शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

निरन्तर कार्यान्वयन हुन सकेन सिन्धुलीमा खुल्ला दिशामुक्त अभियान

आइतवार , फाल्गुण ७, २०७९

सिन्धुली – ‘सन २०१६ भित्र सबै मिलीजुली, खुल्ला दिशामुक्त जिल्ला बनाऔं सिन्धुली’ भन्ने नाराका साथ सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको करोडौं लगानीमा सिन्धुलीलाई २०७५ सालमै खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो ।

ग्रामीण क्षेत्रमा मात्र हैन सहर र सदरमुकाममै खुल्ला दिशामुक्त बन्न सकेको अवस्था छैन । सार्वजनिक स्थानहरु नै चर्पिको रुपमा प्रयोग गर्ने क्रम बढ्दै गईरहेको छ ।

तत्कालिन जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको उपस्थितीमा २०७५ बैशाख १३ गते सिन्धुलीलाई खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गरेको थियो ।

जिल्लाका ५८ हजार ७ सय ९६ घरधुरी मध्ये ५८ हजार २१० व्यक्तिगत र संस्थागत र सार्वजनिक ८ सय ८८ गरि कुल ५९ हजार ९८ वटा चर्पी निर्माण भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले तथ्यांक सार्वजनिक गरेको थियो ।

खानेपानी तथा सरसफाइ सम्बन्धी रणनीतिक कार्ययोजना २०६९ सिन्धुली निर्माण गरि १५ बर्ष लगाएर सिन्धुलीलाई खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गरिएको थियो ।

‘सफा स्वच्छ वातावरण, घर आगनमा चर्पी अनि धारा, सुन्दर सफा सिन्धुली अवको हाम्रो अभिभारा’ भन्ने नारा तय गर्दै निरन्तर जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला बनाउने भनिएपनि खुल्ला दिशामुक्त जिल्ला घोषणा औपचारिकतामा मात्र सिमित बन्दै गईरहेको स्थानीय दिपक मिश्र बताउनु हुन्छ । खुला दिसामुक्त हुनका लागि चाहिने न्यूनतम मापदण्ड पानीकै अभाव भएपछि खुला दिसामुक्त घोषणा कार्यान्वयनमा समस्या देखिएको मिश्रको भनाई छ ।

खुल्ला दिशामुक्त कार्यान्वयनका लागी आधारभुत मापदण्ड पानीको पुर्वाधारको विकास बिना गरिएको खुल्ला दिशामुक्त घोषणा कार्यान्वयनमा आउन समस्या भएको फिक्कल गाउँपालिका २ का स्थानीय जय प्रसाद न्यौपाने बताउनु हुन्छ । चेतनाको अभाव र पानिको समस्याले चर्पिको प्रयोग गर्नेहरुको संख्या कमि हुँदै गएको न्यौपानेले बताउनुभयो ।

कमलामाई नगरपालिकाले खुल्ला दिशामुक्त अभियानलाई निरन्तता दिईरहेको र सार्वजनिक शौचालयहरुको निर्माण तथा स्तरउन्नतीमा कार्यालयले काम गरिरहेको कमलामाई नगरपालिका बातावरण शाखा प्रमुख सागर कुमार ढकालले बताउनुहुन्छ । पूर्ण सरसफाईको आधार तयार पार्न काम गरिरहेको र पानीको पर्याप्तताको लागी पनि नगरपालिका लागीरहेको बताउँदै ढकालले सार्वजनिक खुल्ला दिशा नगरक्षेत्रमा अन्त्य गर्ने बताउनुभयो ।

खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा खानेपानीको पर्याप्तता नभएका ठाउँमा खानेपानी पुर्‍याउने आश्वासन दिइएको भए पनि त्यो अझै कार्यान्वयन हुन सकेको छैन । पानीकै समस्या चरम बनेपछि गाउँमा निर्माण गरिएको शौचालय समेत प्रयोगविहीन बन्दै गएका छन् ।

सरकारले लाखौं खर्च गरेर निर्माण गरेका सार्वजनिक शौचालयहरु पनि पानिको अभावका कारण प्रयोग गर्न लायक अवस्थामा भेटिदैनन् । सरसफाईको अभावले प्रयोग गर्न नसक्ने अवस्थामा भएकाले वीपी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी राजमार्गमा यात्रा गर्नेहरुले खुल्ला ठाउँमा नै दिशापिशा गर्ने गरेको गोलन्जोर गाउँपालिका–३ का स्थानीय गौरब कार्की बताउनुहुन्छ ।

खोला तथा नदिहरुमा खुल्ला दिशापिसाब गर्दा प्रदुशित बन्दै गईरहेका छन भने फोहोर ब्यवस्थापनका लागी प्रभावकारी निती नहुँदा सडक तथा सार्वजनिक क्षेत्र कुरुप र दुर्गन्धीत बन्दै गईरहेका छन ।

बर्षातको समयमा पानीको समस्या केही कम हुने भए पनि हिउँद र सुख्खा याममा भने पानीको अभावले ग्रामीण क्षेत्रका स्थानीयहरुलाई पिरोल्ने गरेको छ । खुला दिसामुक्त घोषणा भइसकेका वडाहरुमा पानीजस्तो आधारभूत आवश्यकताको परिपूर्ति गर्न नसक्दा स्थानीयहरु खुल्ला दिशामुक्त घोषणा कार्यान्वयन गर्न समस्या झेलिरहेका छन ।

दुर्गन्धीत बन्दै गौमती (ग्वाङ) नदी

सिन्धुली– सिन्धुलीमाढी बजार क्षेत्र हुँदै बग्ने गौमती नदी दुर्गन्धीत बन्दै गईरहेको । नियमनकारी निकायको प्रभावकारी अनुगमन र नियमन नहँुदा र स्थानीयहरुले खुलेआम नदिमा फोहोर मिल्काउदा केहि वर्ष पहिले सम्म सुन्दर देखिने गौमती नदि कुरुप र दुर्गन्धीत बन्दै गईरहेको छ ।

विभिन्न् पसल तथा घरबाट निस्कने फोहोर खोलामा मिल्काउँदा दुर्गन्ध बढ्दै गएको स्थानीयहरु बताउछन ।बसपार्क, बजार, मधुटार लगायतका क्षेत्रबाट निस्कने फोहोर खोलामा मिल्काउँदा दुर्गन्धीत बन्दै गएको छ । सामुदायीक सेवा केन्द्र सिन्धुलीले केहि वर्ष पहिले अभियाननै सञ्चालन गरेर गौमती नदि सफा गर्ने गरेको भएपनि उक्त गौमती नदि सफाई अभियानले निरन्तरता पाउन सकेको छैन ।

कमलामाई नगरपालिकाले फोहोरमैला ब्यवस्थापनका लागी डम्पींग साईडको निर्माण, दैनिक फोहोर संकलन जस्ता कार्य गरिरहेको भएपनि गौमती नदिमा फोहोर मिल्काउने क्रम रोकिन सकेको छैन । नगरपालिका कार्यालयले जनचेतनाको अभिवृद्धि सँगै खोला तथा खुल्ला स्थानमा फोहोर मिल्काउनेलाई कडाईका साथ कार्वाहीको दायरामा ल्याउनुपर्ने आवश्यक्ता देखिन्छ ।

प्रतिक्रिया