शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

७३१ थान राहदानी सहित सिन्धुलीका श्रेष्ठ पक्राउ

बिहिवार , माघ ५, २०७९

काठमाडौँ, – काठमाडौँ महानगरपालिका–२६ गाेंगबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त होटलमा शंकास्पद व्यक्ति छन् भन्ने सूचनाका आधारमा गोंङगबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो ।

उक्त टोलीले होटेल सोनाबाट शंकास्पदरुपमा रहेको सात सय १७ थान र होटल पल्लिकोटबाट १४ थान गरी जम्मा सात सय ३१ थान राहदानी बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानाएको छ ।

पक्राउ पर्नेमा गुल्मी छत्रपुर नगरपालिका–९ का ३८ वर्षीय मीनबहादुर सोमरे, सिन्धुली कमलामाई नगरपालिका–७ का ४४ वर्षीय शेरनारायण श्रेष्ठ र कञ्चनपुर बेतकोट नगरपालिका–३ का लोकजन खड्का रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल तथा गेष्टहाउसमा बसेर वैदेशिक रोजगारसम्बन्धी अवैध गतिविधि गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।

यसैबीच काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी रियाल १४ हजार चार सयसहित धनुषाका ४५ वर्षीय एमडि नजिमलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाइ लैजान लागेको पाँच सय दरको २४ थान र दुई सय दरको १२ थान गरी जम्मा १४ हजार चार सय साउदी रियाल फेला पारिएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया