सिन्धुली– सरकारले आन्तरिक सेवा प्रवाहमा नागरिक प्रति जवाफदेही र जनमैत्री प्रशासन निर्माणका लागी सरकारी सेवा प्रदायक निकायलाई सुदृढ गर्नका लागी र कर्मचारीहरुलाई जनउत्तरदायी बनाउन आन्तरिक सुदृढीकरणका लागी आन्तरिक सेवा सुदुढीकरण अभियान अन्र्तगत २०७१ सालदेखी विधुतीय हाजिरी प्रणालीको सुरुवात गरेपनि सिन्धुलीका अधिकांश सरकारी कार्यालयहरुले त्यसको प्रयोग गरेका छैनन ।
सरकारी कार्यालयहरुले प्रबिधिको प्रयोग गरी कार्यालयमा हुने हाजिरीलाई चुस्त दुरुस्त बनाई समयलाई मितब्ययी कायम गरि सेवा प्रवाहलाई जनमुखी एबम् उत्तरदायी बनाउन इ हाजिरी गर्नुपर्ने कानुनी ब्यवस्था भएपनि सिन्धुलीका अधिकांश सरकारी कार्यालयहरुले त्यसको प्रयोग गरेका छैनन ।
जिल्ला भरिका सरकारी कार्यालयहरुको नियमन गर्ने निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुली ले नै इ हाजिरीको प्रयोग गरेको छैन भने जिल्लाका सेवाग्राहीहरुको भिडभाड हुने मालपोल कार्यालय, नापी कार्यालय देखी प्राय सवै कार्यालयहरुमा इ हाजिरीको प्रयोग छैन ।
जिल्ला स्थित सरकारी कार्यालयहरुले इ हाजिरीको प्रयोग गनुपर्ने नियम भएपनि सकारी कार्यालयहरुले त्यसको प्रयोग गर्ने गरेका छैनन । इ हाजिरीको प्रयोग नहुँदा कर्मचारीहरु समयमा कार्यालयमा नआउने र सेवाग्राही प्रति जवाफदेही नहुने सेवाग्राहीहरु बताउछन ।
आन्तरिक सुदृढीकरणका आधारभुत कुराहरु इ हाजिरी, सिसी क्यामेरा लगायतका प्रविधी जिम्मेवार निकायले नै प्रयोग नगर्दा कर्मचारीहरुको मनोमानी चल्ने गरेको नागरिक निगरानि सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य तलब भत्ता खाएको कर्मचारी समय र जिम्मेवारी प्रति जवाफदेही छैन, नियमन गर्ने प्रविधीको प्रयोगमा पनि सरकारी निर्देशनको पालन गरिएको देखिएन ।” सरकारी निकायले आन्तरिक सेवा प्रवाहमा मन्त्रालय र विभागले गरेका निर्देशनलाई कार्यान्वयन नगरी अटेर समेत गर्ने गरेको र त्यसका कारण नागरिकले सेवा प्राप्तीमा सम्स्या झेल्नु परेको दाहालले बताउनुभयो ।
आन्तरिक सेवा सुदृढीकरणका लागी सरकारी कार्यालयहरुले सिसी क्यामेरा जडान, विद्युतीय हाजिरी प्रणाली, वेवसाइड निर्माण तथा नियमित गतिविधीको सार्वजनिक गर्नुपर्ने प्रावधान रहेपनि सिन्धुलीका संघीय, प्रदेश तथा स्थानीय सरकार मातहत रहेका कार्यालयहरुले त्यसको कार्यान्वयन गर्ने गरेका छैनन ।
कमलामाई नगरपालिका कार्यालयले आफ्नो मातहतका सवै कार्यालयहरु र विद्यालयहरुमा समेत विधुतीय हाजिरीको प्रयोग सुरु भएको जनाएपनि इन्टरनेत सुविधाको विस्तार नहुँदा प्रभावकारी बन्न सकेको अवस्था देखिदैन ।