सिन्धुली – कुनै पनि सहरको स्वछ, सफा र स्वस्थ्य वातावरणले त्यस सहरको सुन्दरता झल्काउनुको साथ साथै त्यहाँ बसोबास गर्ने नागरिकहरुको स्वास्थ्य जीवनयापनका लागि पनि सहयोग गर्दछ । नगरको वातावरण संरक्षण, सम्वद्र्वन र सुधारका लागि नगर क्षेत्रका सबै पक्षको समान दायित्व र जिम्मेवार हुन्छ । नगरको वातावरण प्रदुषण हुने विभिन्न कारणहरु मध्ये नगर क्षेत्रमा उत्पादन हुने फोहरमैलाको उचित व्यवस्थापनको अभाव पनि एक प्रमुख कारण हो ।
त्यसैले नगरपालिकाले यसको व्यवस्थापनको लागि नगरवासीको पनि सक्रिय सहयोग र सहभागिता विकास गर्ने नीति लिन जरुरी छ । फोहरको उत्पादन मात्रा कम गर्न, फोहरको सदुपयोग गर्न र व्यवस्थापन गर्न समुदायमा आधारित दिगो सरसफाई कार्यक्रमको अवधारणालाई नगरपालिका कार्यालयले प्रमुखताका साथ अगाडि बढाउन जरुरी छ ।
तर कमलामाई नगरपालिका कार्यालयले यस्ता विषयलाई प्रभावकारी ढंगले अगाडि नबढाउँदा नगरक्षेत्र विस्तारै कुरुप र दुर्गन्धीत बन्दै गएको छ । कार्यालयको प्रभावकारी निती र कार्यक्रमको अभावका कारण पनि नगर क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या उत्पनन् हुँदै गएको छ ।
सिन्धुलीमाढी बजारमा दैनीक निस्कने गरेको फोहोरको उचित व्यवस्थापन नहुँदा नगरक्षेत्रको स्वरुपनै कुरुप बन्दै गएको छ भने असरल्ल रहेको फोहोरका कारण बातावरणीय असर त परेको नै छ, मानवीय स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गईरहेको छ ।
हुनत कमलामाई नगरपालिका कार्यालयले नगरक्षेत्रको सरसफाई नै केहि गरेको छैन भन्ने होइन । दैनीक रुपमा स्वीपर र गाडीको प्रयोग गरेर फोहोर संकलन गरी डम्पीङसाईडमा पुर्याउने नै गरेको छ तर दैनीक प्रयोग हुने नगरपालिकाको जनशक्ति, श्रोत र साधनले समेत सरसफाई प्रभावकारी नभएका गुनासाहरु बारम्बार आउने गरेका छन ।
पटक–पटक सरसफाईको अभियाननै चलाएर सफा गरिएको ग्वाङखोला क्षेत्र फेरी फोहोर मैलाले दुर्गन्धीत र कुरुप बनेको छ भने बजार र बसपार्क क्षेत्रमा पनि फोहोरको उचित व्यवस्थापन हुन सकेको अवस्था देखिदैन ।
कमलामाई नरपालिका कार्यालयले फोहोर व्यवस्थापनका लागी बर्सेनी लाखौं रुपैयाँ खर्चेर दुई किलोमिटर क्षेत्रमा डम्पीङ साइड निर्माण गरेको भएपनि बजार क्षेत्रमा उत्पादीत फोहोर समयमा उठाएर डम्पीङ नगर्दा यस्तो अवस्था आएको स्थानीयहरु बताउछन ।
बजार क्षेत्रबाट निस्कीएको फोहोर, केश, कुखुराको भुत्ला, वियर, विभिन्न रक्सीको बोतल, सडेगलेको होटलका खाद्य परिकारहरु बसपार्क क्षेत्र आसपासका खोला किनारमा मिल्किने गरेको भएपनि फोहोरलाई जथाभावि मिल्काउनेहरुलाई कार्वाही गर्ने नगरपालिकासँग कुनै नियम र संयन्त्र नै छैन ।
नगरवासीहरु पनि नगरक्षेत्रलाई सुन्दर राख्ने कुरामा जिम्मेवार बन्न र बनाउन जरुरी देखिन्छ भने नगरपालिका क्षेत्रलाई सुन्दर बनाउने कुरामा नगरपालिका कार्यालयले बजार तथा फुटपाथको व्यवस्थापन, खुल्ला चर्पी नियन्त्रण, सरसफाईलाई प्रभावकारी बनाउन कडा नितीको निर्माण र उजुरीहरु उपर छानबिन तथा कार्बाही जस्ता कामलाई पनि अगाडि बढाउनु पर्ने आवश्यकत्ता देखिन्छ भने फोहरलाई हेर्ने, बुझ्ने व्यवस्थापन गर्ने दृष्टिकोणमा सुधार ल्याउन जनसहभागिता मूलक दिगो फोहोर व्यवस्थापनको अवधारणा अवलम्बन गर्न जरुरी छ ।
कमलामाई नगरपालिका कार्यालयले दैनीक सरफाई, फोहोरमैलाको दिर्घकालिन ब्यवस्थापन, डम्पींग साइडको ब्यवस्थापन लगायतको कार्य भैरहको कमलामाई नगरपालिका सिन्धुलीका बातावरण शाखा प्रमुख सागर कुमार ढकालले बताउनुभयो ।
प्रयोग गर्न लायक छैन सार्वजनिक शौचालय
खुल्ला दिशामुक्त बनाउन नगरपालिका कार्यालयले सार्वजनिक शौचालयहरुको निर्माण गरेको भएपनि सार्वजनिक शौचालयहरु प्रयोग गर्न लायक अवस्थामा छैनन । बसपार्क, शान्तिनगर, हाटबजार लगायतका स्थानमा निर्माण भएका सार्वजनिक शौचालय प्रयोग गर्न लायक अवस्थामा छैनन ।
शौचालयमा पानी नहुनु, जथाभावी दिशा पिसाब गर्नेदेखि ध्रुमपान गर्दा पनि शौचालय फोहोर हुने गरेको छ । सार्वजनिक शौचालयहरुमा प्याड व्यवस्थापनका लागि डस्टविन नराख्दा जहाँ पायो त्यहीँ फाल्ने र जाम गराउने गरेको पाइएको छ । शौचालयमा पानी नहुनु, चुकुल नहुनु, खाली बोतल ढंगङ्गा प्यानमा राख्दा जाम हुनु र जथाभावी फोहोर गर्दा समस्या हुने गरेको छ । कमलामाई नगरपालिकामा कार्यालयले नगर क्षेत्रमा ७ वटा सार्वजनिक शौचालय ठेककामा लगाएको भएपनि त्यसको नियमति अनुगमन गर्न नसक्दा नागरिकले गुणस्तरीय सेवा पाउन सकिरहेका छैन्न ।