सिन्धुली– सिन्धुलीको घ्याङलेख गाउँपालिका २ निवासी औतार सिं भोलन, पुर्णिमाया भोलन, कालध्वज भोलन र हस्तमाया भोलनले सेफ हाउसको भवनकालागि १२ आना जग्गादान गरेका छन् ।
स्थानीयवासीका अनुसार सो जग्गाको मूल्य करि ३६ लाख रहेको छ । २ नम्बर वडास्थित हायुटारमा रहेको जग्गा उनीहरुले गाउँपालिकाको नाममा दान गरेको गाउँपालिकाको प्रशासकिय अधिकृत राम कुमार कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘औतार सिं र पुर्णिमायाले सात आना र कालध्वज र हस्तमायाले पाँच आनाको जग्गा दान गर्नुभएको छ ।’
उनीहरुले दान गरेको जग्गामा गाउँपालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हेरचाह केन्द्र (सेफ हाउस) भावन निर्माण गरिएको प्रशासकिय अधिकृत कार्कीले बताउनुभयो । मौखिक रुपमा उक्त जग्गा दुई वर्षअघिनै हस्तान्तरण गरेपनि बिहिबार जग्गाको कित्ताकाट खुलेसँगै गाउँपालिकाको नाममा पास गरिएको अधिकृत कार्कीले बताउनुभयो । उक्त जग्गामा दुई तल भवन खडा भइसकेको कार्कीले बताउनुभयो । जग्गादातालाई आगामी गाउँसभाबाट उच्च सम्मान गरिने अधिकृत कार्कीको भनाई छ ।