सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाको कार्यालयमा रहेको युट्युब स्टुडियोबाट पाठ्यपुस्तक पठन सामाग्री निर्माण गर्न शुरु गरिएको छ । दक्षिण कोरियाको छिञ्जु विश्वविद्यालयको सहयोगमा जडित युट्युब स्टुडियोमा आइतबार १० वटा पठन भिडियो निर्माण गरिएको कमलामाई नगरपालिकाको सूचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो ।
प्रोफेसर डाक्टर योङ कि होङ समेतको टोलीले कमलामाई नगरपालिका अन्तरगत विद्यालय स्तरीय पठनपाठन शैलीलाई थप प्रविधिमैत्री बनाउने अभियानमा पाठ्य सामाग्रीहरुलाई युट्युब प्रणालीबाट सामाजिक सञ्जालमा प्रसार गर्ने हेतुले अत्याधुनिक क्यामेरा समेतका उपकरणहरु उपहारस्वरुप केहि दिनअघि हस्तान्तरण गर्नुभएको थियो । १८ हजार अमेरिकि डलर (झण्डै २४ लाख नेपाली रुपैँया) मा निर्माण गरिएको उक्त स्टुडियोमा इटिटिङ सोमबारबाट शुरु गरिने । कक्षा ३ को नेपाली, कक्षा ६ र ७ को विज्ञान, अंग्रेजि र गणित विषयको १० वटा भिडियो निर्माण गरिएको सूचना अधिकारी लामाले बताउनुभयो । छायांकन सम्पन्न भएपनि इडिटिङ बाँकी रहेकोले मंगलबारसम्ममा नगरपालिकाको आधिकारी युट्युब च्यानलबाट प्रशारण गरिने लामाले जानकारी दिनुभयो । प्राथमिक देखि माध्यमिक तहसम्मको पाठ्यपुस्तकमा आधारित रहेर भिडियो निर्माण गरिने लामाले बताउनुभयो ।
विद्यार्थीहरुले शिक्षक नभएको अवस्थामा पनि भिडियो मार्फत पढ्न सकिनेहुँदा युट्युबमा रहेको पठन सामाग्री फलदायि हुने कमलामाई नगरपालिकाको प्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका बालबालिकाहरु मोबाइलमै व्यस्त हुन्छन् । बालबालिकाले धेरै मोबाइल चलाएको देखेर अभिभावक दिक्क भएका छन् । अब बालबालिकाले नगरको युट्युब च्यानल खोलेर पढ्न थालेपछि अभिभावकपनि बालबालिकाले मोबाइल चलाएको देखेर खुशी हुनेछन् ।” उहाँले आधारभुत देखि माध्यमिक तहका विद्यार्थीलाई मनोरञ्जनका साथ भिडियो मार्फत पठनपाठन गराइने बताउनुभयो ।
भ्रामक सूचना नपत्याउन आग्रह
भिडिओ रेकर्डर,ल्यापटप, लाइट सिस्टम, सफ्टवेयर, दृश्यसम्पादन, स्टोरेज मेमोरी लगाएतका सामाग्रीसहितको युट्युब स्टुडियोका बारेमा केहि व्यक्तिले भ्रामक सन्देश प्रवाह गरेको भन्दै नगरवासिलाई सो सन्देश नपत्याउन नगरले आग्रह गरेको छ । आइतबार एक सूचना सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत गलत र भ्रामक सन्देशहरु प्रवाह भई सर्वसाधारणमा भ्रम पैदा भएकोले नगरवासीहरुलाई यस सम्बन्धमा सन्देह मुक्त हुन अनुरोध गरिएको छ ।
एउटा कोठामा निर्माण गरिएको युट्युब स्टुडियोमा नगरपालिकाले महंगो लगानी गरेको भन्दै केहि दिनअघिदेखि सामाजिक संजालमा स्टुडियो भाइरल भएको छ । उक्त स्टुडियोमा नगरको लगानी नभई छिञ्जु विश्वविद्यालयकोे लगानी रहेको छ । विश्वविद्यालयको अन्तर संस्था सम्बन्ध विस्तार अन्तरगत युट्युब स्टुडियो निर्माण गरिएको हो ।
दक्षिण कोरियाबाट आएको उपहारलाई नगरपालिकाले पुर्ण रुपमा उपयोग गरी पठनपाठन प्रक्रियामा लाभ लिने र नगरपालिकाको यो प्रयासलाई सम्बन्धित सवैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउनेमा विश्वास लिएको प्रमुख प्रशासकिय अधिकृत सुर्य दाहालले बताउनुभयो । साथै, उहाँले विश्वविद्यालयके प्रोफेसर सहितको टोलीलाई धन्यवाद दिनुभएको छ ।