शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा चैत २१ गते ‘भूपू सैनिक सम्मेलन’आयोजना हुने

मंगलवार , फाल्गुण २, २०७९

सिन्धुली – नेपाली सेनाले सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । सेनाले यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी सम्मेलन आयोजना गर्न लागेको हो । सिन्धुलीमा चैत २१ गते हुने सम्मेलनमा करिब २६ हजार पाँच सय ७८ भूपूको सहभागिता हुने अपेक्षा गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा भूपू सैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाटै दिन आयोजना गर्न लागिएको हो । सम्मेलनका क्रममा भूपू सैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयतदरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपू सैनिक र एकलको सम्मान गरिन्छ ।

सम्मेलनका क्रममा भूपू सैनिकको मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी, सैनिक व्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका माता–पितालाई सम्मान तथा अन्तक्र्रिया र छलफल हुनेछ । सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको अवसर पनि हो ।

सम्मेलनमा हुने पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदान प्रदानले वहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्नेछ । देश र संस्थाप्रतिको आस्था र भरोसालाई सम्मान गर्न तथा भूपूले राष्ट्रसेवामा गरेको योगदानको कदर गर्ने अवसरका रूपमा सम्मेलन हुँदै आएको छ ।

सम्मेलनका क्रममा हुने छलफल र अन्तक्र्रियाले भइरहेका प्रयासको मूल्याङ्कन र संगठनलाई योजना तर्जुमामा महत्वपूर्ण सुझाव प्राप्त हुने नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । सेनाले स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपू सैनिकको समाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन सेनाले कोसिस गरिरहेको छ ।

प्रतिक्रिया