सिन्धुली– नेकपा(एमाले) स्थायी कमिटि सदस्य तथा पुर्व कानुन मन्त्री शेरबहादुर तामाङले नेपाली काग्रेसलाई राष्ट्रपति चाहिएको हो भने बालकोटको बार्दलीमा आउन सन्देश दिनुभएको छ ।
केपी ओलीलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याएको हुँकार गर्नेहरु आज त्यही बार्दलीमा नआई कुनै पद नमिलेको बताउँदै नेपाली काग्रेसलाई राष्ट्रपति चाहिएको हो भने बालकोटको बार्दली र दैलोमा आउन तामाङले सुझाब दिनुभयो । तामाङले भन्नुभयो, “नेपाली काग्रेसले अन्य दलहरुसँग भनेर वा खोचे थापेर पद पाउँदैन, पद लिनका लागी बार्दलीमै पुग्नु पर्छ, अनि छलफल प्रारम्भ हुन्छ ।” नेकपा(एमाले) राष्ट्रिय सहमति र सहकार्यको बाधन कहिल्यै नुहने पनि तामाङले बताउनुभयो ।
प्रेस चौतारी नेपाल सिन्धुलीले शनिवार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै तामाङले नेपाली राजनिती नेकपा(एमाले) र केपी ओलीमा केन्द्रिकरण भएको बताउँदै चुनाबमा गठबन्धन गरेका दलहरुले सरकार गठन गर्न नसक्ने र देश अस्थिरतामा जाने अवस्थाको सिर्जना भएपछि स्थिरता र समृद्धिको लागी नेकपा(एमाले)ले सरकार गठनको लागी पहलकदमी लिएको बताउनुभयो । राष्ट्रपति निर्वाचनको सम्बन्धमा गठबन्धन दलहरुबाटै फरक–फरक धारणा आइरहेको सन्दर्भमा नेता तामाङले सरकार गठनका सवालमा गठबन्धन दलहरु बीच भएको पुर्व सहमति अनुसार नै राज्यका प्रमुख पदहरूमा क–कसले जिम्मेवारी लिने भन्ने अनुसार नै अगाडि बढ्ने कुरामा आफ्नो पार्टी विश्वस्त रहेको उहाँको भनाई थियो ।
नेकपा(एमाले) नेपाली जनताको पहिलो रोजाईको कम्युनिष्ट पार्टी भएको कारण राष्ट्र, राष्ट्रियता र समृद्धिको पक्षमा जिम्मेवार भएर प्रस्तुत हुने बताउँदै सम्पूर्ण बामपन्थीहरुलाई नेकपा(एमाले)को जनताको बहुदलीय जनवाद र सुर्य चिन्ह भित्र गोलबद्ध गर्दै कम्युनिष्ट केन्द्रको रुपमा विकास गर्ने अभियानमा नेकपा(एमाले) रहेको समेत बताउनुभयो ।