सिन्धुली– मिलेर फालौ भ्रष्टाचारको जालो, सुशासन प्रबद्र्धनमा गरौं हातेमालो भन्ने मुल नाराका साथ अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले शनिबार आफ्नो ३२ औं स्थापना दिवस मनाएको छ । आयोगले आफ्नो स्थापना दिवस मनाईरहदा सिन्धुलीका नागरिक अगुवाहरुले भने जिल्लामा ब्यापक रुपमा भ्रष्टाचार बढ्दै गईरहेको गुनासो गरेका छन ।
सिन्धुली, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप कार्यक्षेत्र रहेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा चालु आर्थिक बर्षको माघ मसान्त सम्म ४४७ उजुरी दर्ता भएका छन । श्रावण महिनामा सवैभन्दा बढी ११४ उजुरी दर्ता भएको कार्यालयको तथ्याकंमा उल्लेख छ ।
स्थानीय सरकारको निर्माणसँगै पछिल्लो समय सिन्धुलीमा ब्यापक भ्रष्टाचार र अनियमितता बढ्दै गईरहेको गुनासा, उजुरी र समाचारहरु बारम्बार आउने क्रम भने रोकिन सकेको छैन । जनप्रतिनिधीहरु भ्रष्टाचार र अनियमिततामा जोडिने गरेको तथा स्थानीय तहहरुमा बेरुजु र आर्थिक अनियमितता बढ्दै गईरहेको नागरिकहरुको गुनासो रहेको छ ।
राष्ट्रिय गौरबका आयोजना तथा केन्द्र, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित आयोजना र योजनाहरुमा ब्यापक अनियमितता र भ्रष्टाचार हुने गरेका भएपनि नियमनकारी निकायको रुपमा रहेका कार्यालयहरुको प्रभावकारीता भुमीका नदेखिएको नागरिक अगुवाहरुको गुनासो छ ।
सिन्धुलीको स्वास्थ्य, शिक्षा, स्थानीय विकास लगायतका क्षेत्रहरुमा व्यापक भ्रष्टाचार हुने गरेको भएपनि सम्बन्धीत निकायले ध्यान नदिएको गुनासो गर्नुहुन्छ नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरे । नागरिक प्रति अझ बढी उत्तरदायी र जवाफदेहि हुनुपर्ने जनप्रतिनिधीहरु नै भ्रष्टाचार र अनियमितताको कारण बन्न पुगेको घिमिरेले बताउनुभयो । स्थानीय तहहरुमा करोडौं बेरुजू हुनु लज्जास्पद बिषय भनेको उहाँ बताउनु हुन्छ ।
आफुले पटक–पकट अख्तियार, मन्त्रालयहरुमा समेत मौखीक रुपमा उजुरी गरेको भएपनि आफ्नो उजुरी प्रति सम्बन्धीत निकायका जिम्मेवार व्यक्तिले सुनुवाई नगरेको भन्दै कमलामाई नगरपालिका–६ का दिपक मिश्रले आक्रोश ब्यक्त गर्नुभयो । विकास आयोजना र सरकारी कार्यालयमा ब्यापक भ्रष्टाचार हुने गरेको तर उजुरीको सुनुवाइ नभएको मिश्रको गुनासो छ ।
जिल्लामा सरकारी अड्डाहरुमा भ्रष्टाचार बढ्दै गएको भएपनि त्यसको निराकरणका उपाय र अख्तियार सम्म पुग्ने बाटो थाहा नपाउँदा स्थानीय नागरीकहरु अलमलमा परेकोले स्थानीय स्तरका नागरीकहरुलाई अख्तियारको दुरुपयोगको बारेमा जानकारी गराउन आवश्यक रहेको मिश्रले बताउनुभयो । निजी क्षेत्रमा पनि भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको कारण निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्वाहीको दायरामा ल्याउनुपर्ने मिश्रको भनाई रहेको छ ।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान जिल्ला समन्यव समिति हुने गरेको भएपनि उक्त समितिले खासै सक्रियता देखाउन सकेको अवस्था छैन ।
सिन्धुली पछिल्लो समय व्यापक भ्रष्टाचार बढ्दै गएको भएपनि सम्बन्धीत निकायले त्यसको निराकरणको लागी खासै ध्यान नदिएको र स्थानीय नागरिकहरुमा उजुरी गर्न सक्ने चेतना नभएको कारण दिनदिनै भ्रष्टाचार र अनियमितता मौलाउँदै गएको नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहाल बताउनु हुन्छ ।
समाजमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रबद्र्धन गर्ने, विकास कार्यक्रमहरुलाई मितव्ययी, गुणस्तरीय, सेवामुलक र बनाई देशको तिब्र विकास गर्ने, सर्वसाधारणले सरकारी तथा सार्वजनिक निकायहरुबाट पाउनु पर्ने सेवा सुविधालाई बढी प्रभावकारी बनाउने उदेश्यले आयोगले देशैभरि सक्रियता बढाएको भएपनि सिन्धुलीमा भने खासै आफ्नो सक्रियतालाई बढाएको देखिदैन ।
प्रमख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बढ्दै गएको भ्रष्टचार अनियमितालाई अन्त्य गर्न नागरिकहरु नै बढि सचेत हुनुपर्ने बताउँदै नागरिकहरुलाई लिखित वा मौखिक रुपमा उजुरी गर्न आग्रह गर्नुभयो ।
अहिले स्थानीय निकायमा भ्रष्टाचार बढेकोले आयोगले यसलाई प्राथामिकतामा राखेर काम गरिरहेको बताउँदै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रमुख गोपाल कुमार अधिकारीले जिल्लामा कसैले अख्तियारको दुरुपयोग गरेको उजुरी दिनुपरेमा आफ्नो मोवाईल नं.९८५४०३१४५६ तथा बर्दिबास उपक्षेत्रको फोन नं.०४४–५५०६८६ मा सम्पर्क गर्न समेत अधिकारीले आग्रह गर्नुभयो ।
ट्रान्परेन्सी इन्टरनेशनल नेपालको सन् २०२२ को प्रतिवेदन अनुसार नेपालले भ्रष्टाचार अनुभूती सूचांकमा कुल ३४ अंक प्राप्त गरी ११० औं स्थानमा रहँदा विगतको तुलनामा केही सुधार देखिएतापनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्बनका सन्दर्भमा नेपाल अझै जोखिमपूर्ण स्थानमानै रहेको देखाएको छ ।