सिन्धुली,– सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने साथै उनीहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्न जेष्ठ नागरीक सम्बन्धी ऐन २०६३ र नियमावली २०६५ मा जेष्ठ नागरिकहरुको अधिकार र संरक्षणको निती लिएको छ । नेपालको संविधान २०७२ पश्चात देश संघीय संरचनामा गएसँगै जेष्ठ नागरिक सम्बन्धी ऐन, नियमावली र जेष्ठ नागरिकहरुको अधिकारको संरक्षण र प्रबद्र्धन गर्ने जिम्मेवारी स्थानीय सरकारले पाएको छ ।
तर बुढ्यौली उमेरमा सम्मानित र सुरक्षित जीवन बिताउन सहयोगी बन्ने ठानिएको ऐन अक्षरमा मात्र सिमित बनेपछि ज्येष्ठ नागरिकहरुको मुहारमा खासै खुसी छाउन सकेको छैन । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन तथा नियमावली बनाए पनि आफुहरूको जीवनमा त्यसले कुनै प्रभाब पार्न नसकेको ज्येष्ठ नागरीक संघ सिन्धुलीका सदस्य तथा समाजसेवी राम बहादुर हायू बताउनु हुन्छ ।
ऐन कार्यान्वयन र अधिकार प्राप्तीका लागि ज्येष्ठ नागरिकहरुबाट पटक–पटक अनुरोध गरिएको भएपनि स्थानीय सरकारले त्यसको खासै सुनुवाई नै नगर्ने गरेको उहाँको भनाई छ ।
जेष्ठ नागरीकहरुले सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा, सुविधा र सहयोग पाउने ऐनमा उल्लेख गरिएको छ । सवारी साधनमा ज्येष्ठ नागरिकको लागि कम्तीमा दुईवटा सीट सुरक्षित राख्नु पर्ने र यात्रु भाडादरमा कम्तीमा पचास प्रतिशत छुट पाउनु पर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै उपचार गराउँदा लाग्ने शुल्कमा पचास प्रतिशत छुट दिनु पर्ने व्यवस्था रहेको भएपनि व्यबाहारीक रुपमा कार्यान्वयन हुन नसकेको जेष्ठ नागरिक संघ सिन्धुलीका अध्यक्ष देवी प्रसाद देवकोटाको गुनासो छ ।
देवकोटा भन्नुहुन्छ, “जेष्ठ नागरिकहरुको अधिकार कार्यान्वयनको जिम्मेवारी पाएको स्थानीय सरकार आफ्नो निती तथा कार्यक्रममा मात्र सम्झने तर ब्यवाहारमा कार्यान्वयन हुँदैन, जनप्रतिनिधीहरुले हामी जेष्ठ नागरिकहरुलाई चुनाब आएपछि मात्र सम्झने हुन, अरु बेला वास्ता गर्दैनन् ।”
ज्येष्ठ नागरिकको लगत संकलन गर्ने, अभिलेख राख्ने र लगत तथा अभिलेखको अद्यावधिक गर्ने, स्थानीय तहका ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने योजना तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने स्थानीय सरकारले जेष्ठ नागरिकहरुलाई लक्षित गरेर प्रभावकारी काम गर्न सकेको छैन । निती तथा कार्यक्रममा महत्वकाक्षी योजनाहरु ल्याउने तर ब्यवाहारमा कार्यान्वयन नगर्ने भएकाले जेष्ठ नागरिकका समस्या जस्ताको तस्तै रहेको जेष्ठ नागरिक राम बहादुर हायूले बताउनुभयो ।
ज्येष्ठ नागरिक पनि सम्मानित र क्रियाशील भएर जीवन जिउन सक्ने हुँदा ज्येष्ठ नागरिकका लागि उपयुक्त वातावरण सिर्जना गर्न व्यक्ति, परिवार र समाज नै अग्रसर बन्नुपर्ने हायू बताउनुहुन्छ । ज्येष्ठ नागरिकको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा सुधार ल्याउन पनि स्थानीय सरकारले विशेष योजना र कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्ने उहाँको भनाई छ ।
जेष्ठ नागरिक सम्बन्धी ऐन तथा नियमावली कार्यान्वयन हुन नसक्दा सिन्धुलीका जेष्ठ नागरिकहरु कष्टकर जीवन जिउन बाध्य छन । बिहान वेलुका खानका लागी गिट्टी कुट्नु पर्ने, व्यापार गर्नुपर्ने, खेतिकिसानी गर्नु पर्ने उनीहरुको बाध्यता रहेको छ ।
स्थानीय सरकारको निती : निशुल्क स्वास्थ्य बिमा देखी घरघरमै उपचार सम्म
स्थानीय सरकारको रुपमा रहेका सिन्धुलीका नगरपालिका तथा गाउँपालिकाले आफ्नो निती तथा कार्यक्रममा जेष्ठ नागरिकलाई विशेष प्राथामिकतामा राखेको भएपनी त्यसको प्रभावकारी कार्यान्वयनको अवस्था भने नभएको जेष्ठ नागरिकहरुले नै गुनासो गरिरहेका छन ।
सिन्धुलीका नगरपालिका तथा गाउँपालिकाहरुले जेष्ठ नागरिकहरुलाई लक्षित गरेर आफ्नो आर्थिक वर्ष २०७९÷०८० को निती तथा कार्यक्रममा केन्द्र सरकारको कार्यक्रमहरुलाई निरन्तरता देखी महत्वकाक्षीं योजनाहरु समावेश गरेका छन ।
कमलामाई नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मानित जीवन निर्वाह गराउन सहयोग पु¥याउने पारिवारिक सदस्यलाई सम्मान गर्ने, प्रत्येक वडामा जेष्ठ नागरिक आश्रम स्थापना गर्ने, परम्परागत विधी, मान्यता र संस्कृतिको संरक्षण गर्न हरेक वडामा मासिक रुपमा ‘बडाहरुसँगको सतसंग’ अभियान सञ्चालन गर्ने आफ्नो निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यस्तै दुधौली नगरपालिका कार्यालयले जेष्ठ नागरिकहरुलाई, सम्मान भेटघाट र अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गर्ने आफ्नो नितीमा उल्लेख गरेको छ भने तिनपाटन गाउँपालिकाले जेष्ठ नागरिकहरुका लागी आयूवेदिक रसायन औषधीहरु वितरणको कार्यलाई निरन्तरता दिने आफ्नो निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।
मरिण गाउँपालिकाले ६० देखी ७० वर्षका जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य बिमाको कार्यक्रम साथै जेष्ठ नागरिकहरुलाई सहज उपचार र नियमित घरघरमै पुगेर स्वास्थ्य जाँचको ब्यस्थापन गर्ने र जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने आफ्नो निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।
त्यस्तै हरिहरपुरगढी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई लागी निशुल्क एम्वुलेन्स सेवा, ५० वर्ष माथिका सवै नागरिकलाई निशुल्क स्वास्थ्य बिमा र औषधी उपचारका लागी बार्षिक ३ हजार उपलब्ध गराउने निती तथा कार्यक्रममा समेटेको छ ।
अर्को घ्याङलेक गाउँपालिकाले जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा र स्वास्थ्य उपचारको ब्यवस्था गर्ने, जेष्ठ नागरिक परिचयपत्र वितरण तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिने, जेष्ठ, अशक्त नागरिकहरुलाई स्वास्थ्य उपचारमा हुने ल्याव, एक्सरे जस्ता कार्यलाई पूण निशुल्क हुने व्यवस्था मिलाउने तथा जेष्ठ नागरिकहरुका लागी हेरचाह गृह निर्माण गर्ने आफ्नो निती तथा कार्यक्रममा उल्लेख गरेको छ ।
फिक्कल गाउँपालिकाले वडा कार्यालयबाटै जेष्ठ नागरिकहरुलाई निशुल्क जाँच तथा उपचार, सम्मान र नमुना जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गर्ने आफ्नो नितीमा उल्लेख गरेको छ ।