शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

ओझेलमा पर्दै सिन्धुलीका माझी समुदायको पहिचान र संस्कृती

मंगलवार , फाल्गुण २, २०७९

सिन्धुली – आफ्नो छुट्टै भाषा, धर्म, सस्कार, सस्कृति र परम्परा भएको नेपालका प्रमुख आदिवासी जनजाति मध्ये माझी जाती पनि एक हो । तर आफ्नै खालका संस्कार सस्कृती भएपनि यस्को उचित संरक्षण र सम्बद्र्धनको अभावमा उनिहरुको जातिय पहिचान र सस्कृती ओझेलमा पर्दै गएको छ ।

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले गरेको वर्गीकरण अनुसार यो जाति अति सिमान्तकृत जनजाति भित्र पर्दछ । खोलाको किनारमा मात्र बसोबार गर्ने यो जातिको पुख्र्यौली पेशा भनेको माछा मार्ने, डुंगा चलाउने र खेतिपातिको काम गर्ने हो । अहिलेसिन्धुली जिल्लामा पुख्र्यौली पेशामा आबद्ध माझी समुदायको संख्या अत्यन्तै न्युन रहेको माभी उत्थान संघका जिल्ला अध्यक्ष बविन्द्रलाल माझी बताउनुहुन्छ । उनिहरुको आफ्नै भाषा , धर्म, सस्कृति र परमरा भएपनि अहिले त्यो लोपहुँदै गएको अवस्था छ । आफ्नो परम्परागत सस्कार र सस्कृतिको रक्षा गर्ने कुरामा माझि जाति स्वयम सचेत हुन जरुरि देखिन्छ भने राज्यले पनि उनिहरुको संरक्षणका लागी समयमा नै उचित कदम चाल्न जरुरी देखिन्छ ।

नेपाल सरकारको २०७८ सालको जनगणना अनुसार सिन्धुलीमा माझी जातिको जनसंख्या १५ हजार भन्दा वढी रहेको छ । देशभरीको जनगणनाको अवस्था हेर्ने हो भने सिन्धुली जिल्ला नै माझन् जातिको बाहुल्य भएको जिल्ला हो । जिल्लाको अत्याधीक उर्वर भुमी मानिने मरिणखोला र कमलाखोला र सुनकोशी गढतिर क्षेत्रमा माझी जातिको बसोबास रहेको पाइन्छ ।

माझी भाषा नगण्य मान्छेहरुले मात्र बोल्ने हुँदा यो भाषाको लोप हुँदै गईरहेको छ । यदी तत्काल कुनै कदम नचाल्ने हो भने लोप नै हुन्छ । कम्तीमा पनि प्राथमिक शिक्षा अनिवार्य रुपमा माझी भाषामा नै पढ्न पाउनु पर्ने माझी जातिको माग छ । यो कुरा लागु गर्न सकिए लोप हुनै लागेको माझी भाषा बचाउन सकिने माझी उत्थान संघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझी बताउनुहुन्छ । माझी समुदायको सस्कृति जर्गेनाका लागी भाषा कक्षा, परम्परागत कोशि पुजा, डकुमेन्ट्री निर्माण, भेषभुषा जर्गेना लगायतका गतिविधीहरु स्थानीय सरकारसँग समन्यव गरेर गरिएको अध्यक्ष माझीले जानकारी दिनुभयो ।

माझीहरु आफूलाई तान्त्रिक धर्मालम्बी भन्ने गर्छन् । पूजाको लागि यो समुदायको कुनै मन्दिर वा मान्छेले बनाएको मूर्ति हुँदैन । जँगल तथा खोलाको किनारमा अस्थाइ रुपमा देव देवीहरुको प्रतीक बनाइ बनाइएको विशेष पवित्र ठाउँ नै यो जातिको लागि पूजा गर्न ठाउँ हो ।

पछिल्लो समय आधुनिकताको प्रभावले माझी समुदायको सांस्कृतिक जीवनशैली धराशायी बन्दै गइरहेको छ । भाषाको लोप हुने क्रम एकदमै तीब्र हुँदै गइरहेको छ । त्यसैले सांस्कृतिक अतिक्रमण कम गरी समय सापेक्ष संस्कृतिको निर्माण तर्फ पाइला चाल्नु र माझी भाषाको संरक्षण गर्नु नै अहिलेको आवश्यकता भएको माझी समुदायका अगुवा श्रीलाल माझी बताउनुहुन्छ ।

आउँदा दिनमा सरकारले माझी जातिलाई माथि उठाउनका लागी र उक्त समुदायको सस्कृतिको सम्बद्र्धनका लागी रणनैतिक योजना बनाएर कार्यान्वयन गर्न सकेमा ओझेलमा परेको माझी जाति र सस्कृति माथि उठाउन सहयोग पुग्ने माझी समुदायका अगुवाहरु बताउछन ।

प्रतिक्रिया