सिन्धुली – जिल्लाका विभिन्न स्थानीय तहबाट वैदेशिक रोजगारीमा जानेको संख्या दैनिक बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पासपोर्ट बनाउने आउनेहरु मध्ये कक्षा ११÷१२ मा अध्ययन गर्ने युवाको संख्या अत्याधिक रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रनिशा घिसिङ्गले बताउनुभयो ।
आफ्नो परिवार मात्र नभएर देशनै छाडेर विदेशीन लागेका युवाहरु स्वदेशमा राज्यले कुनै रोजगारीनै दिन नसकेको र बढ्दो वेरोजगारीले गाजेका कारण विदेश जान बाध्य हुनुपरेको यूवाहरु बताउछन । प्रमाणपत्र तह सक्न नपाई विदेशकै सपना बुनेर सदरमुकाम सिन्धुलीमाढीमा राहदानी बनाउन आउनु भएकी कमलामाई नगरपालिका–१० की अनिसा पौडेल भन्नुहुन्छ, “उच्च शिक्षा पढ्न पैसा नभएका कारण विदेशमा गएर पैसा कमाएर आएपछि मात्र पढाइ सुरु गर्ने योजनामा छु ।” उहाँ जस्तै संयौं पढ्दै गरेका युवा युवतीहरु विदेशीने क्रम जारी छ । सिन्धुली जिल्लाबाट पनि वर्षेनी हजारौं युवाहरु रोजगारीको सिलसिलामा खाडि मुलकु प्रवेश गर्ने गरेका छन । भने भारतको विभिन्न् सहरमा गएर अत्यन्तै कठिन परिश्रम गर्न जान बाध्य हुने गरेका छन ।
जिल्लाका विभिन्न् स्थानीय तहका विद्यालय उमेरका युवाहरु धमाधम सदरमुकामा आएर राहदानी बनाएर रोजगारीका लागी विदेशीने लहर नै चलिरहेको छ । अहिले गाउँ गाउँमै उमावि सञ्चालन भएकाले एसएलसी पास गरेर ११ र १२ पढ्दै गरेका युवाहरु बढी विदेश जाने गरेका छन । १२ वर्ष शिक्षामा लगानी गर्दा समेत उनिहरुलाई राज्यले रोजगारी दिन नसकेका कारण उनिहरु विदेश जान बाध्य भएका हुन । राज्यको शिक्षा निति नै अव्यवाहारीक भएका कारण पढ्दै गरेको युवा विद्यार्थीहरु गाउँ छाडेर विदेशीन बाध्य भएको अनेरास्ववियू सिन्धुलीका नेता दिपेन्द्र फुयाल बताउनुहुन्छ ।
कति युवाहरु त एसईइ पास गरेपछि उच्च शिक्षा पढ्न खर्च जुटाउन समस्या भएका कारण पनि विदेशीन बाध्य भएको बताउछन । १२ कक्षा पढ्दै गर्दा उनिहरुको परिवार प्रतिको जिम्मेवारी र बोझ थपिने भएकाले आर्थीक समस्या हुने र त्यो समस्या टार्नका लागी विदेशीने गरेका छन । जिल्लाका विद्यालय उमेरका युवाहरु वैदेशीक रोजगारीमा जाने क्रम दैनिक वढ्दै गएको भएपनि यसलाई रोक्न र स्थानीय स्तरमै उनिहरुलाई जीवन निर्वाहका लागी रोजगारी दिन कसैले ध्यान दिएको पाईदैन । राजनैतिक दलहरुले पनि चुनाब र आन्दोलनको समयमा मात्र युवाहरुलाई प्रयोग गर्ने गरेको र अरु समयमा वास्ता नगर्ने गरेको उनिहरु गुनासो गर्छन ।
केन्द्र प्रदेश तथा स्थानीय सरकारले स्वदेशमा नै उद्योग धन्दा कलकारखाना स्थापना गरेर वा युवाहरुलाई स्वरोजगार हुन ऋण, सहुलियत र अनुदान प्रदान गरेर स्थानीय स्तरमै आत्मनिर्भर बनाउने कुरामा तिनै तहका सरकार गम्भीर भएर लाग्नु पर्ने अनेरास्ववियू सिन्धुलीका नेता फुयाल बताउनुहुन्छ ।