सिन्धुली– शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्वका लागी उम्मेदवारी दर्ता गराएका अध्यक्ष पदका उम्मेदवार ४ जना सहित १० जनाले बिहिबार उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउनु भएका कर्ण बहादुर कार्की, हरी प्रसाद अधिकारी, इश्वरचन्द्र बर्मा र गीता कटुवाल थापाले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ भने खुल्ला सदस्य पदका लागी उम्मेदवारी दर्ता गराउनु भएका बिष्णु कुमार श्रेष्ठ, देवराज वाईवा, प्रकाश रायमाझी, गोबिन्द विक्रम थापा, लेखबहादुर थापा र महिला सदस्य पदका लागी उम्मेदवारी दर्ता गराउनु भएकी सिता सत्यालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिका प्रमुख लोकबहादुर नेपालीले जानकारी दिनुभयो ।
निर्वाचन कार्यतालिका अनुसार आज(शुक्रवार) अन्तिम नामावली प्रकाशन र उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ भने माघ १४ गते मतदानको कार्यक्रम रहेको छ ।
अध्यक्ष पदका उम्मेदवार ४ जनाले फिर्ता लिएसँगै अध्यक्ष पदका लागी नेपाली काँग्रेसका सुरज मिश्र, लोकविक्रम थापा र नेकपा(एमाले)का घनश्याम देवकोटा बीच प्रतिस्प्रर्धा हुनेछ । दलीय सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)को सयुक्त प्यानल र नेकपा(एमाले) र राप्रपा बीचको सयुक्त प्यानल बीच चुनाबी प्रतिसप्रर्धा हुने संकेत देखिएको छ ।
नेकपा(एमाले)ले अध्यक्षमा घनश्याम देवकोटा सहित सदस्यमा मक्कर बहादुर कार्की, इन्द्र बहादुर भुजेल, दशरथ थापा र महिला सदस्यमा शारदा ढकाल र सुमना थापालाई आधिकारीक उम्मेदवार बनाएको नेकपा(एमाले) श्रोतले बताएको छ भने राप्रपाले खुल्ला सदस्यमा मिन बहादुर कार्की , कपिल श्रेष्ठ र महिला सदस्य पदमा डोर कुमारी थापालाई आधिकारीक उम्मेदवार बनाएको बताएको छ ।
नेपाली काँग्रेसले आन्तरिक सहमति जुटाउन नसक्दा अध्यक्षमै २ जनाको उम्मेदवारी रहेको छ भने नेकपा(माओवादी केन्द्र)ले पनि आन्तरिक सहमति जुटाउन नसक्दा आधिकारीक उम्मेदवार बनाउन सकेको छैन ।