शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई.......

शनिवार , फाल्गुण ६, २०७९

सिन्धुली – ‘सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई, कतिमा राम्रो दरबार, मार्‍यो नि मायाले मार्‍यो ।’ भत्किएर भग्नाबषेशमा परिणत भएको ऐतिहासिक सिन्धुलीगढी दरबारलाई पुरानैशैलीमा पुननिर्माण गरेसँगै लोकगायक स्वर्गिय कृष्णबिक्रम थापाले गायको उक्त गीतजस्तै अहिले बर्णन गर्न लायकको बनेको छ । स्थानीयका अनुसार कमलामाई नगरपालिका–३ स्थित उक्त दरबारलाई बागमती प्रदेश सरकारको सहयोगमा पुननिर्माण कार्य सम्पन्न गरी अहिले चिटिक्क पारिएको छ ।

रेडियो नेपालले २०३६ सालमा राष्ट्रव्यापी लोकगित प्रतियोगिता गराउदा लोक गायक स्वर्गिय थापाले उक्त दरबारको बर्णन गरी गाएको उक्त गीतले प्रथमस्थान प्राप्त गरेको थियो । त्यसपछि उक्त दरबारको संरक्षण गर्न कुनै पनि निकायले चासो नदेखाएपछि भत्किएर भग्नाबषेशमा परिणत भएको कमलामाई नगरपालिका–३ निवासी ७५ बर्षिय देवीप्रसाद सिग्देल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अहिले उक्त दरबारलाई पुरानैशैलीमा पुननिर्माण कार्य सम्पन्न गरेपछि बेहुलीझै सिंघारिएर चिटिक्क भएको छ । अहिले सिन्धुलीगढी दरबार पुरानैलयमा फर्किएको छ ।” लामो सयमसम्म संरक्षण अभावमा दरबार र गढी किल्लाका भौतिक संरचनाहरु नष्ट हुदै गएपछि गत बर्ष माघदेखि वागमती प्रदेस सरकारको सहयोगमा पुनर्निर्माण सुरु गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार बागमती प्रदेश सरकारको चार करोड ३८ लाख ९९ हजार ५२२ रुपैयाको लागतमा गढीदरवार पुनर्निर्माण गरिएको हो । दरबारको पुनर्निर्माणको जिम्मा सम्झौता भएको मितिले १६ महिनाभित्र सक्ने गरी तुल्सी/एरिसा जेभी भक्तपुरले पाएको थियो । यसको पुनर्निर्माण कार्य २०७९ जेठ १६ गते भित्र सक्ने गरी सम्झौता भएको थियो ।

तर कोभिडका कारण पुननिर्माण कार्य केही ढिलाई भई म्याद थपेर २०७९ पुस मसान्तभित्र सम्पन्न गरेको ठेकेदार रबिन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुननिर्माणको काम सबै सकिएको छ । अब बागमती प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रकृयामा लागेछौं ।”

स्थानीयका अनुसार तत्कालिन समयमा पूर्व २ नं क्षेत्रको प्रशासन सञ्चालन गर्ने सदरमुकाम (अड्डा)को रुपमा रहको गढीदरबार बिसं. २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी झारिएपछि संरक्षणविहिन भई भत्किएर भग्नावशेषमा परिणत भएको थियो ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले गढीदरवारको ऐतिहासिक, पुरातात्विक महत्वलाई ध्यानमा राखेर दरबारको पुरानै शैलीमा हुबहु निर्माण गरिएको बताउनुभयो । सिन्धुलीगढी क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउन नगरपालिका लागि परेको उहाँको भनाई छ ।

कमलामाई नगरपालिकाका बाताबरण शाखाका प्रमुख सागरकुमार ढकालले गढीदरबार तत्कालिन श्री ३ महाराज जंगबहादुर राणाका भाई बमबहादुर राणाका छोरा बमवीरविक्रम राणाले निर्माण गरेको इतिहा“समा उल्लेख भएपनि दरबार बडाहाकिम र सेनाहरू बस्नको लागि निर्माण गरिएको सिलालेख ढुंगामा लेखिएको छ ।

दरबारदेखि दक्षिणतर्फ गणेश, सरस्वती, लक्ष्मी मन्दिर, धारा, पश्चिममा ईनार, पोखरी, रहेको थियो । द्रुपद रानीको नाममा छोरा कर्णेल पुष्करबिक्रम जबराले गढीदरवारलाइ पुनर्निर्माण गरि रानी दरबार नामाकरण गरेका थिए । गढीदरवार विसं १९८६ कात्तिक २८ गते निर्माण सम्पन्न भएको शिलालेखमा उल्लेख भएको उहाँले सुनाउनुभयो ।

सिन्धुलीगढीमा नेपाली सेनाले युद्ध सङग्रहालय निर्माण गरेसँगै घुम्न आउने पर्यटकको संया दैनिक रुपमा बढी रहेको उहाँको भनाई छ । सिन्धुलीगढी परिसरमा पृथ्वीनारायण शाहको शालिक, पिकनीक स्पट, घेराबेरा लगायत काम सकिएका छन् । नेपाल अंग्रेज युद्धका क्रममा अंग्रेजहरुको मुत्यु भएको स्थानमा समाधिस्थलको निर्माण गर्ने कार्य थालिएको छ ।

पृथ्वीनारायण शाहाले नेपाल एकिकरण गर्ने क्रममा बि.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीमा तत्कालिन गोर्खाली सेनाले कप्तान किनलोकको नेतृत्वमा आएका आधुनिक अतियारले सुसज्जित अङग्रेज फौजलाई हराई बिरासत जोगाएकोले उक्त स्थानको ऐतिहासिक महत्व रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया