शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुखविरुद्ध मुद्धा दर्ता

सोमवार , पौष २५, २०७९

सिन्धुली– सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालविरुद्ध काठमाडौँ अदालतमा मुद्धा दर्ता गरिएकोे छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनको ठेक्का व्यवस्थापन र परामर्श कार्यकालागि नियुक्त गरिएको जेड कन्सल्टेन्सीका वरिष्ठ इन्जिनियर सन्तोष कुमार पोखरेलले बरालसहित आयोजनामा संलग्न कन्सल्टेन्सी र त्यहाँ कार्यरतकर्मचारी विरुद्ध गत पुष ५ गते काठमाडौँ अदालनमा मुद्धा दर्ता गर्नुभएको हो । उहाँले कमलामाई नगरपालिका ४ ढुंग्रेवासमा रहेको स्मेक (SMEC) कन्सल्ट कार्यालय, जेड कन्सल्ट प्राइभेट लिमिटेड, स्मेक अन्तर्राष्ट्रिय प्रा.लि, स्मेक कन्सल्टेन्टिबाट खटिएका आयोजना संयोजक शुलभ शान्डील्य, टिम लिडर तानाचार्ड आर, स्मेकका देश निर्देशक सलिम जहान फहीम, जेड कन्सल्ट प्रा.लि, जिल्ला सिचाई कार्याल सिन्धुली र जेड कन्सल्ट प्रालिका सिनियर महाप्रबन्धक विनोद घिमिरेविरुद्ध करारको यथावत परिपालना वा तलब हर्जाना दिलाई भराई पाउँ भनि काठमाडौँ अदालतमा गत पुष ५ गते मुद्धा दर्ता गर्नुभएको छ ।

जलश्रोत तथा सिँचाइ विभागले २०७८ साल फाल्गुन २६ गते ३७ करोड ५४ लाख २५ हजारमा ठेक्का व्यवस्थापन र परामर्श कार्यकालागि संयुक्त उद्यम (जेभि) अष्ट्रलियाको स्मेक अन्तर्राष्ट्रिय प्रा.लि., टर्किको ईमे इन्टरनेशनल इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी, नेपालको जेड कन्सल्ट र सिएमएस कन्सल्टसँग सम्झौता गरेको थियो । प्रतिवादीहरुलाई आज (सोमबार) पेशि तोकिएको छ ।

वादि इन्जिनियर पोखरेल तीनै हुन् जस्ले सुनकोशी मरिण डाईभर्सन आयोजनामा गुणस्तरहिन काम भइरहेको सार्वजनिक गर्नुभएको थियो । आयोजनामा गुणस्तरहिन सामाग्रीको प्रयोग गरेकोमा आफूले प्रतिवाद गरेपछि कन्सल्टेन्सीले कामबाट निकाल्न खोजेको पोखरेलको आरोप छ । उहाँले सामाजिक संजालमा टनेलमा प्रयोग हुने सेगमन्टको खुट्टा काटिरहेको भिडियो सार्वजनिक गर्दै लेख्नुभएको छ, ‘कंक्रीट सेग्मेन्ट ठेकेदार कम्पनीलीले धमाधम फुटाल्दै साइज मिलाउदै टनेलमा हाल्दैछ । टीम लिडरले बोलेन । सरकारी हाकिम पनि बोलेनन् । टनेल बर्बाद हुदैछ । मैले रोक्न खोजेको तर मलाई जसरी पनि त्यहाँ बाट हटाउन सिचाईका हाकिम र बिदेशी स्वदेशी कन्सल्टेन्सी लागिपरेका हुनाले सबै देशभक्त नेपालीलाई प्रोजेक्टको हीतमा उठिदिन अव्हान गर्दछु । भिडियो राखेछु, हेरिदिनु होला र आवज दिनुहोला ।’

काम सुरु भएको ८३ दिनमा २.१ किलोमिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाले जनाएको छ । गएको असोज २८ गतेबाट टनेल बोरिङ मेसिन (टीबीएम)को सहयोगमा सुरुङ खन्न सुरु गरिएको थियो । क्वालिटि कन्ट्रोल इन्जिनियर पोखरेलले गुणस्तरहिन भनेको सेगमन्ट हालसम्म १५ सय वटा प्रयोग भइसकेको छ ।

आयोजनामा प्रयोग गरिएको सामाग्री गुणस्तरीय नभएको समाचार आएपछि आयोजनाले जिल्लाका पत्रकारलाई निर्माणस्थलको अनुगमन गराएको थियो । पत्रकारहरुसँग प्राविधिक ज्ञान नहुने हुँदा उक्त अनुगमन ‘मुख टाल्ने बाटो’ मात्र रहेको एक पत्रकारले सिन्धुली सौगातलाई बताए । उनले भने, ‘राज्यको संयन्त्रले दक्ष प्राविधिक लगाएर अनुगमननै गर्नुपर्दछ ।’

आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाइ सुविधा पु¥याउने रहेको छ । बाह्रै महिना सिंचाइ सुविधा पुगेमा वार्षिक २६ अर्ब रुपैयाँबराबरको कृषि उत्पादन बढ्ने र आयोजनाअन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक १ अर्ब ५५ करोड आम्दानी आकलन छ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रहने अनुमान गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया