सिन्धुली – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी बरिष्ठ नायब निरीक्षक जेजंग कार्की पुस महिनाको ‘सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी’ हुनुभएको छ । कार्कीले उत्कृष्ट कार्य गरेको भन्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन, कार्यालय रामनगर, चितवनले पुष महिनाको सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी घोषण गरेको हो । कार्कीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन, कार्यालयले जनाएको छ ।
कार्कीले कमलामाई नगरपालिका वडा नं. ०७ (ठुलीटारचोक) मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको भवन निर्माणको लागि कमलामाई नगरपालिकासँग समन्वय गरि ४९ लाख २४ हजार ९ सय १५ बजेट विनियोजन गर्ने सफल हुनुभएको छ । साथै अन्य स्थानीय निकायसंग समन्वय गरी फर्निचर लगायत ट्राफिक उपकरणहरुको व्यवस्था गरेको र प्रभावकारी जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नुका साथै ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी २ हजर २ सय ९९ जना चालक तथा सर्वसाधारणहरु लाभान्वित भएको उल्लेख गरिएको छ ।
यस्तै, पुष महिनामा मात्रै ४ सय ५३ वटा सवारी साधनहरूको यान्त्रिक परिक्षण, विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ३ हजार ८ सय वटा सवारी साधनहरूलाई कारवाही गर्दा ४० लाख ३७ हजार राजश्व संकलन र मापसे गरि सवारी चलाउने १८ जना चालकहरूलाई कारवाही गरी १८ हजार जरीवाना गरेको लगाएत उत्कृष्ट कार्य गरेको भन्दै कामको उच्च मूल्याङ्कन गरि यसलाई निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीलाई प्रोत्साहित गर्न कार्कीलाई २०७९ साल पुस महिनाको सर्वोत्कृष्ट प्रदेश ट्राफिक प्रहरी घोषणा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।