सिन्धुली– सिन्धुलीको गाउँ गाँउमा दुई दशक अगाडिसम्म कुवा र पोखरी ठाउँठाउँमा भेटिन्थे । पोखरीमा भैँसीलाई आहाल खेलाउने र त्यहाँको पानी पशुचौपायालाई खुवाउने गरिन्थ्यो । कुवाको पानी भरेर स्थानीयवासीले उपभोग गर्थे । अहिले हरेक घरमा खानेपानीको धारा बनेका छन् । त्यसले गर्दा कसैले पनि कुवा र पोखरीको पानी बोक्नु परेको छैन ।
स्थानीयवासीले कुवा र पोखरीको पानी बोक्न छोडेको पनि दशक बितिसक्यो । प्रयोग हुन छोडे पनि पोखरी सुक्खा जमिनमा परिणत भए । गाउँमा जथाभावी सडक निर्माण गर्दा कुवा पनि सुक्दै गए । हराउँदै गए । अहिले यी कुनै पनि गाउँमा कुवा भेटिँदैनन् । पोखरी पनि भेट्टाउन मुस्किल पर्छ । बूढापाकाले पानीको मुहान संरक्षणका लागि पनि पोखरी बनाउने र बाह्रै महिना पोखरीमा पानी हालिराख्थे । तर अहिले कसैले पनि त्यसतर्फ ध्यान दिएको पाइँदैन ।
“अहिले सबैको घरमा धारा बनेका छन्, कसैलाई पनि पोखरी र कुवामा गएर पानी बोक्नु पर्दैन, हुन त अहिले पोखरी र कुवा भेट्टाउन पनि सकिँदैन”, कमलामाई – ३ चपौलीका ७९ वर्षीय पद्मनाथ देबकोटले भन्नुभयो, “१०/१२ वर्षअघिसम्म गाउँको धेरै ठाउँमा पानीका मुहान थिए, पोखरीमा भैँसीलाई आहाल खेलाइन्थ्यो, अहिलेको जस्तो धारा थिएनन्, कुवाकै पानी खाएर हामी हुर्किएको हो ।”
उहाँ विकाससँगै गाउँमा विनाश पनि हुँदै गएको बताउनुहुन्छ । देबकोटाले गाउँमा जथाभावीरूपमा खनिएका सडकले पानीको मुहान सुक्नुका साथै कुवा र पोखरी हराएको बताउनुभयो । पछिल्लो समय खानेपानीको मुहान पनि सुक्दै गएकोप्रति देबकोटाले दुःख व्यक्त गर्नुभयो । पोखरी मौलिक सम्पदा भएको भन्दै यसको संरक्षणमा अहिलेको पुस्ताको ध्यान नगएको उहाँ बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “पहिलेको जस्तो गाईभैँसीलाई पोखरीमा लगेर पानी खुवाउने चलन हराए, अहिले गाठेमै खानेपानीको पाइप पुगेका छन्, पशुचौपायले पनि सफा पानी पिउन पाएका छन्, गाउँमा पहिलेको जस्तो प्रशस्त पानीको मुहान छैनन्, धेरै ठाउँमा मुहान सुकिसके, पोखरी त कतै बाटोमा परिणत भएका छन् त कतै, बेवारिसे बनेका छन्, कुवा, धारा र पोखरीको संरक्षण गर्दा धर्म संरक्षण हुन्छ, पाप पखालिन्छ भन्थे बूढापाका, अहिले त कसले संरक्षण गर्ने ?”
दुधौली – १ का गुणराज बरालले दुधौली क्षेत्रमा पछिल्लो समय पानीको मूल सुक्ने समस्या गम्भीररूपमा बढिरहेको बताउनुभयो । परापूर्वकालदेखिका मूल, कुवा, पँधेराको मर्मतसम्भार तथा संरक्षणको विषय स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको उहाँको गुनासो छ । पोखरी संरक्षणबाट पानीको मूललाई जोगाउन भनेर स्थानीय तहले कार्यक्रम बनाउनसके वातावरणमा सुधार आउने बरालकोको भनाइ छ ।
“पहिलेपहिले बाटोघाटोमा धारो बनाउने, पोखरी बनाउने र कुवा संरक्षण गरे पुण्य कमाइन्छ भन्ने प्र्रचलन थियो, त्यसले गर्दा खानेपानीको समस्या हुँदैनथ्यो, जहाँ गयो, त्यहीँ प्रशस्त पानी पाइन्थ्यो, खै अहिले कहाँ छन् ती पोखरी, कुवाहरू ?” उहाँले भन्नुभयो, “यस्ता सम्पदा त गाउँलेले पनि संरक्षण गर्नुपर्ने हो, तर कसैले ध्यान दिँदैनन् ।”
कुवा र पोखरीको संरक्षण नगर्दा खानेपानीको समस्या पर्दै आएको छ । सिन्धुलीको ग्रामिण क्षेत्रका स्थानीयले दुई दशक अगाडि गाउँमा प्रशस्त खानेपानी रहेको स्मरण गर्दै अहिले दैनिक खानेपानीका लागि घण्टौँ धाउनुपर्ने बाध्यता रहेको बताउछन ।
“पहिला हाम्रा बाउबाजेले पानीका मुहानको निकै संरक्षण गर्थे, जहाँ मूल छ, त्यहाँ बार लगाएर राख्थे, रुख बिरुवा रोप्थे तर अहिले, रुख बिरुवा रोप्नेभन्दा बढी काट्न, ढाल्ने छन्, त्यही भएर पनि होला यो गाउँमा खानेपानीको यति धेरै समस्या परेको”, तिनपाटन –२ का रमेशकार्कीले भन्नुभयो।