शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मौलाउँदै निजी विद्यालय

सोमवार , फाल्गुण ८, २०७९

सिन्धुली – सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदै गएपछि पछिल्लो समय सिन्धुलीमा निजी विद्यालयहरु मौलाउँदै गएका छन । सामुदायीक विद्यालयको शिक्षाको गुणस्तर माथी विश्वास गुम्दै गएपछि जिल्ला भरि निजी विद्यालयहरु मौलाउँदै गएका हुन । निजी विद्यालयहरु र निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या ह्वात्तै बढ्दै गएको छ ।

जिल्ला शिक्षा समन्यव इकाई सिन्धुलीको पछिल्लो तथ्यांक अनुसार विभिन्न् स्थानीय तहमा जम्मा ५६ निजी विद्यालयहरु सञ्चालनमा रहेका छन । जिल्लाको फिक्कल गाउँपालिका बाहेक सबै स्थानीय तहमा निजी विद्यालयहरु सञ्चालनमा रहेका छन ।

तथ्यांक अनुसार स्थानीय तहहरु मध्ये कमलामाईमा २४, दुधौलीमा १५, तिनपाटनमा ६, गोलन्जोरमा २, सुनकोशीमा २, मरिणमा ४, हरिहरपुरगढीमा २ र घ्याङलेकमा १ निजी विद्यालयहरु सञ्चालनमा रहेका छन ।

जिल्ला सदरमुकाममा मात्र हैन ग्रामीण क्षेत्रका अभिभावकहरुमा समेत निजी विद्यालय प्रतिको मोह बढ्दै गईरहेको गोलन्जोर गाउँपालिका–१ डुडभञ्ज्याङ्गका स्थानीय रबिन न्यौपाने बताउनु हुन्छ । सदरमुकाम बाहिर सञ्चालित निजी विद्यालयहरुले यातायातको ब्यवस्थापन गरेर टाढा–टाढा सम्मका विद्यार्थीहरु समेत जम्मा गर्ने गरेका छन ।

जिल्लाभरी सञ्चालित निजी विद्यालयहरुमा आधारभुत तहदेखी उच्च मावि सम्म ४ हजार ८ सय १० छात्रा र ६ हजार ५ सय ३६ छात्र सहित कुल ११ हजार ३ सय ४६ विद्यार्थी अध्यन गरिरहेको जिल्ला शिक्षा समन्यव इकाई सिन्धुलीले जनाएको छ ।

सरकारी विद्यालयको शिक्षा दिनानु दिन कमजोर हुँदै गएपछि निजी विद्यालयहरुको शैक्षिक व्यापार दिन दिनै मौलाउँदै गएको छ । सदरमुकाममा सञ्चालित भगवती आवाशीय उमावि, शिद्धस्थली आवासीय उमावि, सुर्योदय आवासीय उमावि लगायतका निजी विद्यालयहरुले सदरमुकाममा राम्रै प्रभाव जमाई रहेका छन भने सरकारी विद्यालय गौमती उमाबि, कमला उमावि, फोस्रेटार उमावि, भविश्य निर्माता पानीट्यांकी उमावि कमजोर बन्दै गईरहेका छन ।

प्रतिक्रिया