शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा सरकारी विद्यालय भन्दा निजी विद्यालय तिर आकर्षण बढ्दै

बुधवार , फाल्गुण ३, २०७९

सिन्धुली – सरकारले शिक्षामा ब्यापक लगानी गर्दै गाउँ–गाउँमा सुन्दर विद्यालय भवन बनाए पनि अभिभावकको आकर्षण भने निजी विद्यालयमै देखिएको छ । २०७२ को बिनासकारी भुकम्प पछि पाँच सय पँचास ओटा विद्यालय भवनका ३ हजार १ सय ९७ ओटा कक्षाकोठामा क्षति भएको थियो ।

भुकम्प पछि सिन्धुलीका विद्यालय भवन निर्माणलाई प्राथामिकतामा राखेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्था, जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा तथा एडिबीको सहयोगमा हालसम्म ३८१ विद्यालय भवन निर्माण गरिएको जिल्ला शिक्षा समन्यव इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले जानकारी दिनुभयो ।

एसियाली विकास बैक एडिबीको सहुलियत ऋण सहयोगमा ४१ ओटा विद्यालय पुर्ननिर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य ७ ओटा विद्यालय भवनको धमाधम निर्माण भइरहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख घिमिरले बताउनु भयो । जिल्लास्थित विभिन्न माध्यमिक विद्यालयमा दुई करोड माथि लगानीमा विद्यालय भवन निर्माण भएको हो ।

निर्माण भएका सुन्दर विद्यालय भवनहरु मध्ये ३ सय ३ वटा ब्यवस्थापन समिति मार्फत, बोलपत्र मार्फत ४१ वटा र विभिन्न् गैर सरकारी संस्था मार्फत ३७ गरि कुल ३८१ विद्यालय भवन निर्माण भएका हुन । त्यस्तै जिल्ला भरिका विद्यालयहरु मध्ये १२८ विद्यालयमा ब्यवस्थित शौचालय र ५३ वटा विद्यालयमा स्वच्छ खानेपानीको ब्यवस्थापन गरिएको जिल्ला शिक्षा समन्यव इकाई सिन्धुलीले जनाएको छ ।

सरकारले अरबौं लगानीमा गाउँगाउँमा सुन्दर विद्यालय भवनहरुको निर्माण गरेको भएपनि अभिभावकको आकर्षण भने सदरमुकाम र गाउँ–गाउँमा सञ्चालित निजी विद्यालय तिरै देखिएको छ । जिल्ला शिक्षा समन्यव इकाई सिन्धुलीको तथ्यांक अनुसार जिल्ला भरिका ५ सय ५१ सामुदायीक विद्यालयमाहरुमा ७४ हजार ६ सय ११ विद्यार्थी छन भने जिल्लाका जम्मा ५६ संस्थागत विद्यालयमा ११ हजार ३ सय ४६ विद्यार्थी छन । सामुदायीक विद्यालयमा २ हजार ८ सय १५ शिक्षक र संस्थागत विद्यालयमा ३ सय १२ शिक्षक कार्यरत छन ।

गाउँमा बनेका सुन्दर भवन र सरकारी शिक्षा प्रति अभिभावकहरुको विश्वास गुम्नु अर्थात निजी विद्यायल तर्फ आर्कषित हुनमा सरकारी शिक्षाको गुणस्तर कमजोर हुनु र राजनीतिकरण हुनु रहेको नेपाल विद्यार्थी संघ सिन्धुलीका सभापति उत्पल खड्का बताउनुहुन्छ । एकातिर सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कमजोर हुनु अर्कोतर्फ अभिभावकहरु पनि बैदेशिक रोजगारीका कारण आर्थिक हिसाबले सक्षम बन्दै गएका कारण आफ्ना छोराछोरीलाई गुणस्तरिय शिक्षा दिनुपर्छ भन्ने चेतनाले निजी विद्यालयमा अभिभावकको आकर्षण बढ्दै गएको खड्काले बताउनुभयो ।

गाउँमा बनेका सुन्दर सरकारी विद्यालयहरुले माटो सुहाउँदो र जिवनउपयोगी शिक्षा दिन सकिरहेका छैनन्, अनि निजी विद्यालयहरुले अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गरिरहेका छन त्यसैले अभिभावकहरु सरकारी विद्यालय छाडेर निजी विद्यालय तर्फ आर्कषित भएको फिक्कल गाउँपालिका–२ का जयप्रसाद न्यौपाने बताउनु हुन्छ ।

राज्यको लगानी शिक्षामा भएपनि त्यसले समाज उपयोगी प्रतिफल दिन नसक्दा समस्या भएको बताउँदै आगामी दिनमा सवैपक्ष सचेत भएर सरकारी विद्यालयको गुणस्तरबृद्धि गर्दै अभिभावकको मन जित्न सफल बनाउन लाग्नुपर्ने बताउनुभयो ।

त्यस्नै नेपाल शिक्षक संघ सिन्धुलीका अध्यक्ष तथा नमुना विद्यालयको रुपमा सञ्चालनमा रहेको प्रभात उच्च मावि माथिल्लो रानिबासका प्रधानाध्यापक अरुण कुमार थिङ्गले सामुदायीक विद्यालयहरुले आफ्नो शिक्षण सिकाई क्रियाकलापमा सुधार, अतिरिक्त क्रियाकलपाहरुमा जोड, शिक्षक तथा विद्यार्थीहरुको नियमितता, प्रविधि र प्रयोगशाला प्रयोगमा जोड दिन सकेमा सामुदायीक विद्यालय प्रति अभिभावकहरुको आकर्षण बढ्ने बताउनुभयो । उहाँले विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय ब्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघ गठन जस्ता विषयमा अनावश्यक राजनैतिक पनि अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया