सिन्धुली– सिन्धुलीमाढी बजारमा माघी पर्व लक्षित परिकार देखिन थालेको छ । बजारको मुख्य चोक तथा सुपथ पसलमा घिउ, चाकु, लड्डु जस्ता परिकार र कन्दमुल देखिन थालेको हो । माघे संग्रान्तिका लागि मिठाइका परिकार बनाउन सुरु गरेको
सौगात ललिपप उद्योगको संचालक विमला थापा बताउनुहुन्छ । सौगात उद्योगमा अहिले घिउ, चाकु, लड्डु जस्ता परिकार प्याकेजिङ्ग गरेर विक्रिका लागि राखिएको छ । स्थानिय महिलाहरुद्वारा स्थानिय स्तरमै तयार गरिएको माघिका परिकारहरु विक्रिमा राखिएको संचालक थापाले बताउनुभाये । उहाँले भन्नभुभयो, ‘अघिपछि बजारमा फाटफुट मात्र देखिने तरुल लगाएतका कन्दमुल किन्ने उपभोक्ता र बेच्ने व्यापारीको भिड बढ्न थालेको छ ।’
त्यसैगरि, कमलामाई नगरपालिका ६ स्थित रातमाटामा रहेको
सिन्धुली मार्टमा माघे संक्रान्ति अगावै तिलको लड्डु र चाकु किन्नेको भिड देखिएको छ । मार्टका संचालक दिपेश थापा भन्नुहुन्छ, ‘काठमाडौँका ब्राण्डहरुको परिकारलाई ग्राहकले मनपराउनुभएको छ । अब माघी पर्वकालागि परिकार बनाउन झन्झट गर्नुपर्दैन । रेडिमेट परिकार स्वादिष्ट र स्वास्थ्यवद्र्धकपनि छ ।’
ज्योतिष शास्त्र अनुसार माघ १ देखि तातो दिन शुरु हुन्छ । पुस मसान्तको दिन उसीनीएको परिकार संक्रान्तिको दिन खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने मान्यता पनि रहि आएको छ । अत्यधिक चिसो भएको र कन्दमुलको पनि उत्पादन यसै समयमा धेरै हुने भएकोले पनि यही समयमा खाने चलन छ ।ठूला–ठूला पसल होस् वा फुटपाथका तरकारी पसल जताततै तरुल, पिडालु, सखरखण्ड, घ्यू–चाकु, तिलका परिकार लगाएत देख्न सक्छौ । कन्दमुल खाएर मनाइने माघे सक्रान्तिको पूर्वसन्ध्यामा यि खाद्यान्नको कारोबार बढेको छ । ‘पुसको पाक्य र माघको खाक्य’ भन्ने भनाइ नेपाली समाजमा निकै प्रचलित छ । अघिपछि बजारमा फाटफुट रुपमा मात्रै देखिने तरुल लगायत कन्दमुलको व्यापर माघीको अवसरमा व्यापक हुने गर्दछ । जिल्लामा माघी पर्वका लागि लक्षित गरेर तरुल, पिडालु, सखरखण्डा लगायतका कन्दमुल बाहिरी जिल्लाबाट धमाधम भित्रिरहेको छ ।
कुपोषणबाट जोगाउने माघीका खान्की: माघे संक्रान्ति धार्मिक तथा सांस्कृतिक दृष्टिले मात्रै हैन, स्वास्थ्यको दृष्टिले पनि लाभदायक पर्वका रूपमा लिइन्छ । चिकित्सकहरू माघे संक्रान्तिमा खाइने परिकारले शारीरिक तथा मानसिकरूपमा ऊर्जा मिल्ने बताउँछन् । जनस्वास्थ्यविज्ञ डा. अरूणा उप्रेती माघे संक्रान्तिमा खाइने तरुल, घिउ, चाकु, लड्डु जस्ता परिकारमा शूक्ष्म पोषक तत्व पाइने बताउनु हुन्छ । डा. उप्रेतीका अनुसार तरुलमा आइरन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व पाइन्छन् । आइरनले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । डा. उप्रेतीले भन्नुभयो, “महिला तथा बालबालिकाहरूले सन्तुलितरूपमा तरुल खानाले कुपोषणबाट बच्न सकिन्छ ।” अफ्रिकन मुलुकमा त तरुलको पिठो बनाएर राखेर खाने चलनसमेत रहेको उहाँले बताउनु भयो ।
घिउ, चाकु, लड्डु जस्ता परिकारमा हुने प्रोटिन, कार्बोहाइड्रेड तथा शूक्ष्म पोषण तत्वले शरीरमा ऊर्जा दिन्छ । डा. उप्रेतीका अनुसार चाकुमा आइरन, क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ। तिलमा प्रशस्त क्याल्सियम, आइरन पाइन्छ। सखरखण्डमा प्रसस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यस्ता परिकार सन्तुलितरूपमा खानाले शरीरमा रोगप्रतिरोधात्मक क्षमताको वृद्धि हुन्छ । माघको चिसो मौसममा यस्ता परिकार खानाले शरीर न्यानो हुनुका साथै पेट पनि स्वस्थ हुने चिकित्सक बताउँछन् । माघे संक्रान्तिमा मात्रै हैन, अन्य समयमा पनि यस्ता परिकार खानाले कुपोषणको जोखिमबाट बच्न सकिने डा. उप्रेतीले बताउनु भयो । त्यसैले डा. उप्रेती बालबालिकालाई चकलेटको सट्टा चाकु खुवाउन सुझाउनु भयो । शारीरिक मात्रै नभएर मानसिक दृष्टिले पनि माघे संक्रान्तिलाई मनमा ऊर्जा दिने पर्वका रूपमा लिनुहुन्छ, मनोविद् करुणा कुँवर । उहाँले भन्नुभयो, “परिवार, आफन्त भेटघाट भएर रमाइलो गरी पर्व मनाउँदा मन शान्त हुन्छ । आनन्द मिल्छ ।” शारीरिकरूपमा व्यक्ति मजबुत हुँदा मनमा पनि ऊर्जा मिल्ने मनोविद् कुँवरले बताउनुभयो ।