सिन्धुली – जिल्लामा निर्माणाधिन सिन्धुली जिल्ला अस्पतालको भवन निर्माणमा अस्पताल विकास समितिको असहयोगको कारण निर्माण कार्यमा ढिलाई भएको छ ।
सिन्धुली अस्पतालसँग डिपिआर अनुसार संरचना निर्माण गर्नका लागी जग्गा नहुँदा पुरानै अस्पताल भवनको संरचना हटाएर नयाँ भवन निर्माण गर्नुपर्ने बाध्यतामा रहेको हनुमान कन्ट्रक्सन प्रा.लि.ललितपुरले ३० महिनामा काम सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको थियो ।
अस्पताल विकास समितिले ठेक्का सम्झौता अुनसार निर्माण गर्नुपर्ने भौतिक संरचनाहरु निर्माणको लागी हाल सम्म पनि जग्गा उपलब्ध गराउन नसकेको निर्माण कम्पनीका इन्जीनियर सनम बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“ हामीले खुल्ला जमिन पाएको भए सम्झौता अनुसार समयमानै काम सम्पन्न् गरिसक्थ्यौं, पुरानो संरचना हटाउनुपर्ने अवस्था थियो भने हाल सम्म पनि नयाँ संरचना निर्माणका लागी हटाउनुपर्ने पुराना संरचना हटाउने र जग्गा खालि गर्ने काम हुन सकेको अवस्था छैन ।”
अर्कोतर्फ अस्पतालको नियमित सेवा समेत निर्माण क्षेत्र भित्रैबाट सञ्चालन हुँदा पनि कतिपय समस्याहरु सिर्जना भएको कम्पनीले जनाएको छ । ८५ प्रतिशत भवन निर्माणको काम सम्पन्न गरिसकेको कम्पनीले सम्झौता सकिन २ महिना बाँकी हुँदा पनि पार्किङ्ग, गार्डेन, प्रवेश गेट लगायतको संरचना निर्माण गर्न अस्पताल विकास समितिले आफ्नै जग्गामा बनेको पुरानो संरचना हटाएर जग्गा उपलब्ध गराउन सकेको छैन । समितिसँग पटक–पटक जग्गा उपलब्ध गराउन आग्रह गरेको भएपनि हालसम्म जग्गा उपलब्ध हुन नसक्दा निर्माणमा ढिलाई भएको सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापका इन्जीनियर सोनुकुमार गुप्ताले बताउनुभयो ।
समितिले समयमै जग्गा उपलब्ध गराउन नसके आफुहरुको थप गरिएको म्याद समेत गुज्रने र निर्माण छाडेर हिड्नु पर्ने अवस्था आउने निर्माण कम्पनीले जनाएको छ ।
२०७६ चैत्र ७ गते सम्झौता भई निर्माण कार्य प्रारम्भ गरेको कम्पनीले ३० महिनामा कार्यसम्पन्न गर्नुपर्ने भएपनि कोभिड–१९ का साथै विविध कारणले समयमा काम सम्पन्न गर्न नसक्दा ६ महिना म्याद थप भएको थियो । कार्य सम्पन्नको लागी थप गरिएको म्याद २०७९ चैत्र ७ गते समाप्त हुँदैछ ।
भ्याट बाहेक कुल २१ करोड ९८ लाख ३७ हजार ८ सय १३ मा सम्झौता गरिएको उक्त अस्पताल भवन आधुनिक र सुविधा सम्पन्न अस्पताल भवन हो । सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापबाट ग्लोबल टेण्डर मार्फत ठेक्का आव्हान गरिएको उक्त अस्पताल भवन निर्माण सम्पन्नसँगै सिन्धुली अस्पताल सुविधा सम्पन्न् भवनबाट १०० शैयामा सञ्चालन हुनेछ ।
समितिले आफ्नै जग्गाको स्वामित्व लिन सकेन
अस्पताल विकास समिति सिन्धुलीले आफ्नै जग्गाको स्वामित्व लिन नसक्दा समयमै निर्माण हुनुपर्ने अस्पतालको नयाँ संरचना निर्माणमा ढिलाई मात्र हैन अनिश्चि बन्दै गएको छ । निर्माण कम्पनीको सम्झौता अवधी २ महिना मात्र बाँकी रहदा समेत संरचना निर्माणको लागी जग्गा उपलब्ध गराउन समितिले सकेको छैन ।
सिन्धुली अस्पतालको नाममा १ विघा १९ कठ्ठा जग्गा भए पनि नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सामुदायिक आँखा अस्पतालले २ कठ्ठा १० धुर र जिल्ला जनस्वास्थ्य कार्यालयले ७ कठ्ठा प्रयोग गरेको छ भने अस्पताल विकास समितिले ब्यक्तिहरुसँग सम्झौता गरि सडक क्षेत्र पट्टि २२ वटा ब्यवसायीक सटर निर्माण गरेको छ । नयाँ संरचना निर्माणका लागी हटाउनुपर्ने पुराना संरचना(सटरहरु) जुन अस्पतालको आफ्नै जग्गामा निर्माण गरिएको छ त्यसलाई अस्पताल विकास समितिले हटाउन सकेको छैन ।
अस्पतालको जग्गा भए पनि अस्पताल विकास समितिले निर्णय गरेर अन्य संस्थालाई संरचना बनाउन दिएकाले अहिले हटाउन समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकालले बताउनुभयो । अघिल्लो ४ बर्षे कार्यकाल अध्यक्ष बन्नुभएका प्रलाद पोखरेलले पनि पुरानो संरचना हटाएर नयाँ संरचना निर्माणको लागी सहजता प्रदान गर्ने तदारुकता देखाउन सक्नु भएन भने नयाँ अध्यक्षको रुपमा अस्पतालमा प्रवेश गर्नु भएका शतिसचन्द्र ढकालले पनि संरचना हटाउन सकेको अवस्था छैन ।
दलीय सहमतिमा संरचना हटाउँछौं : अध्यक्ष ढकाल
अस्पतालको डिपिआर अनुसार नयाँ संरचना निर्माणको लागी अस्पतालसँगको सम्झौता अनुसार निर्माण गरिएको सटरहरु दलीय सहमतिको आधारमा हटाउने प्रयास भईरहेको अस्पताल विकास समितिका अध्यक्ष सतिशचन्द्र ढकालले बताउनुभयो । उहाँले भन्नुभयो,“संरचना हटाउन दलीय सहमतिको प्रयास भईरहेको छ, माननीयले सबै सटरवालाहरुसँग सल्लाह गरेपछि हटाउने भन्नुभएको छ, चाडै हट्छ ।” दलहरुको सहमति र माननीयसँगको छलफल पछि संरचना हटाइने ढकालले बताउनुभयो ।
वि.स.२०६५ सालमा अस्पताल विकास समितिले आफ्नो सरकारी जग्गामा ब्यक्तिगत लगानीमा ब्यवसायीक सटर बनाएर २० वर्ष सम्बन्धीत ब्यक्तीले प्रयोग गर्ने सम्झौता गरेको थियो । सरकारी जग्गा ब्यक्तिलाई संरचना निर्माणका लागी भाडामा दिन नपाईने भएपनि तत्कालिन समितिले उक्त काम गर्दा अहिले अस्पतालले आफ्नै संरचना निर्माणका लागी जग्गा फिर्ता लिन सकिरहेको छैन । उता अस्पतालको जग्गामा निर्माण गरिएको सटरमा औषधी पसल सञ्चालन गर्नुपर्ने भएपनि मदिरा लगायत अन्य ब्यापारीक प्रयोजनका लागी प्रयोग गरिएको छ ।