सिन्धुली — कमलामाइ नगरपालिका – १४ तल्लो रानिबासका स्थानिय ज्ञानेन्द्रराज खड्काले जंगलीहात्तीको त्रासले सिंगो समुदाय त्रसित बनेको गुनासो ब्यक्त गर्नुभयो ।
पछिल्लो दुई दिनमा जंगली हात्तिले कमलामाइ नगरपालिकाका – १४ तल्लो रानिबासको चार स्थानियको घरमा क्षति पुर्याएको छ भने घरमा राखेको अन्नबाली नष्ट गरेको छ ।
स्थानियको घरमा क्षती पुर्याएको खबर पछि अनुगमनको लागी कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल बिहिबार घटनास्थल पुग्नुभएको थियो । मेयर संगको भेटमा स्थानियले गुनासो गर्दै भने, “हात्तीको त्रासले गर्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।” हात्तिले आफुले भण्डारण गरेको अन्न सखाप पारेको र घरको भित्ता भत्काइदिएको गुनासो गर्दै स्थानिय गोविन्द खड्काले हात्तीको त्रासले बिगौ जग्गामा अन्नबाली लगाउन छाडिएको गुनासो गर्नुभयो ।
गहु मकै उत्पादनको उर्भर भुमी रहेको तल्लो रानिबास क्षेत्रमा जंगली हात्तीको त्रासले कुनै बाली नलगाईएको स्थानियको गुनासो छ । धान, गहुँ, मकै लगाएतको अन्नबाली लगाउदा झनै जंगली हात्ती बस्तीमा आउने हुँदा र त्यसले मानबिय तथा भौतिक क्षती झनै हुने डरले खेतबारिमा अन्नबाली लगाउन छाडिएको स्थानिय सन्तबहादुर माझीले बताउनुभयो ।
“अहिले हाम्रो यता गहुँको बीउ समेत पाउन छोडिसक्यो । सबै खेतबारी बाझै जस्ता भएका छन” उहाँले भन्नुभयो । पछिल्लो दुई दिनको अबधीमा कनपा –१४ तल्लो रानिबासका चार घरमा जंगली हात्तिले क्षति पुर्याएको छ । हात्तीले स्थानीय आइते माझी, सन्तबहादुर माझी, सन्तोष न्यौपाने र गोविन्द खड्काको घरमा क्षति पुर्याएको हो ।

अनुगमन पश्चात् नगरप्रमुख पोखरेलले केही वर्ष बिराएर आउने हात्ती अहिले वर्षकै दुई÷तीन पटक ओहोर दोहोर गरेर किसानलाई दुःख दिएको र समुदायमा त्रासको अबस्था सृजना भएको बताउनु भयो । “हात्तीखर्क, हात्तीसार जस्ता ठाउँहरु हात्तीको पुख्र्यौली थलो भएकाले उनीहरुले आफ्नो रुट प्रयोग गरेको जस्तो देखिन्छ,” उहाँले भन्नुभयो, “जंगलमा फलफुलको भण्डार रित्तिएकाले हात्तीहरू मानव बस्तीमा खाना खोज्दै पसेका हुन् ।दीर्घकालीन समाधानका लागि जंगलमा फलफुल नरोपी सुखै छैन ।”
हात्तीले पु¥याएको क्षतिको वडा कार्यालय मार्फत् विवरण संकलन गरेर पीडितलाई राहत वितरण गरिने उहाँको भनाइ छ । त्यसको लागी हाती निस्किने गरेका प्राय रुटमा सडक बत्तिको मात्रा तत्काल थप गरिने समेत पोखरेलले बताउनु भयो ।
राष्ट्रिय निकुञ्ज संग समन्वय भइरहेको र हातीलाई कसरी यहाँबाट लैजान सकिन्छ त्यो बारे पनि सम्बन्धित निकाय संग परामर्श भइरहेको नगरप्रमुख पोखरेलको भनाइ छ । सिन्धुलीको रानिबास, जगाडि लगायत क्षेत्रमा बर्षेनी आउने जंगली हात्तिको आक्रमणबाट अहिलेसम्म दर्जन बढिको मृत्यू समेत भैसकेको छ । हात्तिको आक्रमणबाट बच्न सामुदायीक बन उपभोक्ता समिति, स्थानीय सञ्चारमाध्यमहरु सँगको सहकार्यमा विभिन्न् सुचना तथा सन्देश प्रवाह गर्ने काम बन डिभिजन कार्यालय सिन्धुलीले गरिरहेको बन डिभिजन कार्यालयका सुचना अधिकारी हेम बहादुर थापालले बताउनुभयो ।
कार्यालयले हात्तिको जोखिम न्यूनिकरणका साथै जंगली जनावरहरु हात्ति, बदेल, बाघ, चिउवाको आक्रमणबाट हुने भौतिक तथा मानवीय क्षतिमा परेको परिवारलाई क्षतिपूर्ती समेत बितरण गर्ने गरेको थापाले जानकारी दिनुभयो ।