शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

मरिण गाउँपालिकामा कक्षा १२ सम्म निःशुल्क शिक्षा

बिहिवार , माघ १९, २०७९

सिन्धुली,– सिन्धुलीको मरिण गाउपालिकाले आफ्नै आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाई पूर्ण रूपले निःशुल्क गरेको छ ।

सरकारले हालसम्म कक्षा आठसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि मरिण गाँउपालिकाले आफ्नै आन्तरिक स्रोतमा कक्षा १२ सम्मको पढाईलाई निःशुल्क बनाएको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका अनुसार माध्यमिक तहसम्मको पढाइ निःशुल्क गर्ने गाँउपालिकाको नीति अन्तर्गत गाँउसभाबाट पारित गरी कक्षा १२ सम्मको पढाई निःशुल्क व्यवस्था गरेको हो ।

प्रति बिद्यार्थी बार्षिक कक्षा ९ मा अध्ययनरतलाई दुई हजार चार सय, कक्षा १० मा अध्ययनरतलाई तीन हजार रुपैया, कक्षा ११ मा अध्ययनरतलाई पाँच हजार र कक्षा १२ मा अध्ययनतरलाई चार हजार पाँच सयका दरले विद्यालयलाई अनुदान उपलब्ध गराएर कक्षा १ देखि १२ सम्मको पढाई निःशुल्क व्यवस्था गरेको गाँउपालिकाका शिक्षा शाखा प्रमुख नबराज बरालले जानकारी दिनुभयो ।

उहाँल भन्नुभयो, “त्यसका लागि विद्यार्थीको हाजिर ७५ प्रतिशत पुगेको हुनु पर्दछ । हाजिर ७५ प्रतिशत पुगेन भने अभिभावकले नै उक्त शुल्क तीर्नु पर्दछ । विद्यार्थी भर्ना गर्ने बेलामा नै अभिभावक बोलाएर सचेत गराएको हुन्छ । विद्यार्थीले विद्यालयलाई तीर्ने पढाई शुल्क गाँउपालिकाले तिरि दिएको हो ।”

विद्यार्थीको हाजिर सहितको रेकर्ड विद्यालयलाई चार/चार महिनामा पठाउने र सोही आधारमा गाँउपालिकाले विद्यालयलाई अनुदान उपलब्ध गराउदै आएको उहाँको भनाई छ । उहाँका अनुसार गाँउपालिकामा रहेका ४८ वटा सामुदायिक विद्यालयमध्ये कक्षा ११ र १२ सञ्चालन भएका दुई वटा, कक्षा ९ र १० सम्म सञ्चालन भएका सात वटा विद्यालय रहेका छन् ।

उक्त पालिकाभित्र विपन्न परिवारहरु पनि धेरै रहेका र कतिपयले आफ्ना बालबालिकाको पढाई शुल्क तीर्न नसक्दा बाध्य भएर कक्षा छाड्न बाध्य भएर आएका थिए । गाँउपालिकाले पढाई शुल्क तिरि दिएपछि विपन्न वर्गका बालबालिकाले पनि कक्षा १२ सम्म पढ्ने अवसर पाएका र अभिभावकलाई पनि राहत भएको गाँउपालिकाले जनाएको छ ।

शिक्षा र खानेपानी निःशुल्क उपलब्ध गराउने अभियानमा गाँउपालिका लागेको र सोही अनुरुप काम पनि हुदै गएको गाँउपालिका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिनुभयो । जिल्लाका नौ वटा स्थानीय तहमध्ये सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाई निःशुल्क गराउने मरिण गाँउपालिका पहिलो रहको छ ।

प्रतिक्रिया