शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमाढीमा सिसी क्यामेरा छन्, प्रयोग छैन

मंगलवार , माघ १०, २०७९

सिन्धुली– सुरक्षा निगरानीका लागि लाखौं खर्चिएर जडान गरिएका सिन्धुलीमाढी बजारका सिसी क्यामेरा बिग्रिएर प्रयोगविहीन हुन थालेका छन् । सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने बजारका मुख्य सडक र चोकहरूमा जडान गरिएका सिसी क्यामेरा चट्याङ, अनियमित विद्युत आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन बनेका हुन् ।

उद्योग बाणिज्य संघको अगुवाईमा तत्कालिन जिल्ला विकास समिति, कमलामाई नगरपालिका र जिल्लाका वैंक तथा वित्तिय संस्थाहरुको सहयोगमा २०७३ सालमा २२ लाख खर्च गरेर २२ वटा सिसी क्यामेरा जडान गरिएको भएपनि मर्मत संभारका लागी पर्याप्त बजेट नहूँदा त्यसले निरन्तरता पाउन सकिरहेको थिएन । आर्थिक वर्ष २०७५/७६ मा कमलामाई नगरपालिकाको प्रविधीयुक्त सहर निर्माण गर्ने अभियान अन्र्तगत १ करोड १६ लाख रुपैयाँ खर्चेर सडकमा सोलार बत्ति तथा सिसी क्यामेरा जडान गरिएको थियो । तर नियमित मर्मतका लागी बजेट ब्यवस्थापन नहुँदा निरन्तर सञ्चालन र ब्यवस्थापनकै समस्यामा सिसी क्यामेरा प्रभावकारी बन्न् सकिरहेको अवस्था छैन ।

प्रविधिको प्रयोगले सुरक्षा अवस्था निगरानी गर्ने उद्देश्यका साथ कमलामाई नगरपालिकाको सहयोगमा ४ बर्ष अगाडि जडान गरिएको ८४ ओटा सिसी क्यामेरा मध्ये ५७ वटा सिसी क्यामेरा अहिले बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेका छन । सिसी क्यामेराको मर्मतका लागी र प्राविधिक जनशक्तिका लागी जिल्ला प्रहरी कार्यालय र कमलामाई नगरपालिका लगायतका निकायले दिगो श्रोतको ब्यवस्थापन गर्न तर्फ ध्यान दिन सकिरहेको छैन ।

अपराध नियन्त्रण र प्रमाण सकंलनको भरपर्दो माध्यमका रुपमा प्रयोग भइरहेका सिसी क्यामेराहरू बिग्रिँदा जिल्लामा सुरक्षा चुनौती बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रबक्ता प्रहरी नायब उपरिक्षक हरिकृष्ण केसीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ मर्मत संभारका लागी कमलामाई नगरपालिकामा पत्र लेखेर पठाइएको भएपनि प्रक्रिया लामो भएका कारण मर्मत र सञ्चालन हुन सकिरहेको छैन, यस्का कारण अपराध अनुसन्धानमा हामीलाई समस्या पर्ने गरेको छ ।”

प्रबक्ता केसी भन्नुभयो “सिसी क्यामरा हुँदा हामीलाई दुर्घटना गराएर भाग्नेहरूलाई समाउन धेरै सजिलो भएको थियो । हामीले यसरी भागेकाहरूलाई सिसी क्यामेराको सहायताले नियन्त्रणमा लिन सफल भएका थुप्रै उदाहरणहरू पनि छन् । यो सँगै सिसीटिभी हुँदा कुनै पनि घटनाको अनुसन्धान,विश्लेषण गर्न सिसीटिभी रेकर्डेड छ भने धेरै कुरामा सहयोग पुग्छ । सिसीटिभीमा नहुँदा त अहिलेको प्रविधिमैत्री दुनियाँमा धेरै गाह्रो हुन्छ ।” सिसी क्यामेरा सञ्चालन नहुँदा अपराध नियन्त्रण र अनुसन्धानमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।

सिन्धुलीमाढी बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेराहरु मर्मत संभारको अभावमा खिया लागेर थोत्रिन थालेका छन । मानिसहरुको सबैभन्दा बडी भिडभाड हुने बजारको मुख्य केन्द्र बसपार्क, शान्तिनगर चौक, अस्पताल लगायत क्षेत्रको सिसी क्यामेराले काम गरिरहेको छैन ।

यातायातका साधनको बढ्दो चापलाई मध्यनजर गरी जडान गरिएका सिसी क्यामेरा बिग्रिएसँगै सार्वजनिक यातायातका साधनको लापरबाही समेत बढ्न थालेको प्रहरीले जनाएको छ ।

सिसी टिभी बिग्रिएको महिनौं बितिसक्दा पनि यसको मर्मत सम्भार नहुँदा चोरी लुटपाट र डकैतीका घटनाहरू बढ्न थालेको सञ्चारकर्मी प्रेम दाहाल बताउनुहुन्छ । “पछिल्लो समय सिन्धुलीमाढीमा मोटरसाइलको अत्याधिक मात्रामा चोरी हुने र महिनौंसम्म पनि कसले चोर्‍यो भनेर पत्ता नलाग्ने भएको छ, यदि सिसी टिभी भइदिएको भए रेकर्डेड हुन्थ्यो ,” दाहालले बताउनुभयो । अपराध रोकथाम र नियन्त्रणका लागी प्रभावकारी मानिएको सिसी क्यामेरा मर्मत र सञ्चालनमा सम्बन्धीत निकाय गैर जिम्मेवार बनेको दाहालले बताउनुभयो ।

सिसी क्यामेराको दीर्घकालीन व्यवस्थापन कुन स्रोतबाट कसरी गर्ने भन्ने योजना बिना सिसी क्यामेराहरू जडान गरिएका कारण मर्मत सम्भारमा समस्या उत्पन्न हुने गरेको उद्योग बाणिज्य संघ सिन्धुलीका निवर्तमान अध्यक्ष बिनेश श्रेष्ठले बताउनुभयो । लाखौं खर्चिएर जडान गरिएका सिसी क्यामेरा बिग्रिँदा सुरक्षा चुनौती बढेको ठहर गर्दै पटक–पटक आफूहरूले स्थानीय तहलाई मर्मत सम्भारमा सहयोग गर्न आग्रह गरिरहेको श्रेष्ठले बताउनुभयो । बजार हुने ठुला–ठुला अपराधका घट्ना अनुसन्धानमा सिसी क्यामेराले महत्पूर्ण भुमीका खेलेको स्मरण गर्दै श्रेष्ठले सिसी क्यामेराको मर्मत र सञ्चालनमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

तर कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहालले सिसी क्यामेराको नियमित मर्मतमा लाखौं रूपैयाँ खर्चिनुपर्ने भएकोले सिसी क्यामेराको दिगो व्यवस्थापन कार्य आफूहरूको लागि पनि चुनौतीपूर्ण बनिरहेको प्रतिक्रिया दिनुभयो । प्राविधिक जनशक्तिको परिचालन गरि मर्मत र सञ्चालनको कार्यलाई तत्काल अगाडि बढाइने दाहालले बताउनुभयो ।

अनुमति बिना नै सिसी क्यामेरा जडान र सञ्चालन बढ्दै

सरकारले अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा विद्युतीय उपकरणको प्रयोगलाई प्रभावकारी बनाउन तथा सिसी टिभिको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्न सिसी क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधी–२०७२ कार्यान्वयनमा ल्याएको भएपनि सिन्धुलीमा त्यसको प्रभावकरी कार्यान्वयन र नियमन हुन सकेको अवस्था देखिदैन ।

सीसी क्यामेरा प्रयोगकर्ता बढे पनि अधिकांशले तपाईं ‘सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने सूचना टाँस्ने गरेका छैनन् । सर्वसाधारणलाई जानकारी नै नगराई र अनुमति नलिई सीसी क्यामेरा राख्नु गैरकानुनी हो । सीसी क्यामेराको जडान र प्रयोगबारे सरकारले मापदण्ड बनाए पनि त्यसको कार्यान्ब्यन हुन सकेको अवस्था छैन ।

कार्यविधी अनुसार सिसी क्यामेरा जडान तथा सञ्चालनका लागी सिसी क्यामेरा विवरणहरु जस्तै क्यामेरा बनेको कम्पनी, मेगापिक्सेल, डाटा स्टोरेज क्षमता, क्यामेरा जडान गर्ने स्थान, क्यामेराको संख्या र क्यामेरा जडान गर्नुपर्ने कारणहरु खुलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था भएपनि सिन्धुलीका अधिकास सिसी क्यामेरा प्रयोग गर्ने निजी कम्पनी, होटल, रेष्टुरेन्ट तथा सार्वजनिक तथा व्यक्तिगत निकायले जडान र सञ्चालन अनुमति लिने गरेका छैनन् ।

कार्यविधी अनुसार सवै सिसी क्यामेरा प्रयोग गर्ने निकायलाई नियमनमा ल्याउने र नियम विपरित सिसी क्यामेरा जडान र सञ्चालन गर्ने संस्था तथा ब्यक्तिलाई विधुतीय कारोबार ऐन–२०६३ अनुसार कार्वाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले बताउनुभयो ।

कार्यविधीले सिसी क्यामेरा जडान र सञ्चालनलाई तिन क्षेत्रमा बर्गिकरण गरेको छ । सामाजिक क्षेत्रका लागी, ब्यापारिक प्रयोजनका लागी र निजी प्रयोगका लागी जडान हुने सिसी क्यामेराको मापदण्ड र उदेश्य निर्धारण गरेको छ ।

सरकारी कार्यालयहरुमा पनि छैन सिसी क्यामेरा

सरकारी निकायले अनिवार्य रुपमा सिसी क्यामेरा जडान तथा सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि जिल्लाका अधिकांश सरकारी कार्यालयहरुले सिसी क्यामेराको जडान गरेका छैनन् । सार्वजनिक सेवा प्रवाह र सुरक्षालाई ब्यस्थित गर्न सरकारी कार्यालयले अनिवार्य सिसी क्यामेरा जडान गर्नुपर्ने भएपनि जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका लगायतका सरकारी कार्यालय बाहेकका कार्यालयहरुमा सिसी क्यामेरा जडान र सञ्चालनमा रहेका छैनन् ।

सिसी क्यामेरा जडान, सञ्चालन र मर्मतका लागी दक्ष प्राविधिक जनशक्ति र बजेटको ब्यवस्था नहुँदा कार्यालयमा सिसी क्यामेरा जडान हुन नसकेको जिल्ला मालपोत कार्यालय सिन्धुलीका सुचना अधिकारी पुरुषोतम दाहालले बताउनुभयो ।

आन्तरिक सेवा प्रवाहलाई सुदृढ बनाउन कार्यालय प्रमुखले सिसी क्यामेरा मार्फत कर्मचारीहरुको अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउने सरकारी निर्देशन भएपनि कार्यालयमा सिसी क्यामेरा जडान र सञ्चालन नहुँदा प्रभावकरी सेवा प्रवाह समेत हुन सकिरहेको अवस्था छैन ।

 

प्रतिक्रिया