सिन्धुली, – कमलामाई नगरपालिका–८ स्थित ऐतिहासिक स्थल कमलामाई मन्दिरमा माघ महिना भर बिशेष पुजाआजा हुदै छ । शनिबार राति १२ बजे जिल्ला स्थित सुरक्षा निकाय संगै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले कमलामाई लाई गरगहना पहिराए पछि विधिवत रुपमा पुजा सुरु भएको छ । माईस्थानमा अखण्ड दिप प्रज्वलनको उदघघाटन समेत गरिएको छ । उक्त दिप अब सधैभरी बलिरहने छ ।
शनिवार राती १२ बजे बाट माघ महिना भरी मन्दिरमा बिशेष पुजाआजा गरिने कमलामाई मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु बुर्जाले जानकारी दिनुभयो । ब्यवस्थापन समितिले तिर्थालुहरुको सुरक्षालाई ध्यानमा राख्दै सिसी क्यामेरा जडान, बत्ति जडान र भिडभाड नहोस भन्नका लागी लाईन लगाएर दर्शन गर्ने ब्यवस्था मिलाएको अध्यक्ष बुर्जाले बताउनुभयो । सुरुमा कमलामाई–५ मधुटारको कालिमाई मन्दिर र कमलामाई मन्दिरको एउँटै ब्यवस्थापन समिति भएपनि २०७२ देखी कमलामाई मन्दिरको छुट्टै ब्यवस्थापन समिति दर्ता गरि मन्दिरको ब्यवस्थापन र संरक्षणको काम भईरहेको छ ।
प्रत्येक बर्ष पौष मसान्तमा माइस्थानमा माघी बिशेष मेला लाग्दै आइरहेको छ । यस अघिको बर्षहरुमा माइखोला र ग्वाङखोलाको संगम स्थलमा मात्रै मेला लाग्दै आएकोमा यस बर्ष कमलामाई नगरपालिकाले माई शिरमा समेत मेला लगाउने ब्यवस्था मिलाइदिएको छ ।
माइखोला र ग्वाङ खोलाको संगम स्थलमा दिप प्रज्वलन तथा स्नान गरे पितृ हरुले मोक्ष पाउने धार्मिक बिश्वास रहिआएको छ । माइस्थानको मेला भर्न सिन्धुली जिल्लासंगै तराइका छिमेकी जिल्ला तथा भारत बाट समेत भक्तजनहरु आउने गरेका छन् । कमलामाई मन्दिरमा प्राय सवै समयमा दर्शनार्थिहरुको भिड लाग्छ तर पनि माघ महिना भरी कमलामाईमा स्नान गर्नाले आ–आफ्नो भाकल, मनोकाक्षा पुरा हुने जनआस्था र विश्वास रहेको पाइन्छ ।
सिन्धुलीमा माघे संक्रान्ति मनाइयो
माघ महिनाको पहिलो दिन सिन्धुलीमा आईतवार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे संक्रान्ति पर्व मनाइएको छ । मकरसंक्रान्ति पर्वका अवसरमा आइतवार माइखोला र ग्वाङखोलाको संगम स्थलमा नदीमा नुहाउने (स्नान) को भीड लागेको छ । । वर्षभर ननुहाउनेले पनि संक्रान्ति को दिन भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात् माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कुल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँदै आएका छन् ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा क्रमशः रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छसंक्रान्तिका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
जाडो महीनामा घ्यू, चाकु, चरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनाका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँग समेत जोडेर हेर्ने गरिन्छ । घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकारले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन पनि सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ ।