शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको शिद्धबाबा मन्दिरमा भक्तजनको भीड

शनिवार , फाल्गुण ६, २०७९

सिन्धुली – महाशिबरात्रीका अबसरमा शनिवार सिन्धुलीको कमलामाइ नगरपालिका–४ च्याउकोटमा रहेको शिद्धबाबा मन्दिरमा हजारौं दर्शनार्थीहरुको भिड लागेको छ । जिल्लाको सबैभन्दा पुरानो शिद्धबाबा महादेवको स्थान भएकाले हरेक महाशिवरात्रीका अवसरमा सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रामेछाप लगायतका जिल्लाका श्रद्धालु भक्तजनहरु मन्दिरमा आई पूजाआजा गर्ने गर्दछन् ।

सदरमुकाम सिन्धुलीमाढी तथा आसपास क्षेत्रका भक्तजनहरु बिहानैदेखि मन्दिरमा पुगेर दर्शन गरेका स्थानीयले जनाएका छन् । स्थनीयका अनुसार ढुंग्रेवास बजारबाट करिब दुइ घण्टाको ठाडो उकालो हिंडेर भक्तजनहरु शिद्धबाबा दर्शनका लागि गएका थिए । त्यसैगरी, टेम्पोमा मन्दिरसम्म पुग्नेको संख्यापनि ठूलो थियो । शिद्धबाबा मन्दिरको मार्गमा टेम्पोको जाम नै भएको दृश्यहरु देखिएको थियो ।

भक्तजनहरुले पवित्र कमला र गौमती नदीमा स्नान गरी जल समेत लिएर शिद्धबाबा महादेवको श्रद्धा र भक्तिपुर्वक पुजा आराधना गर्ने प्रचलन रहेको छ । शुद्ध र पवित्र भै शिद्धबाबा महादेवको पुजा अर्चना गरे मनले चिताएको कुरा पुरा हुने जन विश्वास छ ।

सिन्धुलीमाडीको च्याउकोट डाँडामा अवस्थित शिद्धबाबा महादेव करिब १८ सय वर्ष पुरानो ऐतिहासिक मन्दिर भएकाले सिन्धुली लगायत यस क्षेत्रका बासिन्दाहरुले महाशिवरात्री, रामनवमी लगायतका पर्वहरुमा शिद्धबाबालाई आस्था र विश्वासको रुपमा मान्दै आएका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिलीप थापामगरका अनुसार मन्दिरमा दर्शनका लागि सुरक्षाकर्मी परिचालन गरेर लाइनको व्यवस्था मिलाइएको थियो । “वर्सेनि भक्तजनहरुको चाप बढेको छ”, उहाँले भन्नुभयो, “दर्शनको लागि व्यवस्थापन गर्न नै हम्मे हम्मे प¥यो । ओइरो लागेको छ ।”

उहाँका अनुसार मागेको वरदान पाउने बिश्वासमा शिद्धबाबाको मन्दिरमा भक्तजनहरु जाने गरेका छन् । दिन भर उक्त मन्दिरमा मेला लाग्ने गर्दछ । गाँजाका पारखीहरु समेत मन्दिरमा गएर प्यास मेटाउने गर्दछन् । त्यस्तै सिन्धुलीगढीमा रहेको शिद्धबाबाकै मन्दिरमा समेत भक्तजनहरुको घुइचो लागेको छ ।

यसैगरी महाशिबरात्रीको अबसरमा सिन्धुली जिल्ला कै सुनकोशी गाँउपालिकास्थित कुशेश्वर महादेव मन्दीर र दुधौली नगरपालिका–१ स्थित प्रशिद्ध धार्मिक स्थल मधुगंगा माहादेवको मन्दिरमा समेत भक्तजनको भिड लागेको स्थानीयले जनाएका छन् । त्यस्तै सदरमुकाममै रहेको किरातेश्वर महादेव मन्दिर, शिवालय थान लगायतका महादेव मन्दिरमा भक्तजनहरुको बिहानैदेखि भिड लागेको थियो ।

प्रतिक्रिया