सिन्धुली, – दुधौली नगरपालिका–२ भलुवाही निवासी किसान गुणराज बरालको झण्डै १० कठ्ठा खेत अहिले तोरी फुलेर सुन जस्तै पँहेलपुर बनेको छ । नजिकैको मदन भण्डारी राजमार्गमा सबार जो कोही यात्रु पनि आँखा लोभ्याउने सौन्दर्यबाट आकर्षित भई फोटो खिच्न पुग्दछन् ।
तोरीधनी किसान बरालले भन्नुभयो, “यतिखेर दुधौली नगरपालिका अन्तर्गतको कँमलाखुज क्षेत्रको खेतबारीमा तोरी ढकमक्क फुलेर पँहेलपुरमय भएको छ । यतिखेर तोरीबारीमा फोटो खिच्ने र टिकटक बनाउनेको कमी पनि छैन ।”
तोरीबारीमा भुनभुनाउने मौरी र भमराले झनै मन लोभ्याउने गरेको उहाँले सुनाउनुभयो । तोरीबारीले किसान बराललाई आम्दानी मात्र दिएको छैन, खेतबारीमा आउने आन्तरिक पर्यटक देख्दा मनलाई आनन्दित बनाउने गरेको छ । मदन भण्डारी राजमार्ग हुदै जिल्ला सदरमुकाम सिन्धुलीमाढी हिड्नु भएका कमलामाई नगरपालिका–५ निवासी पुरन मगर पनि भुलुवाहीमा तोरीबारीमा फोटो खिचि रहनु भएको थियो ।
“सदरमुकामबाटै दुधौलीको डकाहामा भएको एक कार्यक्रममा आएको थिए,” उहाँले भन्नुभयो, “तर तर फर्किदा कमलाखुँजको फाँटमा देखिएको सुनजस्तै पँहेलपुर तोरीबारी छोड्न मन लागेन र पोज पोजको फोटो खिच्दै छु ।” त्यसो त स्थानीय किसानका अनुसार जिल्लामै अन्न भण्डारको रुपमा रहेको कमलाखुँज क्षेत्रमा दलहन बाली अन्तर्गत तोरी खेती राम्रो हुने गरेको छ ।
“कमलाखुँज क्षेत्र तोरी खेतीका लागि ख्याती कमाएको ठाँउ हो,” दुधौली नगरपालिका–१ निवासी किसान उद्ब देवकोटा भन्नुहुन्छ, “तीन दशक अघिसम्म यस क्षेत्रबाट तोरी बाहिर निकासी हुन्थ्यो । २०५० सालमा कमला नदीमा आएको यहाँको सयौ बिघा जमिन बगाएपछि तोरी खेती खुम्चिएको छ । कमला नदीले बगाएर बाँकी रहेको खेतबारीमा किसानले तोरी खेती गरेका छन् । त्यसबाट उनीहरुले घर खर्च धानेका छन् ।”
उहाँका अनुसार तोरीको गुन्द्रुक पनि खान स्वादिष्ट हुनुका साथै तेल बहुउपोगी मानिन्छ । खानका लागि होस् वा मालिस गर्नका लागि सुत्केरी, नवजात शिशु, बुढापाकाको शरीरमा मालिस गर्न तोरीको तेल नै खोजिन्छ । नदीले बगाएर बाँकी रहेको जमिनमा गरिएको तोरी खेतीले भने हिउदको समयमा कमलाखुँज क्षेत्रलाई अझै पँहेलपुर सिङ्घार्ने गरेको उहाँको ठम्याई छ ।
कमला नदीको कटानबाट बर्सेनि कमलाखुँज क्षेत्रमा तोरी खेती हुने मुख्य ठाँउहरु हत्पते, रानीबास, निपाने, हर्षाही, टाँडी, दुधौली, सिर्थौली र कमलामाई नगरपालिकाका वडा नं. ९, १०, १३ र १४ नम्बर वडाका किसानहरु प्रभावित हुदै आएका छन् ।
दुधौली नगरपालिका–६ हर्षाही निवासी किसान दुर्गाबहादुर घिसिङ् कमला नदीमा आएको बाढीले आफ्नो सात कठ्ठा खेत बगाएपछि तोरी खेती गर्ने जग्गा अभाव भएको बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यो बर्ष करिब पाँच हजार हेक्टरमा तोरी खेती लगाइएको छ । तोरी खेती जिल्लाको नौ वटै स्थानीय तहमा हुदै आएको छ ।
गत बर्ष जिल्लामा चार हजार ८९७ हेक्टरमा तोरी खेती गरिएको र चार हजार ४७७ मेट्रिकटन तोरी उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।