना आउनेल बित्तिकै फोन गरिहाले खबर थाहा हुन्छ ।
सन्चो बिसन्चो देखि बिरामी हुँदा कुरुवा, मर्दा मलामी, विवाहमा जन्ती, मेलापातमा खेताला र गाउँमा बैठक बस्नका लागि मान्छे जुटाउने काम अहिले मोबाइलबाट नै हुन्छ । घरघरमा खबर गर्न जानुपर्ने बाध्यता अहिले गाउँ घरमा मोबाइल सेवाको प्रयोगसँगै हटेको छ । पहिले सार्वजनिक सञ्चारको रुपमा कटुवाल लगाउने प्रथा अहिले मोबाइलको प्रयोगसँगै हराएर गएको छ । ग्रामीण बस्तीका बासिन्दा मोबाइल सेवाको प्रयोग गर्न थालेपछि आफ्ना काम छिटोछरितो रुपमा सम्पन्न हुन थालेको बताउँछन् ।
नेपाल टेलिकम सिन्धुली शाखाले जिल्लाका प्रायः गाविसमा टेलिकमका टावर जडान गरेपछि गाउँ सहरमा सञ्चारको पहुँच पुगेको छ । सञ्चारको अत्याधिक विकासले आफूले चाहेको व्यक्तिसँग मोबाइलबाट कुरा गर्न सकिने भएपछि गाउँलेहरुले आफूलाई भाग्यमानी ठानेका छन । मोबाइलसँगै विकासका अन्य पूर्वाधार गाउँगाउँसम्म विस्तार हुँदा अहिले बसाइँसराइका क्रममा पनि कमी आएको छ । पछिल्लो समय त मोवाइलको प्रयोगले गाउँ–गाउँमा प्रेम विवाह समेत बढ्दै गएको छ भने नकारात्मक खालका संस्कारहरु पनि मौलाउँदै गएका छन ।
नेपाल टेलिकम सिन्धुली शाखाले सञ्चारमा सर्वसाधारणको पहुँच पुर्याउने उद्देश्यले जिल्लामा वारलेस प्रविधिमा आधारित पोष्टपेड, जिएसएम, सिडिएमए मोबाइल सिमहरु वितरण गरेको छ ।
निजी कम्पनी एनसेल र स्मार्टले पनि बर्सेनी हजारौँको संख्यामा सिम, रिम र इन्टरनेट सेवा विस्तार गरेको छ । यस्ले गर्दा पनि ग्रामीण क्षेत्रमा सूचना आदान प्रदानमा निकै सहजता ल्याएको पाइन्छ । नेपाल टेलिकमको सेवामा गडवडि आईरहने भएकाले एनसेल र स्मार्ट फोन प्रयोग गर्नमा नै ग्रामीण क्षेत्रका स्थानीयहरु आर्कषित भएको पाइन्छ ।
सञ्चार प्रविधिमा आएको परिवर्तनका कारण अहिले ग्रामीण क्षेत्रका वृद्धवृद्धा मोबाइलबाट कुराकानी र इन्टरनेटबाट भिडियो कुराकानी गर्न पाउँदा निकै खुसी देखिन्छन् ।
महिनौँ दिनसम्म खबर पाउन मुस्किल हुने कुनाकन्दरामा अहिले मोबाइलको प्रयोगका कारण क्षणभरमै जहाँतहीँको खबर थाहा हुँदा स्थानीय बुढापाकाहरू दङ्ग छन् । छोराबुहारी घर बाहिर काममा जाँदा पनि घरमा बस्ने वृद्धवृद्धाहरु अब मोबाइलमै कुराकानी गर्न र रेडियो सुन्न पाउँदा एक्लो भएको अनुभव नहुने उनीहरु बताउँछन् ।
आफू सानो हुँदा रेडियो नदेखेकाहरुले अहिले हातमा नै मोबाइल प्रयोग गरी कुराकानी गर्ने र मोबाइलबाट नै रेडियो सुन्न पाउँदा प्रविधिले गरेको बिकास देखेर उनीहरु निक्कै अच्चमीत परेका छन ।
मोबाइलको बढ्दो प्रयोगका कारण चिठीको प्रयोग निकै कम भएको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ । अहिले झन्डै ९० प्रतिशत चिठी हुलाक कार्यालयमा दर्ता हुन छाडेको कार्यालयले बताएको छ । पछिल्लो समय हुलाकमा सरकारी कार्यालयका चिठी पत्र र पत्रिका मात्र आउने गरेका छन ।
त्यस्तै पछिल्लो समय गाउँ–गाउँमा इन्टरनेट प्रयोगकर्ताहरुको संख्या पनि बढ्दै गएको छ । एकिन संख्या कसैसँग नभएपनि नेपाल टेलिकमको साथै निजी कम्पनि एनसेल र स्मार्ट सीममा इन्टरनेट चलाउन सकिने डाटाको व्यवस्था गरे पछि गाउँगाउँमा इन्टरनेटको प्रयोग ह्वातै बढेको छ । अहिले गाउँमै बसेर इन्टरनेटको प्रयोग गरी देश विदेशको खबर पढ्न पाएपछि निक्कै खुसी देखिएका छन फिक्कल गाउँपालिका वडा नं.–१ महादेवडाडाँकी मिरा पाख्रीन ।
पछिल्लो समय इन्टरनेटको प्रयोग मार्फत देश विदेशका ताजा समाचार अध्यन गर्ने गरेको पाख्रीनले बताउनुभयो । इन्टरनेटको प्रयोग मार्फत फेसबुक चलाउने र देशविदेशका समाचार पढ्नेहरुको संख्या पछिल्लो समय निक्कै विस्तार हुँदै गएको देखिन्छ ।
विद्युतीय उपकरणको प्रयोगले बढ्दै अपराध घटना
सरकारले डिजिटल नेपाल डिजिटन नेपालीको अवधारणा अगाडि सारेको छ । अभियान अन्र्तगत सबै नेपालीलाई डिजिटलाईज गर्ने, प्रविधिको प्रयोगको दायरामा ल्याउने लक्ष्य राखेको छ । तर उक्त प्रविधिको प्रयोगले सामाजिक अपराध पनि बढाउँदै लगेको छ ।
मोवाइल र इन्टरनेटको प्रयोगले गाउँमा नकारात्मक खालका संस्कार र सस्कृतिसँगै अपराधीक खालका क्रियाकलाप समेत बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवाल बताउनुहुन्छ ।
विद्युतीय उपकरण इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या, अफवाह, हिंसात्मक क्रियाकलापलाई हौसला, यौनजन्य गतिविधिजस्ता सामाजिक साइबर अपराध हुँदै आएका छन् ।
कम्युटर नेटवर्कमा ह्याकिङ (अवरुद्ध) गर्ने, बैंकबाट पैसा झिकिदिने, अर्काको नक्कली एकाउन्ट बनाउने, आर्थिक बार्गेनिङ (मोलमोलाइ), अनधिकृत बंैकिङ कार्ड प्रयोग गर्ने, ठगि गर्ने जस्ता अपराध बढिरहेको प्रहरी उपरिक्षक सिलवालले बताउनुभयो ।
मोवाइल र इन्टरनेटको प्रयोगमा आएको विकासले सहरमा मात्र हैन ग्रामीण क्षेत्रमा समेत महिला हिंसाका घटनाहरुमा बृद्धि हुँदै गएको र त्यसको ठिक ढंगले प्रयोगका लागी सामाजिक चेतनाको विस्तार गर्न आवश्यक रहेको सञ्चारकर्मी उर्मिला भट्टराई बताउनुहुन्छ ।
सेवा र सुविधाको विस्तार हुनु र प्रविधिको प्रयोगमा ग्रामीण क्षेत्रका स्थानीयहरुको समेत पहुँच हुनु सकारात्मक पक्ष भएपनि मोवाइल र इन्टरनेटको प्रयोगले गाउँगाउँमा मौलाउँदै गएको नकारात्मक सस्कारबाट भने जोगिन आवश्यक रहेको गोलन्जोर–१ का वडा अध्यक्ष सोमप्रसाद बराल बताउनुहुन्छ ।
सञ्चार प्रविधिका पुर्वाधार लगायत सुचना प्रणालीलाई विभिन्न् प्रकारका साईबर आक्रमणबाट जोगाउने उदेश्यले नेपाल दुरसञ्चार प्राधिकरणले साईवर सुरक्षा नियमावली–२०७७ लागु गरेको छ भने अपराध नियन्त्रणका लागी नेपाल प्रहरीले साइबर ब्यूरो कार्य संचालन कार्यादेश – २०७५ मार्फत साईबर ब्यूरो नै निर्माण गरेर साइबर अपराध अनुसन्धान गर्ने, साइबर सुरक्षा सचेतना र प्रर्वद्धन गर्नका लागि सरोकारवाला निकाय तथा विज्ञहरुसंग समन्वय तथा सहकार्य गर्ने, संवेदनशील पूर्वाधार उपर हुने साइबर अपराधको अनुसन्धान गर्ने, भविष्यमा हुनसक्ने साइबर अपराध तथा हमलालाई सामना गर्नसक्ने सक्षम प्रहरी जनशक्ति तयार गर्ने लगायतका कार्य गरिरहेको भएपनि प्रविधिको बिकास, विस्तार र प्रयोगले त्यस्ता घटनामा कमि आउन सकेको अवस्था छैन ।