सिन्धुली, १ फागुन - मदन भण्डारी लोकमार्ग अन्तरगत सिन्धुलीको मरिण गाउँपालिकामा आइतवार राती मोटरसाईकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका ७ महेश्वता क्याम्पस चोक नजिकैको नङगेडि पुलनिर रोकि राखिएको ना ३ त १६० नम्बरको ट्याक्टरसँग धमिलेबाट सिन्धुली तर्फ आउदै गरेको बा ५८प ९०९८ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुदाँ मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मरिण गाउँपालिका वडा न ४ का ३३ बर्षका जितेन्द्र माझी र सोही ठाउँका ३२ बर्षका मेष बहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सडकको बायाँ तर्फ रोकि राखिएको ट्याक्टरको पछाडीको टेलरको दाहिने चक्कामा मोटरसाईकल ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) किशोर ढुङ्गानाले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारकोक्रममा मृत्यु भएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको उहाँको भनाई छ ।