सिन्धुली – कमलामाई नगरपालिकामा विपन्न लक्षित न्यूनतम रोजगार, रोजगारीको हक र आवेदन प्रक्रिया सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । “श्रमको सम्मान राष्ट्रको अभियान” भन्ने मुल नाराको साथ विहिबार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विपन्न लक्षित न्यूनतम रोजगार, रोजगारीको हक र आवेदन प्रक्रिया सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम कमलामाई नगरपालिका वडा नम्बर ५ मा सम्पन्न भएको हो । वडा नम्बर ५ का जनप्रतिनिधि तथा लक्षित बर्गका लागि कार्यक्रम आयोजना गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।
विपन्न लक्षित न्यूनतम रोजगार, रोजगारीको हक र आवेदन प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम नगरपालिकाको १४ वटै वडामा संचालन हुने उपप्रमुख मन्जु देवकोटाले बताउनुभयो । कार्यक्रममा रोजगार संयोजक श्याम कुमार घलानले विपन्न लक्षित न्यूनतम रोजगार, रोजगारीको हक र आवेदन प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सुस्मिता लामाले गर्नु भएको थियो ।
वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्ष तथा उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाल, वडाका जनप्रतिनिधी, कर्मचारी र श्रमिकहरुको उपस्थिती रहेको थियो ।
यसैबिच, कमलामाई नगरपालिका वडा नम्बर १२ मा संचालन भइरहेको एक महिने गलैँचा बुनाइ प्राविधिक सिप विकास तालिमको उपप्रमुख देवकोटाले अनुगमन गर्नुभएको छ । नगरपालिकाको उद्योग तथा व्यवसाय प्रवर्द्वन शाखाबाट आर्थिक वर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत संचालन भएको एक महिने गलैँचा बुनाइ प्राविधिक सिप विकास तालिमको बुधबार उहाँले अनुगमन गर्नुभएको हो ।