सिन्धुली – विद्यार्थी युनियनको चुनावलाई लक्षित गर्दै सिन्धुली घोषणापत्र २०७९ जारी गरेका छन् । जिल्लाका बालबालिका र किशोर÷किशोरीले विभिन्न मागहरु सहित सिन्धुली घोषणापत्र २०७९ जारी गरेको हो । घोषणा पत्र विद्यार्थी नेतालाई बुझाइएको थियो ।
विद्यालय, कलेज, विश्वविद्यालयमा यौन दुव्र्यवहार लगायतका अन्य हिंसात्मक घटनाहरु हुने भएका कारण विद्यालय र त्रिभुवन विश्वविद्यालयमा यौन हिंसा विरुद्धको नीति बनाई पिडकलाई कडा कारवाही गरिने र पीडितले न्याय पाउने गरी कार्यान्वयन गर्न माग गरेका छन् ।
यस्तै, विद्यालय, कलेज, विश्वविद्यालयहरुमा शिक्षकले कुनै राजनीतिक दलको दलगत प्रचारप्रसार गर्ने गरी कक्षाकोठामा पढाउन नपाउने नीति अवलम्बन गर्नुपर्ने, चुनावको प्रचारप्रसारको क्रममा बालबालिकाको शिक्षालाई बाधा पार्ने काम बन्द गर्ने, चुनावी प्रचारप्रसारमा बालबालिका र बालश्रमको प्रयोग नगर्ने समेत घोषणपत्रमार्फत माग गरेका छन् ।
विद्यालयमा आवश्यक पर्ने हरेक नीति निर्माण तथा कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीलाई समावेश गराउने र विद्यालय व्यवस्थापन समितिमा अनिवार्य एक किशोर र एक किशोरी गरी २ जना किशोरकिशोरी समावेश गराउन आवश्यक पहल गर्ने, शैक्षिक संस्थानमा अनिवार्य किशोरी मैत्री, अपांग मैत्री शौचालय स्थापना गरी किशोरीहरुका लागि निःशुल्क तथा गुणस्तरीय प्याड उपलब्ध गराई त्यसको व्यवस्थापन गर्ने ठाउँको समेत व्यवस्था, विद्यालय तथा कलेजमा धूमपान, मद्यपान, लागूपदार्थ निषेधका आचारसंहिता निर्माण गरी कम्तिमा ३ सय मिटर वरपर कुनै पनि प्रकारको मदिरा तथा सुर्तिजन्य पदार्थको विक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा निषेध गर्न, विद्यालय तथा कलेजलाई वातावरण मैत्री बनाउनको लागि नियमित सरसफाई तथा वृक्षारोपण कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्ने, विभिन्न राजनीतिक दलको आवरणमा रहि शैक्षिक संस्थाको हाताभित्र कुनैपनि प्रकारको हिंसात्मक गतिविधिहरु बन्द गरी पूर्णतया प्राज्ञिक वातावरण निर्माण एवम् विद्यालय शान्ति क्षेत्र कायम गर्न माग गरेका छन् ।

